महिला नेतृको तीज : टिभिमा गीत बजाएर घरमै नाचियो

तर्कबहादुर थापा
५ भदौ २०७७ १२:०१

काठमाडौं। भगवान शिवलाई वरका रुपमा प्राप्त गर्न पाउँ भनेर पार्वतीले व्रत बसेको प्रशंगबाट सुरु तीज कोरोना महामारीकाबीच पनि मनाइँदै छ। शुक्रबार हरेक नेपाली हिन्दु नारीले तीज पर्वलाई विषेश पर्वका रुपमा मनाउँदै आएका छन्।

कोरोना महामारीका कारण यो वर्षको तीज सबैले घरभित्र नै मनाएका छन्। अतः राजनीतिमा होमिएकाहरुले पनि यो वर्षको तीज घरभित्र नै टिभिमा गीत बजाएर नाच्दै मनाएको बताएका छन्। कतिपय महिला नेतृले तीज पर्वलाई ‘प्रगतिशील’ तरिकाले मनाउँदै सांस्कृति क्रान्तिका रुपमा परिणत गर्नु पर्ने आवश्यक्ता रहेको बताउँछन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ विन्दा पाण्डे तीजलाई परम्परागत भन्दा सामाजिक पर्वका रुपमा मनाउनु पर्ने आवश्यक्ता रहेको बताउँछिन्। उनले आफूले तीज विषेश तरिकाले नमनाउने भएपनि परम्परागत शैलीलाई भन्दा सामाजिक पर्वका रुपमा मनाउँदा अझै नेपाली हिन्दु नारीको तीज भन्दा नेपाली नारीको तीज हुने बताइन्।

उनले भनिन्, ‘मलाइ त प्राय हिजो र आज उस्तै हो। केही फरक र विषेश तरिकाले तीज मनाउँने गरेकी छैन। तर, अहिलेको तीज कोरोनाका कारण घरमै मनाइयो भन्दा फरक पर्दैन।’

तीजलाई परिस्कृत गरेर लैजानु पर्नेमा उनको जोड छ। उनले भनिन्, ‘तीजलाई परम्परागत शैलीमा मनाउँदै जाने हो भने यसको घेरा साँघुरिँदै जान्छ। अबको तीज सामाजिक पर्वका रुपमा मनाउनु पर्छ। जसले गर्दा नेपाली हिन्दु नारी भन्दा पनि नेपाली नारीको पर्वका रुपमा मनाउन सकियोस।’

कांग्रेस नेतृ डा. डिला संग्राैला (पन्त) पनि तीजमा घरमै टिभिमा गीत बजाएर नाचेको बताउँछिन्। डिसी नेपालसँग उनले भनिन् ‘मैले विहानै पूजा आजा गरेँ, टिभिमा गीत बजाएँ दिदी बहिनीसँग सामाजिक सञ्जाल मार्फत कुरा गरेँ, नाचेँ।’

काठमाडौंका मठ मन्दिर र विभिन्न सार्वजनिक स्थानहरुमा धुमधामका साथ मनाइने तीज यो वर्ष भने हरेकले घरघरमै मनाउने गरेका छन्।
‘काठमाडौंमा निषेधाज्ञा जारी छ,’ उनले भनिन्, ‘विश्व प्रेम र भातृत्व कामयम राख्न जरुरी छ। कोरोनाका कारण भेला हुने, नाचगान गर्ने काम भएन। गर्नु पनि भएन। विश्वभर नै कोरोनाको संक्रमण छ। यो बेलामा हामीले पनि बुझ्न जरुरी छ।’

महिलाले तीजको दिन आफ्ना मनमा भएका बेदनाहरुलाई सबैका सामु गीतमार्फत प्रस्तुत गर्ने गर्थे। ‘अबको तीज त्यस्तो हुँदै,’ उनले स्मरण गरिन्, ‘अब हामीले महिला सवलीकरणका लागि र महिला हिंसा विरुद्ध तीज जस्ता पर्वलाई प्रयोग गर्नु जरुरी छ। रोक र भोकको मारमा परेकालाई उठाउँनु छ। देशलाई जोगाउनु छ। सबैले यो कुरा बुझ्नु हुन्छ भन्ने पनि अपेक्षा गरेकी छु, शुभकामना पनि छ सबैलाई।’

नेकपाकी अर्की नेतृ रेखा शर्मा पनि कोरोना र निषेधाज्ञाले तीज पहिलेको जस्तो उत्साहप्रद नभएको बताउँछिन्। ‘पहिलाका तीजहरुमा गाउँमा गइन्थ्यो’, उनले स्मरण गरिन्, ‘गाउँमै विभिन्न सभा समारोहहरुमा सहभागी भइन्थ्यो। दिदी बहिनीसँग रमाइलो हुन्थ्यो। यो वर्षको तीज घरभित्र नै मनाइएको छ। टिभिमा गीत बजायो नाच्यो त्यस्तै।’

नेतृ शर्माले पनि तीजलाई भड्किलो, खर्चिलो र देखाउँनैको लागि ऋण गरेर मनाउने चलनलाई भने विस्तारै निरुत्साहित गर्नु पर्ने धारणा राखिन्। उनले भनिन्, ‘देखावटी गर्ने बानी छ। ऋण बोक्छन् कतिले। यो गर्नु हुँदैन भन्ने हो। हाम्रो संस्कृति हो। धेरै भडकिलो, खर्चिलो गर्नै पर्छ भन्ने छैन।’

राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल भने तीज सांस्कृतिक पर्व भएकाले महत्वलाई कमी हुन दिन नहुने बताउँछिन्। उनले तीजलाई सांस्कृतिक पर्वका रुपमा परिमार्जित गरी लैजाने र प्रगतिशील तरिकाले मनाउनु पर्नेमा जोड दिइन्।

‘यो तीज त घर भित्रै नाचेर, गाएर मनाएकी छु,’ उनले भनिन्, ‘कोरोनाका कारण बाहिर निस्कने वातावरण छैन। घरमै बसे पनि सांस्कृतिक पर्व तीज मनाउँनै पर्यो। तर, अवको तीज प्रगतिशील तरिकाले मनाउनु पर्छ भन्ने हो। परम्परा एका तिर छ। परम्परालाई पनि परिमार्जित गरेर जान सक्यो भने राम्रो हुन्छ।’

परापूर्व कालमा घरपरिवारबाट पीडित महिलाले आफ्ना पीडा पोख्न तीजको दिनलाई उपयोग गर्दै आए पनि तीजका गीतबाट समाज, राष्ट्र बोल्नु पर्ने उनको भनाइ छ।

उनले भनिन्, ‘परापूर्व कालमा घरपरिवारबाट पीडित महिलाले आफ्ना पीडा तीजको दिन गीतबाट पोखे। पञ्च्यायत कालमा आएर व्यवस्था विरुद्ध गीतका भावहरु देखिए। अहिले पनि यस्तो पाइन्छ। अझै हामीले गीतबाट समाज परीवर्तनका लागि दवाव दिनु पर्छ भन्ने मेरो बुझाइ हो।’

महिला मुक्तिका लागि सास्कृतिक क्रान्तिकै रुपमा तीजका गीतलाई र तीज पर्वलाई लैजानु पर्नेमा उनले जोड दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *