साग स्वर्ण विजेता पार्वतीलाई भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्सेमा स्वर्ण

डिसी नेपाल
२७ असोज २०७७ १९:२२

काठमाडौं । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पार्वती गुरुङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगितामा स्वर्ण जितेकी छिन् । कागेश्वरी नगर खेलकुद विकास समिति र मूलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला तर्फ १८–३१ उमेरमा नेपाल प्रहरीकी पार्वती सर्वाधिक ७.४० अंक जोड्दै पहिलो भएकी हुन् । ७.२६ अंकसाथ स्युचाटारकी सन्जिला तिम्सिना दोश्रो भइन् । भोटेपुलकी स्वस्तिका तामाङ र चन्द्रमाकी सुशिला राईले तेश्रो स्थानमा सीमित भए । यो स्पर्धामा पार्वतीसहित शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं सागका स्वर्ण विजेता हुन् । सोही स्पर्धाको पुरुषमा मूलपानीका पुष्पप्रसाद गौतम पहिलो भए । उनले ६.१० अंक जोडे । ६.०३ अंकका साथ बागलुङका युकेश थापा मगर दोश्रो भए । सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजाङका विवेक राई र चितवनका मोहम्मद उमर खान तेश्रो बने ।

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन तथा युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भएको प्रतियोगिताको १८ वर्ष पुरुषमा १३ औं सागका कांस्यधारी अस्मिन राउतले पहिलो स्थान हात पारे । स्युचाटारका उनले ६.६३ अंक प्राप्त गरे । ५.७० अंक जोडेका मकवानपुरका कृष्णबहादुर बमजन दोश्रो भए भने चितवनका अब्बास खान र मूलपानीका विवेक श्रेष्ठ तेश्रो भए । त्यसै महिला तर्फको स्पर्धामा ६.१३ अंक जोड्दै स्युचाटारकी मोनिका रम्तेलले शीर्ष स्थान कब्जा गरिन् । ६.०६ अंकसाथ चितवनकी जैनथ खातुन दोश्रो भइन् । सैनिक आवसीय महाविद्यालयका रोशनी श्रेष्ठ र रिता श्रेष्ठ तेश्रो भईन । पुरुष ३१–४० उमेरमा ६.३० अंकसाथ बुटवलका सुरज श्रेष्ठले स्वर्ण चुमे । ६.०३ अंकमा बुटवलकै मदन थापा मगर दोश्रो भए । हीराहरि तेक्वान्दो डोजाङ, सिन्धुपाल्चोकका रमेश गुरुङ र यान्सुक तेक्वान्दो डोजाङका दुर्गामान तामाङ तेश्रो बने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *