यूएईस्थित दूतावासका राजदूतसहित अधिकाशं कर्मचारीको नम्बर ‘सुटुक्क परिवर्तन’

बिनेश खनाल
१ भदौ २०७७ १८:२१

काठमाडौँ । अन्यत्र जस्तै खाडी मुलुक सँयुक्त अरब इमिरेट्स (यूएई)मा पनि कोरोनाको संक्रमणले उग्ररुप लिंदै थियो। महामारीले गर्दा यूएईमा कार्यररत नेपालीहरु पनि चपटेमा पर्न थालिसकेका थिए। संक्रमण बढ्दै गएपछि त्यसको असर त्यहाँका विभिन्न क्षेत्रमा पर्‍याे। चलिरहेका कम्पनी, होटल, उद्योग तथा कलकारखाना कोरोनाभाइरसका कारण बन्द भए। चलिरहेका कम्पनीहरु ठप्प भएपछि थुप्रै नेपाली आफूले गर्दै आएको रोजगारीबाट हात धुन्न बाध्य भए। केही कम्पनीहरुले त जर्वजस्ती बेलतबी बिदा बस्न लगाए। कतिपय नेपाली त अलपत्र भएर सडकमै पुगे।

नेपालीहरु समस्यामा पर्न थालेको गुनासो आबुधाबीस्थित नेपाली दूतावासमा पनि पुग्यो। सञ्चारमाध्यमहरुले पनि समस्यामा परेकाहरुको पीडालाई प्रथामिकताका साथ उठाए।

दूतावासलाई पनि दवाव बढ्दै गयो। र, एकदिन सार्वजानिक रुपमा सूचना जारी गरेर भन्यो, ‘तपाईँहरुलाई केही समस्या परेको खण्डमा राजदूतावासका सम्बन्धित कर्मचारीहरुलाई फोन तथा इमेल मार्फत सम्पर्क गरी आफ्नो समस्या राख्न सक्नुहुनेछ।’

उक्त सूचनामा दूतावासका विभिन्न विभाग हेर्ने कर्मचारीको नामसहित मोबाइल नम्बर, ल्याण्डलाइन नम्बरदेखि इमेल आइडी समेत सार्वजानिक गरिएको थियो। दूतावासले आफ्ना सबै संयन्त्र प्रयोग गरेर कोभिड–१९ विषेश समस्या समाधान गर्न विशेष किसिमले लागेको पनि दावी गर्‍याे। दूतावासका विभिन्न विभागमा कार्यररत कर्मचारीलाई कोरोनाबाट समस्यामा परेका नेपालीहरुको गुनासोहरु सम्बोधन गर्ने जिम्मेवारी तोकियो। जसमा उपनियोग प्रमुखदेखि दूतावासका सबै कर्मचारीलाई छुट्टाछुट्टै जिम्मेवारी दिइएको थियो।

दूतावासले सहयोग गर्ने भनेपछि यूएईमा समस्यामा परेका नेपालीहरु खुशी भए। यसअघि सामान्य अवस्थामा कैयौँ पटक फोन गर्दा पनि दूतावासको फोन नउठ्ने धेरै नेपालीले गुनासो गर्थे। फोन उठिहाले पनि दूतावासबाट चित्त बुझ्दो जवाफ नपाउने उनीहरुको दूखेसो हुन्थ्यो। आखिर जे भए पनि विदेशमा समस्यामा परेका नेपालीलाई दूतावासको विकल्प हुँदैनथ्यो। विदेशको ठाउँमा नेपालीको अभिभावक भनेकै दूतावास हो। संकटमै परेका बेला दूतावासले यसरी आफूलाई परेको समस्या ‘हामीलाई बताउनुहोस्’ भनेपछि पीडितहरु खुशी नहुने कुरै भएन। उनीहरुले विगतमा दूतावासँग भएका तिक्तता सबै विर्र्सिए। र, आफ्ना समस्या समाधान हुने आशामा दूतावासमा दुखेसो पोखे।

शुरुआती चरणमा समस्या सिमित मात्रामा थियो। थोरै संख्यामा नेपालीहरु समस्यामा परेका थिए। उनीहरुमध्ये केहीका गुनासो दूतावासले सम्बोधन पनि गर्‍याे। तत्काल सम्बोधन गर्न नसकेका गुनासोहरुलाई क्रमशः समाधान गर्नै आश्वासन दिइयो।

तर, कोरोना महामारीले यूएईको स्थिति दिनप्रदिन अरु बिग्रदैँ गयो। रोजगारीको क्षेत्र थप प्रभावित भयो। नेपालीहरु बेरोजगार हुने क्रम बढ्दै गयो। रोजगारी र आम्दानी गुमाएर रित्तो हात भएपछि धेरै नेपालीहरुले दूतावासमा गुहार माग्न थाले। समस्या यति बिग्रदैँ गयो कि दूतावासका कर्मचारीलाई फोन उठाउन पनि भ्याई–नभ्याई हुन थाल्यो।

दूतावासको पनि आफ्नै पीडा थियो। समस्या सुनेर मात्रै भएन उचित सम्बोधन पनि गर्नु पर्दथ्यो। दूतावासको एक्लो प्रयासले पनि सबै समस्या समाधान हुने कुरा थिएन। उता समस्यामा परेका नेपालीहरु पनि दूतावासको मुख हेरेर बस्नुको विकल्प थिएन। किनकि नेपालीहरुले पराइ भूमिमा आफ्नो दुःख विसाउने भनेकै दूतावासमा हो। त्यसैले पनि उनीहरुले समस्या समाधान हुने आशमा बारम्बार दूतावासलाई घच्घच्याई रहन्थे।

किन भयो नम्बर परिवर्तन ?

शुरुआती दिनहरुमा दूतावासले कर्मचारीहरुका मोबाइल नम्बर सार्वजानिक गर्‍याे। परेको समस्या कर्मचारीलाई टिपाउन अनुरोध गर्‍याे। हटलाइन नम्बर २४ घण्टा खुल्ला रहने बतायो। तर, अहिले दूतावासले देखाएका त्यो सक्रियता लोकप्रियाताकै लागि भएको देखिएको छ। दूतावासले बाहिर आफू सक्रिय रहेको देखाउनकै लागि त्यो सबै गरेको अलपत्र परेका नेपालीहरुको आरोप छ।

दूतावासले सार्वजानिक गरेका ती मोबाइल नम्बरमध्ये अहिले प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धितालको बाहेक अन्य सबैको नम्बरमा फोन लाग्दैन। किनकी उनीहरुले फोन नम्बर परिवर्तन गरेको स्रोतले बतायो। धितालले चलाउने नम्बर भने दूतावासकै नाममा रहेकाले परिवर्तन भएको छैन। यसअघिका कार्यावाहक राजदूतहरु नेत्रबहादुर टण्डन र सागर प्रसाद फुयाँलले पनि यही नम्बर प्रयोग गर्थे।

डिसी नेपाललाई श्रोतले दिएको जानकारी अनुसार बारम्बार गुनासो आउन थालेपछि अधिकाशं कर्मचारीले अहिले ती नम्बरहरु परिवर्तन गरिसकेका छन्। ‘अहिले सबै कर्मचारीहरुले नम्बर बदलिसकेका छन्। यसअघि बाहिर देखाउनकै लागि प्रेस रिलिज गर्दै नम्बरहरु सार्वजानिक गरियो,’ श्रोत दावी गर्दै भन्छ, ‘अहिले प्रवक्ता बाहेक सबैको नम्बर बदलिएको छ। लाज मर्दाे कुरा।’

सार्वजानिक भएका ती नम्बरहरुमा डिसी नेपालले पनि सम्पर्क गरेको थियो तर, अधिकाशंको नम्बरमा फोन नलागेको पाइयो। यसबारेमा बुझ्न डिसी नेपालले दूतावासकी प्रवक्त्ता तथा उपनियोग प्रमुख रीता धिताललाई सम्पर्क गरेको थियो। तर, उनले एक जना कर्मचारीको मात्रै नम्बर परिवर्तन भएको बताइन्। अन्य सबैको नम्बर यथावत रहेको उनको भनाइ छ। ‘राहदानी प्रमाणीकरण गर्ने कर्मचारी नारायण ज्ञवालीको मात्रै नम्बर परिवर्तन भएको हो। उहाँको आफ्नो व्यक्तिगत कारणले त्यो नम्बर बदल्नु भएको हो,’ आबुधाबीबाट टेलिफोनमा धितालले भनिन्, ‘अन्य सबै कर्मचारीको नम्बर यथावत नै छ। टेक्निकल कुरा हो, तपाई आफैले पनि पत्ता लगाउन सक्नुहुन्छ।’

अहिले राजदूत कृष्ण प्रसाद ढकालले पनि आफूले चलाउँदै आएको नम्बर ‘सुटुक्क’ परिवर्तन गरेर नयाँ नम्बर चलाउँदै आएका छन्। समस्यामा परेका नेपालीहरुले बारम्बार उनलाई नै सम्पर्क गरेर दवाव दिन थालेपछि उनले नम्बर परिवर्तन गरेका हुन्। जनगुनासो धेरै बढेपछि मिडियाहरुले पनि बारम्बार पछ्याउन थालेकोले उनले नम्बर परिवर्तन गरेर कान हल्लुका गराउँदै बसेको पाइएको छ।

ढकाल अहिले सिमित मान्छेहरुसँग मात्रै सम्पर्कमा छन्। उनले आफू निकटका पत्रकार, त्यहाँ रहेका दलका भात्रृ संगठनका केही नेताहरुलाई मात्रै आफ्नो नयाँ नम्बर दिएकका छन्। उनले आफू निकटका व्यक्तिहरुसँग घण्टौँ कुरा गर्ने गरेको यूएईमै कार्यररत नेपाली बताउँछन्।

प्रवक्ता धितालले पनि राजदूत ढकालले नम्बर परिवर्तन गरेको स्वीकार गर्छिन्। उनले भनिन्, ‘उहाँको (राजदूत) नम्बर यसअघि सार्वजानिक गरिएको थिएन। उहाँले अहिले नयाँ नम्बर चलाउनुहुन्छ। उहाँसँग दुई वटा नम्बर छ अहिले। सायद अर्को नम्बर पनि अप्रेशनकै लागि प्रयोग गरेको हुनुपर्छ।’

अहिले अन्य देशमा पनि नेपालीका समस्या तथा गुनासोहरु धेरै छन्। संकटको बेलामा दूतावासमा नेपालीहरुले समस्या ल्याउनु स्वभाविक हो। अहिले यूएई जस्तो अन्य देशमा रहेका नेपाली दूतावासहरुमा दवाव बढेको छ।

 

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *