तपाइँलाई थाहा छ ? रोहित शर्माले आइपिएलमा ह्याट्रिक गरेका छन्, त्यो पनि मुम्बइविरुद्ध !

डिसी नेपाल
१ कार्तिक २०७७ १४:०७

काठमाडौं। जारी इण्डियन प्रिमियर लिगको अंक तालिकाको शीर्षमा मुम्बइ इण्डियन्स छ । साविक विजेता मुम्बइ इण्डियन्स आइपिएलको सबैभन्दा सफल टिम हो । मुम्बइ इण्डियन्सले अहिलेसम्म २०१३, २०१५, २०१७ र २०१९ मा गरी ४ पटक लिगको उपाधि जितेको छ र चारै पटक मुम्बइ इण्डियन्सलाई उपाधि दिलाउने एउटै कप्तान हुन् रोहित शर्मा ।

रोहित शर्मा २०११ को सिजनमा मुम्बइ इण्डियन्समा आएका हुन् । २०११ मा रोहित मुम्बइ आएदेखि उनी २०१३ को सिजनको छैटौं खेलसम्म भारतीय स्टार सचिन तेन्दुलकर र अस्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङको कप्तानीमा खेले । २०१३ को सिजनमा ब्याट्सम्यानको रुपमा आफू चल्न नसकेपछि तत्कालीन कप्तान रिकी पोन्टिङले आफूलाई बेन्चमा राखेर रोहित शर्मालाई कप्तानी सुम्पेका थिए । सातौं खेलदेखि रोहितको कप्तानीमा खेलेको मुम्बइले त्यही सिजन पहिलो पटक आइपिएलको उपाधि जित्यो र अहिलेसम्म रोहितकै कप्तानीमा खेलिरहेको मुम्बइले ४ उपाधि जितिसकेको छ ।

मुम्बइ इण्डियन्सका कप्तान रोहित सामान्यतया बलिङ गर्दैनन् । उनले बलिङ गर्न छोडेको धेरै वर्ष भइसक्यो । तर के तपाइँलाई थाहा छ रोहित शर्माले पहिले बलिङ गर्थे । उनले आइपिएलमा बलिङ गरेर ह्याट्रिकसमेत लिएका छन् । त्यो खेलमा रोहितले ह्याट्रिकसहित ४ विकेट लिएका थिए । मात्रै २ ओभर बलिङ गरेका रोहितले ३ को इकोनोमीमा केवल ६ रन दिएका थिए । ब्याटिङमा समेत टिमको लागि सर्वाधिक रनको योगदान दिएका रोहित सो खेलमा म्यान अफ द म्याच भएका थिए । रोचक त के भने उनको यो दमदार स्पेल मुम्बइ इण्डियन्सकै विरुद्ध थियो जसका उनी अहिले कप्तान छन् ।

घटना ६ मे २००९ को हो । त्यतिबेला रोहित डेक्कन चार्जर्सबाट खेल्थे । २००८ मा आएपिएल सुरु भएदेखि २०१० को सिजनसम्म रोहित डेक्कन चार्जर्समा थिए । त्यस दिन डेक्कन चार्जर्स र मुम्बइ इण्डियन्सको खेल दक्षिण अफ्रिकाको सेन्चुरियनमा भइरहेको थियो । डेक्कन चार्जर्सका कप्तान एडम गिलक्रिस्टले टस जितेर ब्याटिङ रोजे । निर्धारित २० ओभरमा मुम्बइले ५ विकेटको क्षतिमा १४५ रन बनायो । रोहितले ३६ बलमा ३८ रन बनाए जुन उनको टिमका खेलाडीमध्ये सबैभन्दा धेरै स्कोर थियो ।

त्यो खेलमा मुम्बइ इण्डियन्सका कप्तान सचिन तेन्दुलकर थिए । मुम्बइका ओपनरहरु सचिन तेन्दुलकर र सनथ जयसूर्या दोस्रो ओभरमै आउट भए । दोस्रो ओभरसम्म मुम्बइले २ विकेटको क्षतिमा ७ रन मात्र बनाएको थियो । पन्ध्रौं ओभर सकिँदासम्म मुम्बइले १०० रन बनायो । यस बीचमा मुम्बइले २ जना ब्याट्सम्यानहरु पिनाल शाह (२९) र ड्वेन ब्राभो (१३) गुमाइसकेको थियो । दुवैलाई तिरुमलसेट्टी सुमनले आउट गरेका थिए ।

१६ औं ओभरमा कप्तान गिलक्रिस्टले रोहित शर्माको हातमा बल दिए, क्रिजमा अभिषेक नायर र जेपी डुमिनी थिए । दोस्रो ओभरमै चौथो ब्याट्सम्यानको रुपमा क्रिजमा आएका डुमिनी जमिसकेका थिए । ४८ रनमा खेल्दै थिए । रोहितले ओभरको चौथो बलमा अभिषेक नायरलाई बोल्ड गरे, अर्को बलमा नयाँ आएका ब्याट्सम्यान हरभजन सिंहलाई पनि बोल्ड गरे, उनको ओभर सकियो ।

१७ औं ओभर तिरुमलसेट्टी सुमनले गरेपछि अठारौं ओभरमा फेरि कप्तान गिलक्रिस्टले रोहितकै हातमा बल दिए । रोहितले ओभरको पहिलो बलमै जेपी डुमिनीलाई कप्तान तथा विकेटकिपर सिगलक्रिस्टकै हातबाट क्याच गराएर ह्याट्रिक पूरा गरे । सोही ओभरको तेस्रो बलमा रोहितले सौरभ तिवारीलाई पनि कप्तान गिलक्रिस्टकै हातबाट स्टम्पिङ आउट गराए । यी २ ओभरमा रोहितले मात्रै ६ रन दिएका थिए । त्यो खेलमा मुम्बइले १२६ रनमात्र बनाउन सकेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *