भारतसँगको सीमामा लाउडस्पिकरमा पंजाबी गीत किन बजाउँदैछ चिनियाँ सेना ?

डिसी नेपाल
१ असोज २०७७ ८:२३

काठमाडौं। भारतसँगको सीमा तनावका बीच चिनियाँ सेनाले भारतसँगको सीमा क्षेत्र लद्दाखमा लाउडस्पिकरमा पंजाबी गीत बजाउन थालेको छ । लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)को फिंगर ४ मा चिनियाँ सेनाले लाउडस्पिकर जडान गरेको छ । यसरी पंजाबी गीत बजाएर चीनले भारतमाथि दबाब बढाउने प्रयास गरिरहेको मानिएको छ । हिन्दूस्तान टाइम्सको एक रिपोर्टअनुसार चीनले जुन क्षेत्रमा लाउडस्पिकर जडान गरेको छ त्यो षेत्रलाई भारतीय सेनाले निरन्तर निगरानी गरिरहेको छ ।

खासमा यहाँ तैनाथ भारतीय सैनिकमा ठूलो संख्यामा शिखहरु छन् । उनीहरुलाई मानसिक रुपमा दबाबमा पार्न चीनले यसरी पंजाबी गीत बजाउन थालेको विश्वास गरिएको छ । फिंगर ४ यस्तो क्षेत्र हो जहाँ भारतीय र चिनियाँ सैनिकबीच टकरावको स्थिति बनेको छ । केही दिनअघि ८ सेप्टेम्बरमा यहाँ भारतीय र चिनियाँ सेनाले गोली नै चलाएका थिए । दुवै पक्षका सैनिकले सय राउण्डभन्दा धेरै गोली चलाएको बताइएको छ । पछिल्लो २० दिनमा पूर्वी लद्दाखमा भारतीय र चिनियाँ सैनिकबीच कम्तीमा ३ पटक गोलीबारी भएको छ ।

अहिले सीमा क्ष्ेत्रमा तैनाथ चिनियाँ लाउडस्पिकरले भारतीय सेनालाई जाडो हिउँदमा चिसो उच्च क्षेत्रमा तैनाथ हुनु व्यर्थ भएको सन्देश दिन थालेको छ । भारतका शीर्ष नेताहरु दिल्लीमा बसेर सेनालाई चिसो ठाउँमा खटाएको र त्यहाँ बाँच्नको लागि न्यूनतम आवश्यकता पनि पूरा नगरिदिएको सन्देश दिँदै चीनले भारतीय सैनिकहरुमा असन्तुष्टि सृजना गर्न खोजिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *