लेबनानमा अलपत्र नेपालीलाई दोहा ट्रान्जिट हुँदै काठमाडौं ल्याइँदै

बिनेश खनाल
३० भदौ २०७७ १४:१६

काठमाडौं। लेबनानमा ७ महिनादेखि अलपत्र नेपालीलाई स्वदेश फर्काइने भएको छ। उनीहरुलाई कतारमा ट्रान्जिट गराएर काठमाडौं फर्काउन लागिएको इजिप्टका लागि नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले डिसी नेपाललाई जानकारी दिए। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले नै लेबनान मामिला हेर्ने जिम्मेवारी पाएको छ।

राजदूत अर्यालका अनुसार लेबनानमा समस्या परेका ४० जना नेपालीलाई स्वदेश फर्काउन लागिएको हो। ४० जनामा एक/दुई जना अरु पनि बढ्न सक्ने उनको भनाइ छ। उनीहरु १६ सेप्टेम्बर बुधबार स्थानीय समय अनुसार दिउँसो सबा १ बजे बेरुत अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको क्यूआर ४१७ नम्बरको उडानमार्फत दोहातर्फ उडनेछन्।

सो जहाज कतारी समय अनुसार बेलुकाको ६.१० बजे दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। दोहामा करिब ७ घण्टाको पर्खाइपछि उनीहरु स्थानीय समय बिहानको १ बजे कतार एयरवेजकै अर्काे विमानमार्फत काठमाडौंका लागि प्रस्थान गर्नेछन्। बिहीबार बिहान साढे ८ बजे उनीहरु काठमाडौं ओर्लिसक्नेछन्।

‘पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दी तथा कोभिडका कारण त्यहाँ सयौँ नेपालीको रोजगारी गुमेको छ। हालसालै भएको बेरुत विस्फोटले पनि त्यहाँ रहेका नेपालीको रोजगारी थप प्रभावित भएको छ। कतिपय नेपाली त आधा तलबमा काम गर्न बाध्य छन्,’ राजदूत अर्यालले कायोराबाट डिसी नेपालसँगको टेलिफोन कुराकानीमा भने, ‘रोजगारी गुमेपछि उहाँहरु पहिलेदेखि नै स्वदेश फर्किन खोज्नु भएको थियो। रोजगारी गुमाएर बेखर्ची भएर बसेकाहरुले अलग्गै चार्टर्ड उडान गरेर स्वदेश फर्किन सक्ने अवस्था पनि थिएन। उहाँहरुले नियमित उडानकै प्रतिक्षा गरेर बस्नु भएको थियो। दूतावासको पहलमा उहाँहरु बुधबार स्वदेश फर्कदैँ हुनुहुन्छ।’

पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दी तथा कोभिडका कारण त्यहाँ सयौँ नेपालीको रोजगारी गुमेको छ। हालसालै भएको बेरुत विस्फोटले पनि त्यहाँ रहेका नेपालीको रोजगारी थप प्रभावित भएको छ। कतिपय नेपाली त आधा तलबमा काम गर्न बाध्य छन्

दूतावासले विभिन्न निकायसँग पहल गरेपछि लेबनानमा अलपत्र परेका नेपाली फर्काउन सीसीएमसीले अनुमति दिएको उनले बताए।

फर्किन लागेका सबैजनाले आफ्नै खर्चमा टिकटको जोहो गरेका हुन्। क्रमश थप नेपालीलाई पनि फर्काइने राजदूत अर्यालको भनाइ छ। ‘त्यहाँबाट फर्किनु पर्ने अवस्थाका अरु नेपाली पनि हुनुहुन्छ। उहाँहरुलाई पनि क्रमश फर्काउने वातावण मिलाउने छौँ। अहिले प्राथामिकताका आधारमा ४० जनालाई फर्काउन लागिएको हो,’ उनले भने।

लेबनान रोजगारीको लागि जान सरकारले नै अनुमति दिएको श्रम गन्तव्य मुलुक हो। लेबनानमा करिब तीन हजारको हाराहारीमा नेपालीहरु कार्यरत रहेको एनआरएनए लेबनानको अनुमानित तथ्याङक छ। एनआरएनए लेबनानका अध्यक्ष अशोक थापाका अनुसार तीमध्ये अधिकांश घरेलु महिला कामदार हुन। त्यसबाहेक केही पुरुषहरु होटल, रेष्टुरेन्ट तथा कम्पनीहरुमा कार्यरत छन्।

लेबनानसँग नेपालको सिधा हवाइ उडान छैन । दुबई र दोहा ट्रान्जिट हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ। रोजगारी प्रभावित भएपछि उनीहरुको स्वदेश फर्किनु बाध्यता थियो। तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरु रोकिएका थिए।

रोजगारी गुमाएको लामोसमय बितिसक्दा आफूहरुलाई फर्काउन सरकारले चासो नदिएको उनीहरुकाे गुनासाे थियाे। आफ्नै खर्चमा टिकट काट्दासमेत जहाज नपाउँदा उनीहरु बिच्चलीमा परेका थिए।

लामो समयसम्म नेपाल फर्कन नपाएपछि उनीहरुले केहीदिनअघि लेबनानमा रहेको कन्सुलर अफिसमा पुगेर उद्धार गर्न भन्दै दवाव समेत दिएका थिए। कायरोस्थित नेपाली दूतावासले स्थानीय लेबनानी नागरिकलाई नेपाली कन्सुलरको रुपमा राखेको छ।

लेबनानमा अलपत्र परेका परेका उनीहरुको समस्या डिसी नेपालले शुरुआती दिनदेखि प्राथिमकतका साथ उठाइरहेको थियो। स्वदेश फर्किन पाएपछि खुशी हुँदै एक नेपाली युवतीले भनिन्, ‘हाम्रो तर्फबाट डिसी नेपाललाई धेरै धन्यावाद दिन चाहान्छौं। शुरुदेखि नै तपाईँहरुले लेबनानको साथीहरुको लागि कष्ट गरिदिनु भयो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *