आजकै दिनः कप्तान पारस खड्काको निर्णायक बल र विश्व क्रिकेटमा नेपालको इतिहास

डिसी नेपाल
१९ साउन २०७७ ११:००

काठमाडौं। अन्तिम ओभर, नेदरल्याण्डलाई जीतका लागि ६ रन र नेपाललाई जीतका लागि एक विकेट । एकदिवसीय क्रिकेटमा आफ्नो दोस्रो खेल खेल्दै गरेको नेपाली टिमका फ्यानका लागि यो सास रोक्ने क्षण थियो । नेदरल्याण्डसँग यसकै होमग्राउण्ड एम्सटेल्भिनमा खेलिरहेको नेपाली टिमका समर्थकले ‘फिंगर क्रस’ गरे ।

अन्तिम ओभरमा बलिङको जिम्मा कप्तान पारस खड्काले लिए । सोमपाल कामी, सन्दिप लामिछाने, र बसन्त रेग्मीको ओभर सकिइसकेको थियो । ललित भण्डारी र दिपेन्द्र सिंह ऐरीको ओभर भने बाँकी थियो । यद्यपि कप्तान खड्काले जिम्मेवारी आफ्नै काँधमा लिएका थिए । पहिलो बलमा एक रन, दोस्रो बल डट, तेस्रो बलमा १ रन, चौथो बलमा २ रन पाँचौं बल डट । अन्तिम बल बाँकी रहँदा सम्म ‘फिंगर क्रस’कायमै रह्यो ।

अन्तिम बल बाँकी छँदा नेपाललाई जीतका लागि कुनै पनि हालतमा एक रन पनि नदिइ नेदरल्याण्डलाई रोक्नुपर्ने भयो । नेदरल्याण्डले एक रन लिन सकेमा खेल बराबरी हुन्थ्यो र २ रन लिन सकेमा खेल नेदरल्याण्डले जित्थ्यो । स्ट्राइकमा फ्रेड क्लासेन थिए र नेपाली कप्तान पारसको हातमा बल लियो । पारसले स्लो बल फाले । क्लासेनले सिधै बलरतर्फ खेले ।

तत्काल दुवै ब्याट्सम्यान रन लिन दौडिए । तर, कप्तान पारसले तत्कालै बल टिपेर बलर इण्डतर्फको स्टम्प ढलाइदिए । क्लासेन रनआउट भए र नेपालले एक रनले खेल जित्यो । २१७ रनको लक्ष्य पच्छ्याएको नेदरल्याण्ड २१५ रनमा अलआउट भएको थियो । यससँगै नेपाली फ्यानहरुमा खुसीको लहर छायो । नेपाली क्रिकेटका लागि यो एउटा इतिहास थियो, एकदिवसीय क्रिकेटमा पहिलो जीतको कोसेढुंगा ।

२ वर्षअघि आजकै दिन भएको यो ऐतिहासिक घटनालाई आज अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सम्झिएको छ । आइसीसीले यो खेलका तस्वीर ट्वीटरमा पोस्ट गर्दै लेखेको छ ‘२०१८ मा आजको दिन नेपालले पहिलो एकदिवसीय जीत दर्ता गरेको थियो । कप्तान पारस खड्काले निर्णायक अन्तिम ओभर बलिङ गरे र केवल ४ रन दिएर १ विकेट लिँदै एम्सटेल्भिनमा नेदरल्याण्डलाई १ रनले पराजित गरे ।’

यो खेलमा नेपालको जीतमा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने ललित भण्डारीले २ विकेट लिएका थिए । त्यस्तै कप्तान पारस खड्का, सोमपाल कामी, र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए । नेदरल्यान्ड्सका लागि विसली वारेसीले सर्वाधिक ७१ रन बनाए भने डेनियल टेरले ३९ रन बनाएका थिए । त्यस्तै पिटर सिलरले २१ र बेन कुपरले १९ रन बनाएका थिए ।

यसअघि नेपालले टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ४८.५ ओभरमा अलआउट हुदै २१६ रन बनाएको थियो । नेपालका लागि सोमपाल कामीले ४६ बलमा ६१ रन बनाएर नेपालको पारीलाई सम्हालेका थिए । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय खेलमा सोमपालले ३८ बलमा आफ्नो अर्धशतक प्रहार गरेका थिए । सोमपाल नेपालका तर्फबाट एकदिवसीय खेलमा अर्धशतक बनाउने तेस्रो खेलाडी बनेका थिए । त्यस अघि ज्ञानेन्द्र मल्ल र पारस खड्काले नेपालका लागि अर्धशतक हानेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *