अमेरिकी राष्ट्रपतीय चुनावमा नेपाली समुदायलाई लोभ्याउँदै डेमोक्रेट्स

डिसी नेपाल
३ असोज २०७७ २३:३१

मेरिल्याण्ड। अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनका लागि मतदता आफूतर्फ आकर्षित गर्न डेमोक्रेट पार्टी र रिपब्लिकन पार्टीबीच प्रतिष्पर्धा चलिरहेको छ। डेमोक्रेट्सबाट जो बाइडेन उम्मेदवार छन् भने रिपब्लिकनबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प मैदानमा छन्।

अमेरिकामा रहेका नेपाली समुदायलाई आफूतर्फ आकर्षित गर्न दुई दलबीच प्रतिष्पर्धा चलिरहेका बेला डेमोक्रेट्सका शीर्ष नेताहरुले नेपाली समुदायलाई सम्बोधन गर्ने एक कार्यक्रमको आयोजना गरिएको छ।

नेपाली समुदायको भावना डेमोक्रेट्सले बुझ्ने भन्दै चुनावी र्यालीमा सहभागी हुन अमेरिकाको मेरिल्याण्ड राज्यका विधायक ह्यारी भण्डारीले आव्हान गरेका छन्। भण्डारी अमेरिकी चुनाव जित्ने पहिलो नेपाली हुन्।

आइतवार अमेरिकाको राजनीतिमा विशेष महत्व र पहुँच राख्ने डेमोक्रेट पार्टीका शीर्षस्थ व्यक्तित्वहरुले नेपाली अमेरिकनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘भर्चुअल र्यालीमा निर्वाचित जनप्रतिनिधीहरु तथा पार्टी पंक्तिवाट गरिने सम्बोधन कार्यक्रममा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौं।’

उक्त भर्चुअल र्यालीमा अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा प्रभावशाली भूमिका निर्वाह गरिरहेका सिनेटर क्रिश भ्यान होलेन अतिथि वक्ताको रुपमा सहभागी हुनेछन्। भण्डारीले भनेका छन्, ‘नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ।’ सन् २०१८ को मिड टर्म निर्वाचनमा डेमोक्रेट पार्टीको कंग्रेसनल उमेदवारहरुलाई विजयी गराउन गठित निर्वाचन समितिको संयोजक भएर तल्लो सदनमा डेमोक्रेट पार्टीको वर्चस्व कायम राख्न होलेनको महत्वपूर्ण भूमिका रहेको थियो।

कार्यक्रममा क्यालिफोर्नियाबाट कंग्रेसउमन रहकी लिन्डा टि सेन्जेन , मेरिल्याण्ड राज्यका विधायक एवं नेपाली मूलको पहिलो निर्वाचित सांसद ह्यारी भण्डारी ,डेमोक्रेट पार्टीको एशियन अमेरिकन पेसिफिक आईल्याण्डरकी अध्यक्ष वेल हङ्ग ,डेमोक्रयाट पार्टीका मेरिल्याण्ड राज्यका सचिव रोवि लियोनार्डले सम्वोधन गर्नेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *