लेबनान विस्फोेटमा नेपाली समुदायलाई कुनै क्षति भएको छैन : राजदूत अर्याल

बिनेश खनाल
२१ साउन २०७७ १८:१६

काठमाडौं। लेबनानको राजधानी बेरुतमा भएको विस्फोेटमा त्यहाँ रहेको नेपाली समुदायलाई कुनै पनि क्षति नभएको इजिप्टको कायोरोस्थित नेपाली दूतावासले जनाएको छ। कायरोस्थित नेपाली दूतावासले नै लेबनान मामिला हेर्ने जिम्मेवारी पाएको छ ।

इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्यालले बुधवार बेलुकासम्म त्यहाँ रहेका सबै नेपालीहरु सुरक्षित रहेको जानकारी आफूहरुले पाएको बताए।

घटना भएपछि दूतावास र लेबनानमा रहेको नेपाली कन्सुलेटले बेरुतमा रहेको नेपाली समुदाय र त्यहाँको सम्बन्धित निकायसँग नेपालीहरुको अवस्थाबारेमा निरन्तर अपडेट लिइरहेको राजदूत अर्यालले बताए। दूतावासले त्यहाँको स्थानीय नागरिकलाई नेपाली कन्सुलरको रुपमा नियुक्त गरेको छ।

इजिप्टका लागि नेपाली राजदूत झविन्द्र प्रसाद अर्याल

‘हामी हिँजोदेखि नै त्यहाँ रहेको नेपाली समुदाय, हाम्रो कन्सुलेट र गैरआवासीय नेपाली संघसँग निरन्तर सम्पर्कमा छौँ,’ कायोरोबाट डिसी नेपालसँग टेलिफोनमा उनले भने, ‘अहिलेसम्म कुनै पनि नेपालीलाई क्षति भएको छैन। भगवानको कृपा भनौँ ! सबै जना सुरक्षित हुनुहुन्छ।’

राजदूत अर्यालका अनुसार विस्फोेट भएको एरिया नजिकै रहेका केही होटलहरुमा नेपालीहरु कार्यररत छन्। उनीहरु पनि सबैजना सुरक्षित नै रहेको राजदूत अर्यालको भनाई छ ।

बेरुतको एक कम्पनीमा कार्यररत गैरआवासीय नेपाली संघ (एनआरएनए) लेबनानका अध्यक्ष अशोक थापाले पनि विस्फोेटनमा नेपाली समुदायलाई कुनै पनि क्षति नभएको जानकारी दिए। नेपाली बसिरहेका घरहरुमा सामान्य क्षति भए पनि अन्य कुनै मानवीय क्षति नभएको उनको भनाई छ। ‘विस्फोट भएको एरिया नजिकै धैरै नेपालीहरु कार्यररत छैनन्,’ उनले भने, ‘ त्यहाँ नजिकै रहेका केही नेपालीहरु हाम्रो निरन्तर सम्पर्कमा हुनुहुन्छ। उहाँहरु सबै सुरक्षित नै हुनुहुन्छ ।’

लेबनानमा कति नेपाली कार्यररत छन् भन्ने आधिकारिक तथ्यांक छैन्। केहीवर्ष अघिसम्म लेबनानमा १० हजारको हाराहारीमा नेपाली कार्यररत रहेको अनुमान थियो। तर, पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दिका कारण त्यहाँबाट कयौँ नेपालीहरु अन्यत्र पलायन भएका छन्। त्यस्तै केही रोजगारी गुमाएर नेपाल फर्किसकेको बताइन्छ। राजदूत अर्याल पनि लेबनानको आर्थिक क्षेत्र क्रमश डाउन हुँदै गएपछि त्यहाँको रोजगारी पूर्ण रुपमा प्रभावित भएको बताउँछन्।

उनका अनुसार अहिले करिव ५ हजारको हाराहारीमा नेपालीहरुले लेबनानमा काम गरिरहेका छन्। यो दूतावासको अनुमानित तथ्यांक हो। पछिल्लो समय कोरोनाका कारण पनि त्यहाँ थुप्रै नेपालीले आफूले गर्दै आएको रोजगारीबाट हात धुन्न बाध्य भएका छन्। लेबनानमा नेपालीको संख्या अझै घट्दै जाने अर्यालको अनुमान छ।

तर, एनआरएनए अध्यक्ष थापाका अनुसार लेबनानमा अहिले २ हजारदेखि २५ सयको हाराहारीमा मात्रै नेपालीहरु कार्यररत छन्। कोभिड महामारीभन्दा अघि नै उल्लेख्य संख्यामा नेपालीहरुले लेबनान छोडिसकेको एनआरएनए लेबनानको अनुमान छ। बाँकी रहेकाहरुमध्ये अधिकांश घरेलु महिला कामदार हुन्। त्यसबाहेक केही पुरुषहरु होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुमा कार्यररत छन्।

मंगलबार बेलुका राजधानी बेरुतको तटीय क्षेत्रस्थित अमोनिएयम नाइट्रेट गोदाममा आगलागी हुँदा भयानक विस्फोट भएको थियो । सो घटनामा परि कम्तिमा सय जनाको ज्यान गैसकेको छ भने ४ हजार जनाभन्दा बढी घाइते भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *