बेरुतबाट अलपत्र नेपाली बोकेर उडयो कतार एयरवेज
काठमाडौं। लेबनानमा ७ महिनादेखि अलपत्र परेका नेपाली स्वदेश फर्किएका छन् । रोजगारी गमाएर अलपत्र परेका ४० जना नेपालीलाई लिएर कतार एयरवेजको जहाज दोहातर्फ उडेको एनआरएनए लेबनानकाअध्यक्ष अशोक थापाले बताए।
उनीहरुलाई बोकेर बुधबार स्थानीय समय अनुसार दिउँसो सबा १ बजे बेरुत अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहाका लागि जहाज उडेको हाे। सो जहाज कतारी समय अनुसार बेलुकाको ६.१० बजे दोहा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ। दोहामा करिब ७ घण्टाको पर्खाइपछि उनीहरु स्थानीय समय बिहानको १ बजे कतार एयरवेजकै अर्को विमानमार्फत काठमाडौंका लागि प्रस्थान गर्नेछन्। बिहीबार बिहान साढे ८ बजे उनीहरु काठमाडौं ओर्लिसक्नेछन्।
पछिल्लो समय लेबनानमा चुलिँदै गएको आर्थिक मन्दी तथा कोभिडका कारण त्यहाँ सयौँ नेपालीको रोजगारी गुमेको छ। हालसालै भएको बेरुत विस्फोटले पनि त्यहाँ रहेका नेपालीको रोजगारी थप प्रभावित भएको छ। कतिपय नेपाली त आधा तलबमा काम गर्न बाध्य छन् । उनीहरु पनि स्वदेश फिर्न चाहेका छन् ।
इजिप्टमा रहेको नेपाली दूतावासले विभिन्न निकायसँग पहल गरेपछि लेबनानमा अलपत्र परेका नेपाली फर्काउन सीसीएमसीले अनुमति दिएको थियो।
लेबनानसँग नेपालको सिधा हवाइ उडान छैन । दुबई र दोहा ट्रान्जिट हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ। रोजगारी प्रभावित भएपछि उनीहरुको स्वदेश फर्किनु बाध्यता थियो। तर, कोरोनाका कारण लकडाउन भएपछि उनीहरु रोकिएका थिए।
अहिले प्राथामिकताका आधारमा ४० जनालाई फर्काइएको कायरोस्थित नेपाली राजदूत झविन्द्रप्रसाद अर्यालले बताए । बाँकीलाई पनि क्रमश फर्काउने वातावण मिलाउने उनको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment