भारतको केरलामा दुर्घटनाग्रस्त एअर इन्डिया विमानको ‘ब्ल्याक बक्स’ भेटियो

डिसी नेपाल
२४ साउन २०७७ २०:१३

बीबीसी । दक्षिण भारतको केरला राज्यमा शुक्रवार साँझ दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फेला परेको भारतका उड्डयनमन्त्री हरदिप सिंह पुरीले बताएका छन्। क्यालिकट विमानस्थलमा अवतरणका क्रममा दुबईबाट आएको विमान दुई टुक्रा हुनेगरी भएको उक्त दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो।

शनिवार दुर्घटनास्थलको भ्रमण गरेका मन्त्री पुरीले उडानका विवरणहरू रहने फ्लाइट डेटा रेकर्डर र विमानचालकबीच हुने संवाद रेकर्ड हुने ककपिट भ्वाइस रेकर्डर फेला परेको जनाउँदै अनुसन्धानका लागि ती महत्त्वपूर्ण हुने बताए। उनले प्रमुख विमानचालकको प्रशंसा गरेका छन्।

कोरोनाभाइरस महामारी फैलिएपछि यूएईमा अलपत्र परेका भारतीय नागरिकहरूलाई लिएर आएको एअर इन्डिया एक्सप्रेसको उक्त विमानका दुवै चालकको दुर्घटनामा ज्यान गएको छ।

अहिले १५० भन्दा बढी यात्रुहरू अस्पतालमा छन्। उक्त बोइङ ७३७ विमान धावनमार्गमा चिप्लिएपछि दुर्घटना भएको थियो। तर दुर्घटनाको कारण अझै स्पष्ट नभएको मन्त्री पुरीले बताए। विमान चालकदलका सदस्यसहित १९० मानिस थिए। दुई टुक्रा भए पनि विमानमा आगो लागेको थिएन।

मृत्युको सङ्ख्या उच्च नहुनुलाई एक अधिकारीले चमत्कार भएको बताएका छन्। यद्यपि यस दुर्घटनालाई यो दशककै भारतको खराब यात्रुवाहक विमान दुर्घटना मानिएको छ। दुर्घटनालगत्तै पुगेका उद्धारकर्मीहरूलाई अहिले क्वारन्टीनमा बस्न भनिएको छ। मृतकमध्ये एक जनामा कोरोनाभाइरस पुष्टि भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *