स्वदेश फिर्ती : यूएईमा समस्यामा परेका नेपाली ल्याउन थप १५ उडान तय

डिसी नेपाल
३२ साउन २०७७ १४:३९

काठमाडौँ । यूएईबाट काठमाडौँका लागि थप उडान तय भएका छन् । कोरोना महामारीका कारण यूएईमा समस्यामा परेका नेपालीलाई स्वदेश ल्याउन अगष्ट १७ देखि अगष्ट ३१ भित्रमा १५ वटा उडान तय भएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले सार्वनाजिक गरेको तालिका अनुसार यूएईबाट नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र विदेशी कम्पनी एयर अरेविया, फ्लाई दुबई र ईत्तिहाद एयरले उडान भर्नेछन् ।

तालिका अनुसार यसबीचमा नेपाल एयरलाइन्सले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट अगष्ट १७, २१, २५, २७, २९ र ३१ गरी जम्मा ६ वटा उडान भर्नेछ । त्यस्तै हिमालय एयरलाइन्सले आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाट अगष्ट २५, २७, २९ र ३१ गरी चारवटा उडान गर्नेछ । एयर अरेवियाले शारजाह अन्तर्राष्ट्रिय अगष्ट २५ तथा ३१, फ्लाई दुवईले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट अगष्ट १७ र २० तथा ईत्तिहाद एयरले आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाट अगष्ट २७ मा एक उडान भर्ने दूतावासले जारी गरेको तालिकामा उल्लेख छ ।

यी उडानहरुमार्फत नेपाल फर्कन यसअघि जुलाई १२ तारिख तथा १३ अगष्टमा दूतावासले सार्वजनिक गरेको सूचिमा नाम समावेश भएको हुनुपर्नेछ । सूचीमा परेका व्यक्तिहरुले मात्रै टिकट काट्न सक्ने दूतावासको भनाइ छ ।

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको परीक्षण गरेको पिसीआररआरडिटी वा अन्य कुनै स्विकृत प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको फिट टु फ्लाइट प्रमाणपत्र ७ दिन म्याद रहने गरि साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वेभसाइटमा राखिएको विदेशबाट नेपाल फर्किने व्यक्तिले भर्नुपर्ने फारम भरी त्यसबाट प्राप्त हुने बारकोड प्रिन्ट गरेर आफ्नो साथमा राख्न समेत दूतावासले अनुरोध गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *