एभर्टनले भित्र्यायो कोलम्बियन स्टार रोड्रिग्वेजलाई

डिसी नेपाल
२४ भदौ २०७७ २१:०९

काठमाडौं । स्पेनिस महारथी रियल म्याड्रिडमा ६ वर्षको बसाइ अन्त्य गर्दै कोलम्बियन स्टार मिडफिल्डर हामेस रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन । एभर्टनले रियलका २९ वर्षीय रोड्रिग्वेजलाई दुई वर्षको लागि २० मिलियन अनुबन्धित गरेको हो ।

एभर्टनले सोमबार राति एक एनिमेसन भिडियोमार्फत रोड्रिग्वेजलाई सार्वजनिक गरेका थिए । भिडियोमा रोड्रिग्वेजले म यहाँ छु, म खुसी छु, मलाई नीलो जर्सीमा गर्व छ,’ भनेका छन् । एभर्टनमा अनुबन्धित भएसँगै रोड्रिग्वेजले आफ्नो करियरमा नयाँ चुनौती थपिएको बताएका छन् । ‘राम्रो सुरुवात गर्न चाहन्छु । खुसी र उत्सुक छु । महत्तवाकांक्षा, समर्पण र प्रतिबद्धता पूरा गर्नेछु,’ रोड्रिग्वेजले भनेका छन् ।

सन् २०१४ को ब्राजिल विश्वकपमा उच्च प्रदर्शन गरेपछि रियलले हामेसलाई फ्रान्सेली क्लब मोनाकोबाट ६३ मिलियन पाउन्डमा अनुबन्धित गरेका थिए । हामेस त्यसपछि २०१७ मा बायर्न म्युनिखमा लोनमा अनुबन्धित भएका थिए । दुई सिजन लोनमा बायर्नमा बिताएपछि रोड्रिग्वेज गत सिजन रियल फर्किएका थिए । तर, पनि हामेसले प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा खेल्ने अवसर निकै कम पाएका छन् ।

उनले यो सिजन रियलबाट मात्रै १४ खेलमा अवसर पाएका छन् । उनले एक गोल गरेका छन् । रोड्रिग्वेजले एर्भटनका प्रशिक्षक कार्लो एन्सेलोटीको प्रशिक्षणमा रियल म्याड्रिड र जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने मौका पाएका थिए । रोड्रिग्वेजले दुई सिजन बायर्नबाट ६७ खेल खेल्दा १५ गोल गरेका छन् ।

रोड्रिग्वेजले रियलबाट १२५ खेलमा ३७ गोल गरेका छन् । उनले रियलबाट समान दुईपटक स्पेनिस ला लिगा, च्याम्पियन्स लिग, यूईएफए सुपरकप र फिफा क्लब वल्डकप जितेका छन् । एकपटक स्पेनिस सुपरकोपा जितेका छन् । यस्तै, बायर्न म्युनिखबाट दुईपटक बुन्डेसलिगा र एकपटक डिएफबी पोकल जितेका छन् । फ्रान्सेली क्लब मोनाको आउनुअघि तीन सिजन पोर्चुगिज क्लब पोर्टोमा बिताउदा तीनपटक पोर्चुगिज लिग र समान एकपटक युरोपा लिग, सुपर टाका र टाका डि पोर्चुगलको उपाधि जितेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *