तीन पटकको च्याम्पियन चेन्नइ पहिलो पटक प्लेअफ पुग्न नसक्ने खतरा, हारपछि धोनीले के भने ?

डिसी नेपाल
४ कार्तिक २०७७ १०:१२

काठमाडौं। इण्डियन प्रिमियर लिगमा ३ पटकको विजेता चेन्नइ सुपरकिंग्स यस सिजन प्लेअफसम्म पनि पुग्न नसक्ने खतरा देखिएको छ । चेन्नइले १० खेल खेल्दा ३ खेलमात्र जितेर अंक तालिकाको अन्तिममा छ । चेन्नइले अब बाँकी सबै खेल जितेमा पनि उसको १४ अंक मात्र हुन सक्छ । जबकि ९ खेलमात्र खेलेको दिल्ली क्यापिटल्सको १४ अंक पुगिसकेको छ र ऊ तालिकाको शीर्ष स्थानमा छ ।

अब चेन्नइले बाँकी सबै खेल जित्दैमा प्लेअफ पुग्न सक्दैन । यसका लागि अन्य टिमहरुको नतिजा समेत चेन्नइले चाहेजस्तो भयो भने मात्र चेन्नइ प्लेअफ पुग्न सक्छ । अर्थात प्लेअफ पुग्नका लागि ऊसँग प्रतिस्पर्धामा रहने टिमले हारिदिएमा र अझै केही खेलहरुमा त चेन्नइलाई अनुकूल हुने गरी ठूलो अन्तरले हारिदिएमा मात्र चेन्नइको बाटो सहज हुन सक्छ ।

यदि यो सिजन चेन्नइ प्लेअफ पुग्न सकेन भने आइपिएलको १३ वर्षको इतिहासमा यो पहिलो पटक हुनेछ । यसअघि चेन्नइ सुपरकिंग्स हरेक सिजन आइपिएलको प्लेअफ पुगेको छ । दुई सिजन भने चेन्नइ प्रतिबन्धमा परेको थियो । र, चेन्नइका कप्तान महेन्द्र सिंह धोनीको लागि सम्भवतः प्लेअफ पुग्न नसकेको यो दोस्रो पटक हुन सक्छ । यसअघि २०१६ मा धोनी राइजिङ पुणे सुपरजाइन्टसमा हुँदा प्लेअफ पुग्न सकेका थिएनन् ।

हिजो आफ्नो १० औं खेलमा चेन्नइ राजस्थान रोयल्ससँग पराजित भयो । यससँगै चेन्नइको प्लेअफ पुग्ने सम्भावना अत्यन्तै कठिन मोडमा पुगेको छ । जारी सिजनको सातौं हारपछि चेन्नइका कप्तान महेन्द्र सिंह धोनीले आफ्नो टिमले परिणाम भन्दा पनि प्रक्रियामा ध्यान दिनुपर्ने आवश्यकता भएको बताएका छन् । उनले यसको लागि आगामी खेलहरुमा ठोस कदम उठाउनुपर्ने बताएका छन् ।

धोनीले हिजोको खेलपछि भने ‘परिणाम सधैं आनफ्नो अनुकूल हुँदैन । हामीले प्रक्रियामा के गलत थियो भन्ने हेर्नुपर्छ । परिणाम यही प्रक्रियाको नतिजा हुन्छ । यही सत्य हो कि यदि तपाइँ प्रक्रियामा ध्यान केन्द्रित राख्नुहुन्छ भने परिणामलाई लिएर टिममाथि अनावश्यक दबाब पर्दैन । हामी यसलाई सुल्झाउने प्रयास गरिरहेका छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *