क्यानडामा ३ वर्षीय नेपाली बालकको दुर्घटनामा मृत्यु, बुवा र दिदी घाइते

डिसी नेपाल
३० साउन २०७७ १०:०६

काठमाडौँ । सवारी दुर्घटनामा परी क्यानाडामा एक नेपाली बालकको मृत्यु भएको छ । गत मंगलबार टोरोन्टो–इटोविकोमा भएको सवारी दुर्घटनामा ३ वर्षीय नेपाली बालक रायन भट्टराईको मृत्यु भएको एनआरएनए क्यानडाले जनाएको छ ।

एनआरएनए क्यानाडाका महासचिव पिताम्बर भट्टराईले डिसी नेपाललाई दिएको जानकारी अनुसार स्थानीय समयअनुसार मंगलबार बिहान ११ बजे भएको सो दुर्घटनामा इटोविको निवासी रमेश भट्टराई र सविना पाठकका छोरा रायनको मृत्यु भएको हो । भट्टराई परिवार नेपालको चितवनका स्थायी निवासी हुन् ।

जानकारी अनुसार ट्राफिक सिग्नलमा क्रस गर्ने क्रममा उक्त दुर्घटना भएको हो । बाबु रमेशले छोरा रायन र छोरी तारालाई सँगै लिएर बाटो क्रस गर्दै थिए । सोही बेला एक स्थानीय ८२ वर्षीया वृद्धाले चलाएको कारले उनीहरुलाई ठक्कर दिएको थियो । ठक्करपछि छोरा रायनको घटनास्थलमै मृत्यु भएको थियो । बाबु रमेश र ७ वर्षीय छोरी तारा घाइते भएका छन्। उनीहरु उपचारपछि डिस्चार्ज भइसकेको भट्टराईले जानकारी दिए।

ठक्कर दिने ती वृद्धाले एक दिशातर्फ जाने ‘इण्डिकेटर’ दिएकी थिइन् तर अचानक उनको गाडी इण्डिकेटर दिएको दिशाको विपरित दिशातर्फ घुमेपछि दुर्घटना भएको बताइएको छ । रायनको मृत्युले सिंगो क्यानाडाबासी नेपाली समुदाय शोकमा डुबेको जनाउँदै एनआरएनएले दुःख व्यक्त गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *