यूएईमा दुई नेपाली युवाको हत्या प्रकरण : दूतावास भन्छ–‘घटना अझैसम्म अनुसन्धानमै छ’

डिसी नेपाल
१ भदौ २०७७ १३:२३

काठमाडौं। यूएईमा हत्या भएका दुई नेपालीको घटना अझैसम्म अनुसन्धानमै रहेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । ‘यो केस अहिले अनुसन्धानकै क्रममा छ । अझैसम्म रिपोर्ट आइसकेको छैन,’ नेपाली राजदूतावास आबुधाबीकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालले डिसी नेपालसँग भनिन्, ‘स्थानीय सञ्चार माध्यममा त विभिन्न कुराहरु आइरहेका छन् । तर, अनुसन्धानपछिको अफिसियल रिपोर्ट आएपछि मात्रै निर्क्यौल हुनेछ ।’

आफन्तलाई उद्धृत गर्दै हत्या हुनेमा एक जना तनहुँका ३६ वर्षिय मंगलराज श्रेष्ठ भएको दावी गरिएको भए पनि त्यसको आधिकारिक पुष्टि समेत धितालले गर्न सकिनन् । उनी भन्छिन्–‘घटना अनुसन्धानमै रहेको र रिपोर्ट नआइसकेकोले अफिसियल जानकारी दिन हामीसँग केही छैन ।’ अर्का एक नेपालीको भने पहिचान खुलेको छैन ।

गत ८ अगष्टमा यूएईको शारजाहमा दुई नेपाली युवाको निर्मम हत्या भएको थियो । यूएईको शारजाह शहरमा ती दुई नेपालीको शव हत्या गरिएको अवस्थामा शव फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । झगडा र विवाद हिंस्रक भएपछि उनीहरुको हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको थियो ।

झगडा हिंस्रक भएर उनीहरुमाथि धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि प्रहरीले नियतवश योजनाबद्ध हत्या भएको हुनसक्ने कुरालाई समेत अस्वीकार गरिसकेको छैन । प्रहरीले मृतकहरुको पूरा पहिचान खुलाएको छैन । प्रहरीले उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ । जसमा मृतकहरु २६ वर्षका के.जे. र ३७ वर्षका एम.आर दुवै नेपाली नागरिक भएको जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *