अमेरिकाको प्रमुख अस्पतालको नेटवर्कमा इतिहासकै ठूलो साइबर आक्रमण

डिसी नेपाल
१३ असोज २०७७ ११:१०

काठमाडौं। अमेरिकाको एक प्रमुख अस्पतालको चेनमा सम्भवतः अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो साइबर आक्रमण भएको छ । अमेरिकाको युनिभर्सल हेल्थ सर्भिसेजको कम्प्युटर सिस्टममा आक्रमण भएको हो । यो अस्पताल चेनका ४ सयभन्दा बढी स्थानमा अस्पतालहरु संचालनमा छन् । यही सप्ताहान्तदेखि यो अस्पताल नेटवर्कका कम्प्युटरहरुले काम गर्न छाडेको र अस्पतालहरुले बिरामीको रेकर्ड कागज र कलमले लेखेर राख्न थालेको अस्पताल निकट स्रोतलाई उद्धृत गर्दै सिएनबीसीले लेखेको छ ।

युनिभर्सल हेल्थ सर्भिसेजलाई यसबारे जानकारीको लागि सम्पर्क गर्दा तत्कालै यसको जवाफ दिइएन तर पछि अस्पतालले आफ्नो वेबसाइटमा एक वक्तव्य प्रकाशित गरेको छ जसमा उसको कम्पनीको नेटवर्क प्राविधिक समस्याका कारण अहिले अफलाइन भएको उल्लेख छ । अस्पतालसँग सम्बन्धित एक व्यक्ति जो प्रेसमा यसबारे बोल्न आधिकारिक होइनन् उनले नाम उल्लेख नगर्ने गरी यो आक्रमण ‘रेन्समवेयर’जस्तो देखिएको बताएका छन् ।

रेन्समवेयर एक प्रकारको दूषित सफ्टवेयर हो जो कम्प्युटर नेटवर्कमा फैलिन्छ जसले फाइलहरुलाई ‘इन्क्रिप्ट’ अर्थात नखुल्ने गरी बन्द गरिदिन्छ र त्यसलाई ‘डिक्रिप्ट’ गर्नको लागि आवश्यक की (एक किसिमको पासवर्ड)को लागि पैसा माग्छ । यो ह्याकरहरुले प्रयोग गर्ने प्रचलित रणनीति हो तर मेडिकल सेवामा यो परिमाणको आक्रमण भने आम होइन । यही सेप्टेम्बरको सुरुवातमा जर्मनीको एक अस्पतालमा रेन्समवेयर आक्रमणपछि एक महिला बिरामीलाई अर्को अस्पताल सार्नुपरेको थियो जहाँ उनको मृत्यु भयो । सम्भवतः रेन्समवेयरका कारण भएको यो पहिलो मृत्यु हो ।

ह्याकरहरुले अस्पतालको सिस्टममा यही सप्ताहान्तदेखि रेन्समवेयर तैनाथ गरेका हुन् । उनहिरुले यसको लागि सप्ताहान्त नै पर्खेका थिए किनकि यो समयमा अस्पतालमा अत्यन्तै न्यून प्राविधिक स्टाफ हुन्छन् । मिडियालाई जानकारी दिन आधिकारिक नभएका दुई नर्सहरुले बताएअनुसार रेन्समवेयर आक्रमण सप्ताान्तसँगै सुरु भएको थियो र अस्पताल स्टाफले कलम र कागज पयोग गरेर रेकर्ड राख्नुपरेको थियो ।

नर्थ डाकोटाको एक अस्पतालमा काम गर्ने एक नर्सका अनुसार कम्प्युटरहरु पहिले काम गर्न ढिलो भएका थिए । आइतबार बिहानदेखि कम्प्युटरहरु खुल्नै छोडेका छन् । ‘आइतबार बिहानदेखि कम्प्युटरहरु पूरै बन्द भए’ उनले भनिन् । एरिजोनाको एक अस्पतालमा काम गर्ने नर्सले भनिन् ‘कम्प्युटरहरु आफैं बन्द हुन्थे ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *