विज्ञले पत्ता लगाए कोरोनाभाइरसबाट नेपालीको मृत्युदर कम हुनुको वैज्ञानिक कारण

डिसी नेपाल
८ असोज २०७७ १७:३९

मुम्बइ। कोरोनाभाइरसको संक्रमण अहिले विश्वभरी फैलिएको छ । नेपालमा बिहीबारसम्म ६९ हजार ३ सय जना संक्रमित भएका छन् । यीमध्ये ४५३ जनाको मृत्यु भएको छ । विश्वभरीको तथ्यांक हेर्दा तुलनात्मक रुपमा नेपालको मृत्युदर कम देखिएको छ । युरोप र अमेरिकी देशहरुको तुलनामा दक्षिणपूर्वी एसियाली देशहरुमा मृत्युदर कम छ । यसको पछाडि वैज्ञानिक कारण रहेको अध्ययनमा खुलासा भएको छ ।

बनारस हिन्दू विश्वविद्यालयको नेतृत्वमा गरिएको एक अध्ययनका अनुसार नेपाली, भारतीय, बंगलादेशी लगायत दक्षिणपूर्वी एसियाली देशका मानिसहरुको शरीरमा एउटा जीनको मात्रा अधिक छ जसका कारण उनीहरुको शरीरमा यो भाइरससँग लड्ने क्षमता पनि अधिक छ । यो जीनको मात्रा युरोप, अमेरिकी देशका मानिसहरुको शरीरमा भन्दा दक्षिणपूर्वी एसियाली देशका मानिसहरुको शरीरमा धेरै भएको अध्ययनमा खुलेको छ । यो जीनले शरीरमा कोरोनाभाइरसविरुद्ध प्रतिरोधी क्षमता बढाउँछ ।

विश्वविद्यालयका प्रोफेसर ज्ञानेश्वर चौबेको नेतृत्वमा ६ संस्थामा जेनेटिक विशेषज्ञहरु सम्मिलित विज्ञ टिमले विश्वका फरक फरक समुदाय र क्षेत्रमा कोरोनाभाइरसको प्रभाव र उनीहरुको शरीरमा पाइने जेनेटिक कुराहरुको विषयमा गरेको अध्ययन पब्लिक लाइब्रेरी अफ साइन्स (प्लस) को मेडिकल जर्नल प्लस वनमा प्रकाशित छ । अध्ययनका आधारमा टाइम्स अफ इण्डियामा प्रकाशित रिपोर्टअनुसार दक्षिण एसियाली क्षेत्रका मानिसहरुको शरीरमा एन्जियोटेन्सिन कन्भर्टिङ इन्जाइम–२ (एसीइ–२) जीन सर्वाधिक मात्रामा पाइएको छ । यो जीनले कोरोनाभाइरससँग लड्न शरीरलाई इम्युनिटी दिन्छ ।

अध्ययनका अनुसार यही जीनका कारण युरोपेली र अमेरिकी देशका मानिसहरुको तुलनामा दक्षिण एसियाली देशका मानिसहरु १२ प्रतिशत बढी सुरक्षित छन् । प्रोफेसर चौबेका अनुसार केही निश्चित क्षेत्र वा समुदायका मानिसहरुको शरीरको प्रतिरोधी क्षमताले यो भाइरसविरुद्ध काम नगरेको र केही क्षेत्रका मानिसहरुमा यसको प्रभाव निकै कम देखिएपछि यसबारे बुझ्नको लागि विश्वभरका मानिसहरुको जीनोम अध्ययन गरिएको बताए । प्रोफेसर चौबेका अनुसार यो अध्ययनमा अफ्रिका, युरोप, दक्षिण एसिया, दक्षिण पूर्वी एसियादेखि सायबेरियासम्मका मानिसहरुको अध्ययन गरिएको थियो ।

विश्वभरीका ४८३ मानिसहरुको जीनोम अध्ययन गर्दा दक्षिण एसियाका मानिसहरुको जीनोम दक्षिण पूर्वी एसियालीहरुको जीनोमसँग मेल खाएको पाइएको तथा युरोपेलीहरुको जीनोम अमेरिकीहरुको जीनोमसँग मेल खाएको पाइएको प्रोफेसर चौबेले बताए । इरानको जीनोम पनि युरोपका मानिसहरुसँग मिल्दो थियो । चौबेका अनुसार दक्षिण एसियाली मानिसहरुको शरीरमा म्युटेशन पनि अधिक थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *