यूएईको विमानस्थलमा रोकिए घर फर्कन लागेका १७ नेपाली

डिसी नेपाल
२६ साउन २०७७ १२:५०

काठमाडौँ । स्वदेश फर्किन लागेका १७ जना नेपाली युवा यूएईको दुबई अन्तराष्ट्रिय विमानस्थलमा रोकिएका छन् । पाँच महिनादेखि अलपत्र परेका उनीहरु सोमबार स्वदेश फर्किनको लागि विमानस्थलमा पुगेका थिए । तर, आफूहरुलाई विमानस्थल अध्यागमनले रोकेको फर्किन लागेकामध्ये एक युवा कृष्णबहादुर गन्धर्वले डिसी नेपाललाई बताए ।

उनीहरुलाई अध्यागमनले १२ सय ८७ दिराम (नेपाली करिब ४२ हजार) जरिवाना तिर्नुपर्ने बताएको छ । ‘हामीलाई १२ सय ८७ दिराम फाइन नतिरे जान नपाइने भनेको छ । काम गुमाएर अलपत्र परेका हामीसँग पैसा नै छैन,’ उनले सोमबार बिहान डिसी नेपालसँग भने, ‘हामी अहिलेसम्म एयरपोर्ट भित्रै छौँ । यतिबेलासम्म त हाम्रो प्लेन पनि छुटिसकेको होला ।’ उनीहरुको स्थानीय समय सोमबार बिहान १ बजे नेपाल एयरलाइन्सको उडानमा टिकट थियो ।

उनीहरु यूएईको फ्लेक्स फ्यासेलेटी म्यानेजमेन्ट कम्पनीमा कार्यररत थिए । नेपाली राजदूतावास आबुधाबीको सहयोगमा अलपत्र उनीहरुलाई कम्पनीले नै टिकट उपलब्ध गराएको थियो । अलपत्र उनीहरुको समस्यालाई गएको ४ महिनादेखि डिसीनेपालले निरन्तर फ्लोअप गरिरहेको थियो । शनिबारमात्रै डिसीनेपालले उनीहरु १७ जनाको समस्यालाई समेटेर समाचार बनाएको थियो ।

कम्पनीमा काम गर्ने ३ सय ५० जनामध्ये धेरैजसो आफ्नै खर्चमा नेपाल पुगिसकेका छन् । टिकट काट्न नसकेका उनीहरु १७ जना भने पैसाको अभावमा यूएईमै अलपत्र अवस्थामा थिए । उनीहरुले जुलाई १९ तारिख नेपाली राजदूतावास आबुधाबी र परराष्ट्र मन्त्रालय काठमाडौंमा ईमेल मार्फत टिकट काटेर नेपाल जान नसक्ने अवस्था रहेको भन्दै निवेदन पनि गरेका थिए । फर्किनै लाग्दा विमानस्थलले रोकिदिएपछि उनीहरुको समस्या अरु बढेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *