चीनसँगको सीमामा खटिएका गोर्खालीको पहिचान मेटाउने भारतीय मिडियाको कपटी खेल !

डिसी नेपाल
२७ भदौ २०७७ १०:५२

काठमाडौं। भारत र चीनबीच बढिरहेको सीमा विवाद सुल्झाउन दुई देशले शुक्रबार बिहान ५ बुँदे सहमति गरे । तर, सहमतिको लिखित दस्तावेज सार्वजनिक भएकै दिन सीमा क्षेत्र लद्दाखको पेगोंग त्सो ताल क्षेत्रमा दुवै देशले सैनिक शक्ति बढाएको खबर आएका छन् । यसले दुई देशबीच सैन्य संघर्ष बढ्ने देखिएको छ । यही बीचमा भारतले यस क्षेत्रमा ‘विशेष शक्ति’ परिचालन गरेको छ ।

केही दिनअघि मात्र भारतले यस क्षेत्रमा गोर्खाली सैनिक परिचालन गरेको समाचार आएको थियो । प्राप्त जानकारी अनुसार यहाँ भारतले गोर्खाली सेनाको तीन बटालियन परिचालन गरेको छ । गोर्खा रेजिमेन्टको एक बटालियनमा १२०० सैनिक हुन्छन् । तीन बटालियन गरी कूल ३६०० गोर्खाली यस क्षेत्रमा परिचालन गरिएको बताइएको छ । अर्कोतर्फ भारतले यहाँ आफ्नो अर्को गोप्य सैन्य युनिट पनि परिचालन गरेको पाइएको छ ।

सेप्टेम्बर महिनाको सुरुवातमै भारत र चीनबीच भएको झडपमा एक जना भारतीय पक्षका सैनिकको मृत्यु भएको थियो । भारतको ‘स्पेसल फ्रन्टायर फोर्स’ वा ‘इस्टाब्लिसमेन्ट २२’ का सैनिक रहेका यी मृतक तिब्बती थिए । ५३ वर्षका तेन्जिन न्यीमाको ल्याण्डमाइन विष्फोटमा मृत्यु भएसँगै भारतले यस क्षेत्रमा ‘स्पेसल फ्रन्टायर फोर्स परिचालन गरेको प्रस्ट भएको छ । यो फोर्सका सदस्यहरु पनि तिब्बती र गोर्खालीहरु छन् । उनीहरुको हरेक अपरेशन गोप्य हुने भएकोले उनीहरुबारे धेरै जानकारी पाउन सकिँदैन ।

स्पेसल फ्रन्टायर फोर्स १९६२ मा स्थापना भएको हो । १९५९ मा स्वतन्त्र तिब्बतको आन्दोलन चलाएका दलाइ लामाको आन्दोलन असफल भएपछि उनी भागेर भारतमा शरण लिन आएका थिए । त्यही समयमा ठूलो संख्यामा तिब्बतीहरु पनि भारत आएका थिए । भारतले तिनै तिब्बतीहरुलाई चीनविरुद्ध प्रयोग गर्ने गरी इस्लाब्लिसमेन्ट २२ को स्थापना गरेको थियो । १९६२ मा चीनसँग युद्ध भएका बेला चीनसँगको सीमा क्षेत्रको उच्च पहाडी क्षेत्रमा अभ्यस्त तिब्बतीहरुलाई विशेष फोर्सका भर्ती गरेर यो फोर्स स्थापना गरिएको थियो ।

यो फोर्समा १९६५ देखि गोर्खालीहरु पनि भर्ती गर्न थालियो । नेपालको गोर्खाली समुदायको अनुहार र जीउडाल तिब्बतीहरुसँग मिल्छ । नेपालका मगर, गुरुङ, तामाङ, राई, लिम्बु लगायतका मंगोलियन समुदाय नै गोर्खाली हुन् र उनीहरुको तिब्बतीहरुको जस्तै चिम्सो आँखा, थेप्चो नाक हुन्छ । तिब्बतीहरुसँग अनुहार र जीउडाल मिल्ने मात्र नभइ नेपालको गोर्खाली समुदाय पनि उच्च पहाडी क्षेत्रमा रणकौशलमा दक्ष हुने भएकोले उनीहरुलाई पनि स्पेसल फ्रन्टायर फोर्समा भर्ती गर्न थालिएको थियो ।

अहिले भारतको चीनसँग सीमा विवाद बढिरहँदा उसको नेपालसँग पनि सीमा विवाद छ । नेपालसँग पनि सम्बन्ध बिग्रिएको अवस्थामा भारतीय मिडियाले अर्को कपटी खेल सुरु गरेका छन् । पछिल्लो हप्ता भारतीय ठूला मिडियाहरुले ‘स्पेसल फ्रन्टायर फोर्स’ (एसएफएफ) वा ‘इस्टाब्लिसमेन्ट २२’ के हो ? यो कसरी सुरु भयो ? भन्ने विषयमा विस्तृत रिपोर्ट प्रकाशित गरेका छन् । तर, यी रिपोर्टहरुमा एसएसएफमा नेपाली गोर्खालीहरु हुन्छन् भन्ने कुरा पूरै ‘गायब’ पारिएको छ । सबै भारतीय मिडियाहरुले एसएफमा तिब्बतीहरु मात्र हुन्छन् भनेर लेखेका छन् ।

तर, अमेरिकी मिडिया बिजनेस इनसाइडरले बिहीबार मात्र प्रकाशित गरेको रिपोर्टमा भने एसएफएफमा नेपाली गोर्खालीहरु हुन्छन् भन्ने प्रस्ट लेखेको छ । यतिमात्र होइन ४ वर्षअघि एसएसएफका जवानहरुको विषयमा प्रकाशित एक रिपोर्टमा हिन्दूस्तान टाइम्सले पनि १९६५ पछि एसएसएफमा गोर्खालीहरु भर्ती गर्न थालिएको प्रस्ट लेखेको छ । केही महिनाअघि भारतको हिन्दी दैनिक भास्करले पनि यो फोर्समा नेपाली गोर्खालीहरु हुने प्रस्ट लेखेको थियो । तर, अहिले भने भारतीय मिडियामा एसएसएफमा नेपाली गोर्खालीहरुको सहभागिताबारे सबै कुरा गायब पारिएको छ ।

भारतीय मिडियाहरुले तथ्यलाई बङग्याउनु नौलो कुरा होइन । केही समयअघि मात्र भारतीय पूर्व राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जी जीवितै हुँदा भारतीय मिडियाले उनीबारे अतिरञ्जित खबर प्रकाशित भएको भन्दै मुखर्जीका छोराले भारतीय मिडियाप्रति आक्रोश पोखेका थिए । उनले भारतीय मिडियालाई ‘फेक न्यूजको कारखाना’ भनेका दिए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरामा आफ्नो दावी पेश गरेपछि भारतीय मिडियाहरु नेपालविरुद्ध तुच्छ रुपमा खनिएका थिए । यतिमात्र होइन उनीहरुले उत्यन्तै गिरेर अपमानजनक र आपत्तिजनक रिपोर्टिङ पनि गरेका थिए ।

त्यतिबेला रिपब्लिक टेलिभिजनका सम्पादक अर्नब गोस्वामीको निकै आलोचना भएको थियो । यतिमात्र होइन इन्टरनेट प्रयोगकर्ताले सर्च इन्जिन गुगलमा गोस्वामीको बारेमा यतिसम्म टिप्पणी गरेका थिए कि अश्लील गालीलाई ‘कीवर्ड’ राखेर गुगलमा सर्च गर्दा अर्नब गोस्वामीको नाम आउने समेत स्थिति आएको थियो । प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे आपत्तिजनक रिपोर्ट प्रसारण गरेका जी न्यूजका सम्पादक सुधीर चौधरीले सार्वजनिक रुपमा माफी नै माग्नुपरेको थियो ।

अहिले पनि भारतीय मिडियाहरु पुनः कपटी खेलमा उत्रिएका छन् । भारतको रक्षाका लागि आफ्नो ज्यानै दिने गोर्खाली समुदायको पहिचानलाई मेटाउने र उनीहरुको योगदानको अवमूल्यन गर्ने फोहोरी खेलमा उनीहरु लागेका छन् । यो खेल सहजै सतही रुपमा देखिँदैन तर नजानिँदो पाराले उनीहरुले नेपालीको योगदानको अवमूल्यन गर्न थालेको उनीहरुका रिपोर्टको गहिरो अध्ययन गर्ने हो भने प्रस्ट हुन्छ । मिडियालाई आफ्नो नियन्त्रणमा लिएर आफ्नो वाहवाही गराउन रुचाउने भाजपा र मोदी सरकारले नै भारतीय मिडियालाई यसरी प्रयोग गरिरहेको बुझ्न सकिन्छ । किनकि पछिल्ला केही वर्षमा प्रस्ट भइसकेको छ – भारतीय मिडिया आफ्नो सरकारको आलोचना गर्न सक्दैनन् किनकि उनीहरुलाई सरकारले दानापानी दिएर पालिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *