मेस्सीले बार्सिलोना छाड्ने नै हुन् ? सिनियर खेलाडीको सम्झौता नवीकरण हुँदा मेस्सीको भएन

डिसी नेपाल
५ कार्तिक २०७७ १३:०४

काठमाडौं। बार्सिलोनाले ४ जना सिनियर खेलाडीको सम्झौता नवीकरण गरेको छ । तर, यसरी नवीकरण हुने खेलाडीमा लियोनेल मेस्सी छैनन् । यससँगै मेस्सीले यो सिजनको अन्त्यपछि बार्सिलोना छाड्न सक्ने अनुमान गरिएको छ । मेस्सीले अघिल्लो सिजन सकिएपछि नै बार्सिलोना छाड्ने प्रयास गरेका थिए तर उनको रिलिज क्लज अत्यन्तै महंगो भएकोले उनलाई अर्को क्लवमा लैजाने प्रयास सफल हुन सकेको थिएन ।

बार्सिलोनाले मंगलबार गेरार्ड पिक, गोलकिपर मार्क आन्द्रे टेर स्टेगन, क्लेमेन्ट लेंगलेट र फ्रेंकी डि जोंगको सम्झौता नवीकरण गरेको छ । पिकको सम्झौता २०२४ सम्म लम्ब्याइएको छ । अब पिकले बार्सिलोनामा सम्झौता पूरा गरेर बाहिरिँदा उनको उमेर ३७ वर्षको भइसकेको हुनेछ । उनको रिलिज क्लज ५०० मिलियन युरो तोकिएको छ ।

स्पेनिस मिडिया मार्काका अनुसार टेर स्टेगनको पनि रिलिज क्लज ५०० मिलियन युरो राखिएको छ र उनको सम्झौता अवधि जून २०२५ सम्मको लागि लम्ब्याइएको छ । लेंगलेट र फ्रेंकी डि जोंगको सम्झौता २०२६ सम्मका लागि थपिएको छ । लेंगलेटको रिलिज क्लज ३०० मिलियन युरो र डि जोंगको रिलिज क्लज ४०० मिलियन युरो तोकिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *