घर फर्किन टिकट लिएका नेपाली युवाको कुर्दिस्तानमा मृत्यु

डिसी नेपाल
२८ साउन २०७७ १७:४०

कुर्दिस्तान। वैदेशिक रोजगारीको लागि इराकको कुर्दिस्तान आएका एक नेपाली युवाको मृत्यु भएको छ। कुर्दिस्तान सुलेमानीको फेमिली मलमा कार्यरत दोलखाका ३२ वर्षीय प्रदीप दाहालको मंगलबार मृत्यु भएको हो। उनी नेपाल फर्किने तयारीमा थिए। उनले टिकट पनि लिइसकेका थिए।

मृतक दाहाल बिगत पाँच महिनादेखि बिरामी परेका थिए। उनमा खुट्टा सुन्निने, ज्वरो आउने र शरिर काम्ने जस्ता समस्या देखिएको थियो। बिरामी परेपछि उनी यसअघि नै नेपाल फर्किन चाहेका थिए। तर, लकडानका कारण अन्तर्राष्ट्रिय हवाइ उडान बन्दभएपछि उनी लामो समयदेखि कुर्दिस्तानमै बस्न बाध्य थिए।

उनको सुलेमानी सार हस्पिटलमा उपचार भइरहेको थियो। पछि उनलाई त्यहाँबाट हिवा हस्पिटलमा रिफर गरिएको थियो। उनको उपचारकै क्रममा हिवा हस्पिटलमा मंगलबार बिहानको समयमा मृत्यु भएको हो।

मृतक दाहालले आउँदो १६ अगष्टमा नेपाल फर्किनको लागि फ्लाई दुबईको टिकट काटिसकेका थिए। उनले आफू एक्लै नेपाल फर्किन गाह्रो हुने भएकोले एक जना साथि खोजीदिन पनि आग्रह गरेका थिए। दाहालले गएको २८ जुलाइसम्म कम्पनीमा काम गरेका थिए।

बुधवार डिसीनेपाल कुर्दिस्तान प्रतिनिधि बिनोद श्रेष्ठ र एफ डब्ल्यूसीडीओ हामा माहम्मद हाजार कम्पनिमा पुगेर घटनाबारेमा जानकारी लिएका थिए। कम्पनी प्रशासनले मृतक दाहालको शवलाई नेपाल पठाउन लाग्ने खर्च र परिवारलाई केही सहयोग गर्न सकिने बताएको छ।

दाहालको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै अन्य काम शुरु हुने कम्पनीले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *