आइपिएलः दिल्लीमा आए नयाँ लेगस्पिनर, सन्दिपको यो सिजन बेन्चमै बित्ने सम्भावना

डिसी नेपाल
४ कार्तिक २०७७ ११:५५

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) को जारी सिजनमा दिल्ली क्यापिटल्सले नयाँ लेगस्पिनर भित्र्याएको छ । चोटका कारण आइपिएलबाट बाहिरिएका अमित मिश्राको ठाउँमा दिल्लीले नयाँ लेग स्पिनर प्रविण दुबेलाई ल्याएको छ । दुबे रणजीस् ट्रफीमा कर्नाटकाबाट खेल्छन् र अहिलेसम्म १४ टि–२० मा १६ विकेट लिइसकेका छन् ।

दिल्ली क्यापिटल्समा नेपाली खेलाडी सन्दिप लामिछाने समेत आबद्ध रहेकोले यो टिमप्रति नेपालीको चासो बढी छ । यो टिमले नयाँ लेगस्पिनर ल्याएसँगै सन्दिपले अवसर पाउने सम्भावना कम हुनेतर्फ पनि धेरैको चासो छ । यद्यपि बाँकी खेल र दिल्लीको अहिलेको प्लेइङ ११ को प्रदर्शन हेर्दा दुबेले प्लेइङ ११ मा स्थान पाउने सम्भावना कम छ । यस्तै सन्दिप पनि प्लेइङ ११ मा पर्ने सम्भावना कम छ ।

सन्दिपको कुरा गर्दा आइपिएलमा एक टिमले ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाउने नियमका कारण सुरुको प्लेइङ ११ मा उनी टिममा थिएनन् । दिल्लीले सुरुमा विदेशी खेलाडीको कोटामा दुई फास्ट बलरहरु कागिसो रबाडा र एनरिच नोर्टजे, अलराउण्डर मार्कुस स्टोइनिस र ब्याट्सम्यान शिमरन हेटमेयरलाई उतारेको थियो । दिल्लीले सकेसम्म यो सेट परिवर्तन गरेन तर दशौं खेलसम्म आइपुग्दा यो सेट फेरिएको छ ।
दिल्लीको विदेशी खेलाडीको सेट फेरिनुको कारण ऋषभ पन्त घाइते हुनु हो । पन्त घाइते भएपछि दिल्लीले अनिवार्य एक जना विकेटकिपर टिममा ल्याउनुपर्ने थियो र उसले एलेक्स केरीलाई टिममा ल्यायो । केरी अस्ट्रेलियाका हुन् र उनी टिममा आउनासाथ विदेशी खेलाडी ५ जना भएपछि दिल्लीले शिमरन हेटमेयरलाई बेन्चमा राखेर अजिंक्या राहाणेलाई टिममा ल्यायो ।

दिल्ली आफ्ना विदेशी खेलाडीको सेट परिवर्तन गर्ने मुडमा देखिँदैन । कागिसो रबाडा, एनरिच नोर्टजे र मार्कुस स्टोइनिस पहिलेदेखि नै फर्ममा छन् । सुरुवाती खेलमा फर्कमा नरहेका हेटमेयर पछिल्लो खेलमा फर्कमा देखिएका थिए यद्यपि त्यही खेलमा ऋषभ पन्त घाइते भएपछि एलेक्स केरीलाई ल्याउनुपर्दा दिल्लीले हेटमेयरलाई बेन्चमा राख्नुपरेको थियो ।

अहिले पन्त प्रशिक्षणमा फर्किइसकेका छन् । आजको खेलमा उनी खेल्छन् वा खेल्दैनन् भन्ने निश्चित छैन तर उनी प्लेइङ ११ मा फर्किन सक्ने सम्भावना भने बलियो छ । यस्तो भएमा दिल्लीले केरीलाई बेन्चमा राखेर पन्तलाई ल्याउनेछ । यस्तो अवस्थामा प्लेइङ ११ मा एक विदेशी खेलाडीको ठाउँ रहनेछ ।

पछिल्ला ३ खेल खेलेका अजिंक्या राहाणे पटक्कै फर्ममा छैनन् । उनले मुम्बइ इण्डियन्ससँग १५ बलमा १५ रन, राजस्थान रोयल्ससँग ९ बलमा २ रन र चेन्नइ सुपरकिंग्ससँग १० बलमा ८ रन गरी ३ खेलमा २५ रन मात्र बनाउन सकेका छन् । यस्तोमा पन्त फर्किने अवस्थामा दिल्लीले सम्भवतः राहाणेलाई बेन्चमा राखेर शिमरन हेटमेयरलाई नै मैदानमा उतार्न सक्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *