भक्तपुरमा प्रहरीले फेक एनकाउन्टर गरेको मानवअधिकार आयोगको ठहर

डिसी नेपाल
३० असोज २०७७ २०:४९

काठमाडौं। ११ बर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या प्रकरणमा प्रहरीले फेक एनकाउन्टर गरेको राष्ट्रिय मानवअधिकार आयोगले ठहर गरेको छ। २०७५ मा प्रहरीले भक्तपुरको सूर्यविनायकको जंगलमा एनकाउन्टरमा अपहरणकारी मारिएको जनाएको थियो।

तर, मानवअधिकार आयोगले भने प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि गोली हानेर हत्या गरेको ठहर गरेको छ। आयोगले भनेको छ, ‘काठमाडौ काँडाघारी बस्ने ११ बर्षीय बालक निशान खड्काको अपहरण पश्चात हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकका गोपाल तामाङ र नुवाकोटका अजय तामाङलाई २०७५/४/२१ मा प्रहरीले भक्तपुर, सूर्य विनायक जंगलमा लगी गोली हानी मारेको र प्रहरीले दोहोरो झडप भएको बताएको उजूरीमा आयोगबाट गठित विशेषज्ञहरु सम्मिलित छानविन समिति समेतले पेश गरेको प्रतिवेदनउपर सुनुवाई हुँदा उक्त घटना दोहोरो झडप नभई आरोपित दुवैजनालाई नियन्त्रणमा लिए पश्चात गोली हानी मारिएको आयोगले ठहर गरेको छ।’

आयोगले उक्त घटनाबाट पीडित बालक निशान खड्काको परिवारलाई रु. ३ लाख क्षतिपूर्ति, गोपाल र अजय तामाङको परिवारलाई रु. १ लाख क्षतिपूर्ति र दोषी देखिएका तत्कालीन प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवर, प्रनानिहरु दिपेन्द्र चन्द, प्रशन्न मल्ल, रञ्जित लामा र प्रसनि राजन खड्कालाई कानूनमोजिम कार्वाहीको लागि सिफारिस गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *