नेपालीका ससुरा जापानको नयाँ प्रधानमन्त्री बने !

डिसी नेपाल
२९ भदौ २०७७ १३:३५

काठमाडौं। जापानको नयाँ प्रधानमन्त्री योशिहिडे सुगा निर्वाचित भएका छन् । सुगा जापानको प्रधानमन्त्री बन्नु नेपालको लागि पनि निकै महत्वपूर्ण छ किनकि उनी नाताले गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष भवन भट्टका काका ससुरा पर्छन् । सुगासँग भट्टको व्यक्तिगत सम्बन्धका कारण यसबाट नेपालले प्रत्यक्ष लाभ लिन सक्नेछ ।

डिसीनेपालसँग कुरा गर्दै भट्टले सुगा आफ्नी श्रीमतीका काका पर्ने भएको पुष्टि गरे । यसअघि सुगा गृहमन्त्री भएका बेला भट्टले उनलाई प्रत्यक्ष रुपमा भेटेका पनि थिए । सुगा प्रधानमन्त्री बनेपछि नेपाललाई के फाइदा होला भन्ने डिसीनेपालको प्रश्नमा भट्टले भने ‘उहाँ प्रधानमन्त्री हुँदा व्यक्तिगत रुपमा मलाई त धेरै नै खुसी लागेको छ । यसबाहेक ठूलो अर्थतन्त्र भएको देश जापान, जसले नेपालसहितका देशहरुलाई सहयोग समेत गर्दै आएको छ, त्यहाँको प्रधानमन्त्री मेरो आफन्त नै पर्दा पक्कै पनि त्यहाँबाट प्राप्त हुने सहयोग बढ्नेछ । नेपालले अझै धेरै क्षेत्रमा लाभ दिन सक्नेछ ।’

जापानमै रहेर व्यवसाय गरिरहेका भट्टले जापानी नागरिक मियकोसँग विवाह गरेका थिए । उनै मियकोका काका अहिले जापानको प्रधानमन्त्री बनेका हुन् । जापानको सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीले उनलाई नयाँ प्रधानमन्त्री छानेको छ । सोमबार भएको निर्वाचनमा सुगा प्रधानमन्त्री छानिएका हुन् । सुगा यसअघि ८ वर्षसम्म क्याबिनेट सचिव पनि थिए । सुगालाई यसअघिका प्रधानमन्त्री शिन्जो आबेका निकट मानिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *