राष्ट्रिय निकुञ्ज किन नेतृत्वविहीन : अपवित्र षड्यन्त्रको गन्ध

डिसी नेपाल
१९ भदौ २०७७ १०:३८

भाद्र महिनाको दोस्रो हप्ता कर्मचारीहरुको सरुवाको समाचारले अखबारहरु भरिए। आफूलाई ठूलो चासोको विषय नभए पनि महामारी विरुद्धको एकीकृत युद्धको दौरानमा भएको यो सायद एउटा सामान्य र नियमित प्रक्रियाको किन त्यति धेरै विरोध भयो भनेर कान ठाडा भएका हुन्।

चासो छैन भनेर शान्त बसेको पंक्तिकारलाई एक्कासि झट्का लाग्यो, जब राष्ट्रिय निकुञ्ज विभागका ३ जनामध्ये १ जना बिउ सहसचिव उपमहानिर्देशक रामचन्द्र क“डेललाई प्रदेश सरुवा गरियो। रिक्त महानिर्देशकको जोडदार माग राखेर प्रतीक्षारत हामी संरक्षणप्रेमीहरु छाँगाबाट खसेझै भयौं।

महानिर्देशक पाउनु त कताकता, भएको १ जना कामचलाउ मान्छे समेतलाई डाँडा कटाएपछि झनै प्रताडित भयौं। आफ्नो मनको बहलाई पंक्तिकारले लेखमार्फत राखें। शारीरिक र मौखिक पहल प्रयास जोड केही काम नलागेपछि बाध्य भएर रोजेको विकल्प थियो त्यो लेख।

किन चाहियो महानिर्देशक ?
नेपाल राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र संरक्षण क्षेत्रको एउटा सजिव माला हो। यही मालाको सेरोफेरोमा नेपालको प्राकृतिक सौन्दर्यता, जैविक विविधताको खानी र प्राकृतिक सम्पदाको भण्डारको व्यवस्थापन र संरक्षण निहीत छ। हो त्यो ज्यादै महत्वपूर्ण र सम्वेदनशील राष्ट्रिय सम्पत्तिको रक्षा र व्यवस्थापनको लागि महानिर्देशक (डिजी) अति आवश्यक परेको हो। राष्ट्रिय सम्पत्तिमात्र भन्दा अन्याय हुन्छ।

अझ ती विश्व रामसार सम्पदा र आफैं विश्व सम्पदासमेत हुन्। इतिहासमा टल्केका चम्केका ती विश्व सम्पदाको ‘सौन्दर्यता र महिमा नघटाऊ’ भनेर हामीलाई आई.यु.सि.एन. ले बराबर सचेत र सावधान गराइरहेको छ। त्यसको कार्यकारी रक्षक र व्यवस्थापक हो डिजी पद।

‘डिजी’ को आन्तरिक व्यवस्थापन पनि सजिलो छैन। नेपालभरि २१ वटा संरक्षण क्षेत्रमा छरिएर रहेका १९०५ जना निकुञ्ज कर्मचारीहरुको तलब–भत्ता, वृत्ति विकास, बन्दोबस्ती, समन्वय, अनुगमन, दण्ड–पुरस्कार, कल्याणकारीको दायित्व डिजीको थाप्लोमा हुन्छ।

डिजी मन्त्रालय र फिल्डको मजबुत एवं विश्वसनीय पुल पनि हो। फिल्डमा मात्र उसका छरिएर रहेका अनगिन्ती पोष्टहरु २४ घण्टा पहरामा सक्रिय छन्। र, ती पोष्टहरु पत्याइनसक्नु दूरदराज, विकट र जोखिमयुक्त भूगोल, मौसम तथा हिंस्रक वन्यजन्तुका मुखमा छन्।

निकुञ्ज, आरक्ष क्षेत्रमा फिल्डमा परिचालित नेपाली सेनाकोसमेत ईमिडियट् व्यवस्थापक पनि हो डिजी। त्यो फौजको व्यवस्थापन, परिचालन, तालिम, अनुगमन, समन्वय, पुरस्कार र कल्याणकारीको अतिरिक्त जिम्मेवारी पनि डिजीको थाप्लोमा हुन्छ।

प्रकृति संरक्षण ज्यादै कठिन, चुनौतीपूर्ण र महङ्गो राष्ट्रिय जिम्मेवारी हो। विश्व सम्पदाको रक्षा र व्यवस्थापनमा अन्तर्राष्ट्रिय चासो र दायित्व हुने भएकोले पनि नेपालमा सहयोगी दातृ संघ संस्थाहरु सेवारत छन्। तिनको व्यवस्थापन, परिचालन, समन्वय र अनुगमनको जिम्मेवारी पनि डिजीको हो।

नियन्त्रण र दण्डको जिम्मेवारीमात्र सैनिक चेन अफ कमाण्डले गर्दछ। त्यसैले नेपाली सेनाले एउटा कुशल र गतिशील होनहार डिजीको हरदम अपेक्षा राखेको हुन्छ। बिना डिजी त्यति ठूलो फिल्डको माला जनशक्ति रानोबिनाको मौरीजस्तो हुन्छ। बिस्तारै बेवारिसे, छिन्नभिन्न र तित्तरबित्तर हुने खतरा हुन्छ।

अवोध वन्यजन्तुको व्यवस्थापन र रक्षाको काम उसै कठिन छ। त्योस“ग जोडिएको बफरजोनको व्यवस्थापन झन् धेरै कठिन छ। सचेत र पीडित जनसमुदायको क्षतिपूर्ति, राहत र न्याय दिने काम शीघ्र चुस्त र दुरुस्तसँग गर्न स्मार्ट र सम्वेदनशील डिजीको सक्रियता अपरिहार्य हुन्छ।

प्रकृति संरक्षण ज्यादै कठिन, चुनौतीपूर्ण र महङ्गो राष्ट्रिय जिम्मेवारी हो। विश्व सम्पदाको रक्षा र व्यवस्थापनमा अन्तर्राष्ट्रिय चासो र दायित्व हुने भएकोले पनि नेपालमा सहयोगी दातृ संघ संस्थाहरु सेवारत छन्। तिनको व्यवस्थापन, परिचालन, समन्वय र अनुगमनको जिम्मेवारी पनि डिजीको हो।

अझ महत्वपूर्ण र गर्विलो सवालको पाटो अर्को छ। डिजी क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रकृति तथा वातावरण संरक्षण समुदायको एउटा सक्रिय सदस्य, स्टाफ, फोकल अधिकृतसमेत हो । अन्तर्राष्ट्रिय सन्धी सम्झौताको पक्ष राष्ट्रको महत्वपूर्ण प्रतिनिधि हो। क्षेत्रीय संगठन SAWEN को अध्यक्ष राष्ट्र हो नेपाल।

आफू विज्ञ होइन। तर संयुक्त संरक्षण जिम्मेवारीको आबद्धताले हिजो डिजीको अभिभारा, तनाब र चिन्ताको बोझलाई नजिकबाट नियाल्न पाएको छु मैंले।
डिजीको दुःख पीडा चिन्ताको साथी पनि हो उहाँको सहयात्री र सहकर्मी नेपाली सेनाको निकुञ्ज निर्देशक पद। र, सो पदमा बसेर मैंले जीवनका अमूल्य समय नेपाली माटो र प्रकृतिको सेवा गर्न पाएको थिएँ।

डिजीबिनाको पीडा
महिनौं भयो सबैले डिजीको माग र प्रतीक्षा गरेको। बिडम्बना, डिजी माग्दा भएको एउटा डिडिजी (उपमहानिर्देशक) लाई समेत डाँडा कटाउने काम भएपछि प्रकृति र संरक्षणप्रेमी कर्मचारी, साझेदार, संघ–संस्था, बफरजोन जनता, सञ्चारकर्मी मित्र र निकुञ्ज आरक्षमा तैनाथ सुरक्षाकर्मीको दुखिरहेको चित्त भाँच्चिएको हो।

प्रकृति संरक्षणमा सरकारको यो हेलचेक्र्याइँ र उदासिनाका कारण देशको इज्जतमा ठूलो धक्का लागेको बारे छलफल गर्दै गर्दा एकजना पूर्वडिजी प्रकृति संरक्षणको उपेक्षा देखेर धुरुधुरु रुनुभयो। हामीले पनि आँशु थाम्न सकेनौं।

वनमन्त्रालय र सरकारलाई हामी प्रकृति संरक्षकहरुको आंशुको मूल्य नभए पनि संरक्षणको पर्खाइमा रहेको सम्पदा र बन्यजन्तुका आंशुको मूल्य राखिदिए हुन्थ्यो भन्ने आग्रह चाहिँ गर्न मन लागेको छ। प्रकृति र वन्यजन्तुको लगाव भएपछि मानिस कति एकोहोरिन्छ र एकभक्ति हुन्छ जिउँदो प्रमाण हुनुहुन्छ नेपालको पहिलो महानिर्देशक हाम्रा श्रद्धेय अग्रज विश्वनाथ उप्रेती सर।

वन मन्त्रालयका कुन कुन अङ्ग कति प्रताडित भए हामीलाई बेसरोकारको कुरा। तर, ५० वर्ष लामो गौरवमय इतिहास बोकेको राष्ट्रिय निकुञ्ज विभागले सुनियोजितरुपमा चरणबद्ध भोगेको बोली र व्यवहारको उपेक्षाले दूरदराजका संरक्षणप्रेमी जनताहरुको चित्त सबैभन्दा बढी दुःखेको देखियो।

डिजीको रिक्त पदले पर्न गएका बहुआयामिक घाटा नोक्सानका नकरात्मक असरको फेहरिस्त बयान गरि साध्य छैनन्। फिल्डले धानेको प्रकृति संरक्षणको मनोबल, हौसला, प्राण र टीमवर्क भावना नष्ट हुँदा संरक्षण धरापमा परेको छ। प्रकृतिलाई अन्याय भएको छ।

जुङ्गा चलेको इशारा

प्रकृति र प्राकृतिक सम्पदालाई बेच्ने, बाँड्ने, सक्ने रहस्यमय रोडम्यापमा अडिग भएर लागेका त छैनन्, नयाँ नेपालका हिमायतीहरु? आई.यु.सि.एन, युनेस्को, साईटिस्, सावेन, जि.टि.एफ.लगायत विश्व संघ संस्था र सन्धी सम्झौता बाधक भएका छन् प्रकृतिलाई तत्काल मासिहाल्नको लागि।

अर्को बाधक मानिएको छ, ऐतिहासिक संरक्षण खम्बा नेपाली सेनालाई। नेपाली सेना नहुदो हो त आई.यु.सि.एन. हारिसकेको हुने थियो। र, नेपाल निकुञ्ज तथा बाघ, गैंडा विहीन मरुभूमिमा रुपान्तरण भइसकेको हुने थियो।

वन सेवा अन्तर्गत ‘नेशनल पार्क एण्ड वाईल्डलाईफ समूह’ का ३ जना सहसचिवलाई प्रदेशमा खटाएर निकुञ्ज विभागमा विज्ञता नभएकालाई पठाउने खेल जुङ्गाले संकेत गरिसकेको छ। निकुञ्ज विभाग पंगु बनाउने र भत्काउने यो चालबाजी सबैले बुझिसकेका छन्। जुन पवित्र राष्ट्रिय दायित्वभित्रको अपवित्र षड्यन्त्र हो।

यस्तो हुनुपर्छ डिजी

यथाशक्य नियमानुसार र पूर्वनजिर मुतबिक नेशनल पार्क एण्ड वाईल्डलाईफ् समूहको डिजी नियुक्त होस् भन्ने सम्बन्धित सबैको रोजाइ हो। जसले निकुञ्जमा दशकौं लामो पसिना बगाएको छ उसलाई निकुञ्ज परिवार, बफरजोन जनसमुदाय, संरक्षण साझेदार संघसंस्था र विश्व संरक्षण संजालले चिने जानेको र पत्यार गरेको हुन्छ।

नेपाली सेनाले संगत, समन्वय, सहकार्य र विश्वास गरेको हुन्छ। उस्तै भुक्तभोगी त्यागी डिजीलाई वन्यजन्तु र ऐन कानूनले समेतले चिनेको हुन्छ। त्यस्तो डिजीको कमाण्ड कन्ट्रोल, पकड, प्रभाव र डेलिभरी तथा परिणाम सफल र सुन्दर हुन्छ। दशकौं त्याग गरेको अधिकारीलाई न्याय पनि हुन्छ । सबैलाई जितैजित्।

समूह बाहिरको डिजी भए के हुन्छ ?

विभागको संस्थागत धरातलको स्मरण (ईन्स्टिच्युसनल मेमोरी) हुँदैन। इतिहास न वर्तमान न भविष्य। कुहिराको काग र अरुको भरमा काम र निर्णय गर्नुपर्ने बाध्यता हुन्छ । न विभागका न फिल्ड र बफरजोनका स्टाफहरुले चिन्नजान्न पाएका हुन्छन्। फलतः कमाण्ड कन्ट्रोल, समन्वय, अनुगमन र कार्यसम्पादन फितलो र कमजोर हुन्छ।

हिनताबोध, अनविज्ञता तथा पराजित मनस्थितिले आउटडोर र फिल्ड चरित्रको डिजीलाई बन्द कार्यालयमा सीमित रहन बाध्य पार्दछ। फिल्ड आफ्नो लगाममा रहन सक्दैन । संरक्षणमा खटिएको नेपाली सेनाले टुहुरो र सौतेनी आमाको छोराको हिनता महशुस गर्ने छ। बाहिरको डिजी आएपछि टीमबिल्डिङ्ग र टीमवर्कको भावना सेलाउँदछ। कर्मचारीहरुको हौसला र मनोबल गिर्ने डर हुन्छ। विभागको यो कमजोरीको फाईदा उठाएर निकुञ्जविरुद्ध खेल्ने तत्व सक्रिय हुन्छन्।

राष्ट्रिय निकुञ्ज IUCN, UNESCO, CITES, SAWEN, GTF, GTRP, GSLEP, CBD, Transboundary Cooperation with India and China जस्ता अन्तर्राष्ट्रिय संघ–संस्थाको आधिकारिक निकाय भएको हुँदा नेपालको अन्तर्राष्ट्रिय छवि धमिलो हुने, पत्यार घट्ने, मन अमिलो हुने र नेपाललाई दिने आर्थिक, प्राविधिक सहयोगको मुहान सुक्ने उत्तिकै डर हुन्छ।

पृथक चरित्र र विरासत् बोकेको प्राविधिक प्रकृतिको विभाग नयाँ समूहको डिजीलाई घाँडो र पासो हुन सक्दछ। नयाँ डिजीले न मध्यवर्ती क्षेत्रका जनताको चाहना, मर्म र भावना बुझ्नु न त अवोध–बेसाहारा वन्यजन्तुको ? ती झन् दुःखी भएर लाखापाखा लाग्ने डर।

जमिनको सतह, जमिनमुनि, जमिनमाथि आकाशमा र पानीभित्रका जैविक विविधता जो भारत चीन नेपाल ओहोरदोहोर गरिरहन्छन् तिनको भाका र मर्म लहरै रुखमा टाँचा ठोक्ने कर्मचारीले कसरी बुझ्नु? न त अन्तर्राष्ट्रिय सम्पर्क ग्राफ बुझ्न र सम्बन्ध प्रगाढ गर्ने सूत्र नै थाहा हुन्छ। सबैको हारै हार।

अन्तर्राष्ट्रिय महासन्धिको कार्यान्वयन हुन नसकेमा नेपाल अन्तर्राष्ट्रिय दायित्वबाट विमुख हुने छ र आजसम्म कमाएको नाम छाप र इज्जत छिनमा स्वाहा हुने छ।
वन्यजन्तु संरक्षणको मर्म र धर्म नबुझेको कर्मचारीले वन्यजन्तु अपराध नियन्त्रण, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, वन्यजन्तु उद्धार केन्द्र, वन्यजन्तु अस्पताल, वन्यजन्तु ट्रान्स्लोकेशन र रिसर्च तथा प्राणी उद्यान व्यवस्थापन गर्ने अति नै प्राविधिक काम बुझ्न र सम्पादन गर्न कठिन हुनु स्वभाविक हो।

अन्तिम गुहार
तसर्थ, सम्भव भएसम्म सम्बन्धित समूहको विज्ञ डिजी विभाग र सरोकारवाला सबैलाई उपहारसरह हुने छ । अन्य समूहकोलाई कठिन पर्ने छ। तर अन्य समूहको डिजीको नेतृत्व अस्वीकार्य र असफल हुन्छ नै भन्न खोजिएको होइन। अपवाद सक्षम नेतृत्वहरु निश्चित हुन सक्दछन्। तर हक, अधिकार र प्राथमिकता अर्गानिक विज्ञ समूहको हो। यदि उनीहरु उपलब्ध र नेतृत्वलायक छन् भने।

विडम्बना, त्यही समूहका सक्षम र काबिल डिजीका उम्मेद्वारहरु हुँदाहुँदै र संरक्षण सरोकारवाला, संरक्षण साझेदार संघसंस्था, जन–प्रतिनिधि, सुरक्षाकर्मी सबैले माग गर्दागर्दै किन पाएनन्? नीति निर्माता जानून्।

संरक्षणको हिस्सेदार नेपाली सेनाको सैनिक नेतृत्व, राष्ट्रिय बाघ संरक्षण समितिका अध्यक्ष सरकार प्रमुख र जङ्गल डिउटीमा तैनाथ करिब १० प्रतिशत सेनाका परमाधिपतिले वनमा सही नेतृत्व, सक्षम प्रशासक र अति सक्षम कार्यकारी डिजी नियुक्तिको लागि आ–आफ्नो च्यानलबाट दबाब दिनु बाञ्छनीय हुनेछ।

किनकि झट्ट हेर्दा एउटा सहसचिवको नियुक्ति त हो नि भन्ने लागे पनि यो पदले नेपालको प्रकृति र संरक्षणको इज्जत बोकेर दुनियाँभरका लागि प्रतिनिधित्व गर्नुपर्ने हुन्छ।

अन्त्यमा, ज्यादै जायज र मनासिव माग पूरा हुँदैन र प्रकृति संरक्षणलाई प्रायोजितरुपमा समाप्त पार्ने षड्यन्त्र हुन्छ भने अनुभवी अग्रज पूर्वमहानिर्देशकहरु संगठित भएर वन मन्त्रालयको नेतृत्व र नभए सरकार प्रमुखसामु जानुपर्दछ प्रकृति संरक्षण रक्षाका खातिर।

जय प्रकृति संरक्षण ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *