नेपालले खेल्ने विश्वकप छनोट खेल स्थगित

डिसी नेपाल
२८ साउन २०७७ १९:३९

काठमाडौं । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकप र चीनमा सन् २०२३ मा हुने एएफसी एसियन कपको संयुक्त छनोट प्रतियोगिताअन्तर्गत बाँकी रहेका खेलहरु पुनः स्थगित भएको छ । नेपालले प्रतिस्पर्धा गरिरहेको फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गतका बाँकी खेलहरु पुनः स्थगित गरिएको एसियन फुटबल कन्फेडेरेसन (एएफसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको महामारीलाई दृष्टिगत गर्दै फिफासँगको छलफलपछि अक्टोबर र नोभेम्बरमा तय गरिएको छनोट खेलहरु सबै स्थगित गरिएको एएफसीले जनाएको हो । अब उक्त खेलहरु सन् २०२१ मा हुने जनाएको छ । तर, कुन मितिमा हुने भन्ने निर्णय भएको छैन ।

विश्वकप र एसियन कप छनोटको खेलमा नेपालले अब तीन होम खेल खेल्न बाँकी छ । यसअघि नेपालले दशरथ रङ्गशालामा असोज र कात्तिकमा तीन खेल खेल्ने तालिका तय गरेको थियो । समूह ‘बी’ मा रहेको नेपालको पाँच खेलबाट तीन अङ्क रहेको छ । चाइनिज ताइपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा भने अष्ट्रेलिया रहेको छ ।

छनोटका खेलहरु स्थगित भएपछि एन्फाले क्याम्प पनि स्थगित गरेको छ। एन्फाले एक विज्ञप्ति जारी गर्दै अगस्ट १७ देखि सुरु हुने ट्रेनिङ क्याम्प स्थगित भएको बताएको छ। योसँगै क्वारेन्टिनमा रहेका खेलाडी प्रशिक्षक र अन्य स्टाफहरुलाई पनि घर पठाउने एन्फाले जनाएको छ। उनीहरु घरमै क्वारेन्टिनमा बस्नेछन्। एन्फाले खेलाडी र प्रशिक्षको पीसीआर परीक्षण गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *