मलेसियामा कुटाइ खाने ‘पीडित’ सुरक्षा गार्ड ‘गम्भीर’ अपराधको आरोपमा पक्राउ

डिसी नेपाल
२३ साउन २०७७ १५:१८

काठमाडौं। मलेसियामा कुटाइ खाएका नेपाली सुरक्षा गार्ड ‘गम्भीर’ अपराधको आरोपमा पक्राउ परेका छन् । मलेसिया प्रहरीको क्रिमिनल इन्भेस्टिगेसन डिपार्टमेन्ट (सीआइडी)ले उनलाई यौन हिंसाको आरोपमा पक्राउ गरेको त्यहाँका एसीपी निक रोस अझान निक अब्दुल हमिदलाई उद्धृत गर्दै मलेसियाकिनीले जनाएको छ । उनले त्यहाँको एक मलको लिफ्टमा ४० वर्षकी इण्डोनेसियाली नागरिक महिलालाई यौनजन्य रुपमा अभद्र व्यवहार गरेको समाचारमा जनाइएको छ ।

उनले यो यौनहिंसा ७ जुलाइमा सुपरभाइजरको कुटाइ खानुभन्दा पहिल्यै गरेका थिए । ती महिलाले लिफ्ट पर्खेर बसेको बेलामा ती सुरक्षा गार्डले महिलाको नितम्बमा हात हालेको समाचारमा जनाइएको छ । त्यसपछि ती सुरक्षागार्ड महिलाको पछिपछि लिफ्टभित्रै गएर उनका गोप्य र संवेदनशील अंगहरुमा हात हालेको मलेसियाकिनीले एसीपी निकलाई उद्धृत गर्दै लेखेको छ । पीडित महिलाले ती गार्डलाई लात्तीले हानेको समेत एसीपी निकले बताएका छन् ।

बुधबार साँझ साढे ५ बजे वाङसा माजु पुलिस स्टेशनमा बयान दिए गएपछि ती २६ वर्षका सुरक्षा गार्डलाई पक्राउ गरिएको हो । उनलाई क्वालालम्पुर पुलिसको डी ११ शाखामा राखिएको छ । यो शाखा सीआइडीको मातहतमा छ र यो शाखामा खासगरी यौनजन्य हिंसा, घरेलु हिंसा र बालबालिकामाथिको हिंसाको अनुसन्धान हुन्छ ।

ती सुरक्षा गार्डले महिलालाई यौन हिंसा गरेपछि महिलाले उनको सामना गरेको र पछि उनले महिलासँग माफी मागेको रिपोर्टमा जनाइएको छ । ती महिलाले सुरक्षा गार्डले माफी मागेपछि कुनै पुलिस रिपोर्ट गरिनन् तर सुरक्षा गार्डका सुपरभाइजरले यो घटनाबारे थाहा पाएपछि महिलालाई जानकारी नदिइ ती सुरक्षा गार्डलाई सजाय दिनको लागि उनलाई कुटेको एसीपी निक रोसले बताए ।

यौन हिंसाको घटना कहिले भएको थियो भन्ने प्रस्ट भइसकेको छैन । मलेसियाकिनीको एक रिपोर्टमा यो घटना जुलाइ महिनामै भएको उल्लेख छ । फ्रि मलेसिया टुडेको अर्को रिपोर्टमा भने यो घटना केही महिना अगाडि भएको उल्लेख छ । प्रारम्भिक अनुसन्धानमा अधिकारीहरु ती सुरक्षा गार्ड को हुन् भन्ने बारेमा जानकार थिएनन् र उनलाई कानुनी सहयोग गर्नको लागि बाहिर आउन आग्रह गरेका थिए ।

५ अगष्टमा ती सुरक्षा गार्ड बयान दिनको लागि वाङसा माजु जिल्ला प्रहरी कार्यालय गएका बेला पुलिसले उनलाई कथित यौन हिंसाको अनुसन्धानको लागि भन्दै हिरासतमा लिएको उनकी वकिल सुमिता शान्तिनी कृष्णाले बताएकी छिन् । सुमिताका अनुसार सुरक्षा गार्डले यौन हिंसाको आरोप अस्वीकार गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *