झाँक्रीपानीमा पूर्वाधार बनेपछि पर्यटक आकर्षित

डिसी नेपाल
११ कार्तिक २०७७ २२:३६

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–३ स्थित झाँक्रीपानीलाई पर्यटकीय गन्तव्य बनाउन ७० लाखभन्दा बढीको लागतमा पूर्वाधार निर्माण भएको छ । गाउँपालिका, प्रदेश सरकार र समुदायको सहकार्यमा उक्त पूर्वाधार तयार भएपछि यहाँ पर्यटक आकर्षित हुन थालेका छन् ।

पूर्वाधार विकाससँगै सो स्थानमा २२ घरमा पाहुनालाई खानेबस्ने सुविधाका लागि घरबास (होमस्टे)सञ्चालन हुने भएको छ । घरबास सञ्चालन गर्न गण्डकी प्रदेश सरकारले दश लाख र गाउँपालिकाले एक लाख ४४ हजार रुपैयाँ सहयोग गरेको छ । बन्दोबस्तीका सामान खरिद र खानेपानी व्यवस्थापनमा सो बजेट परिचालन भएको होमस्टे सञ्चालक समितिका अध्यक्ष कोमल थापाले बताए। होमस्टेमा दैनिक चालीस जना बास बस्न सक्ने क्षमता छ ।

पर्यटकका लागि झाँक्रीपानीमा दृष्यावलोकनस्थल (भ्यु टावर) निर्माण भएको छ । गाउँपालिकाको रु। २५ लाख अनुदान र रु. ७ लाख बराबरको श्रमदानमा टावर बनाइएको हो । तीनतले भ्यु टावर १४ मिटर अग्लो भएको गाउँपालिकाका प्राविधिक विपीन आचार्यले बताए ।

टावर निर्माण गर्न स्थानीय दलबहादुर र नरमाया छन्त्यालले एक रोपनी नौ आना जग्गा उपलब्ध गराएका थिए । गाउँपालिकाले रु. २८ लाख खर्च गरिसकेको सामुदायिक भवनलाई रङ्गरोगन र फर्निचर व्यवस्थापनका लागि चालू आवमा थप रु। तीन लाख पचास हजार विनियोजन गरेको छ । सो भवनमा पाहुनालाई राखेर स्वागत र स्थानीय संस्कृति देखाउन प्रयोग गरिनेछ ।

पालिकाका उपाध्यक्ष सिर्जना केसीले गाउँपालिकाले बाबियाचौरदेखि झाँक्रीपानी जोड्ने सडक स्तरोन्नति र पुलचोक–नेटा हुँदै पदमार्ग निर्माण योजनालाई निरन्तरता दिएको बताए । स्थानीयवासी सोम छन्त्यालले सडक, पदमार्ग, भ्यु टावर, होमस्टे (घरबास) सुविधासँगै झाँक्रीपानीमा पर्यटक यहाँ आकर्षित भएको बताए ।

समुद्री सतहदेखि दुईहजार पाँच सय ७० मिटर उचाइमा अवस्थित झाँक्रीपानीयबाट धौलागिरी, गुर्जा, मानापाथी, निलगिरी, अन्नपूर्ण, माछापुच्छे रेञ्जका १६ भन्दा बढी हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ ।

सूर्योदय, सूर्यास्त, वरपरका गुराँसको जंगल, त्यहाँबाट देखिने म्याग्दीका ३० भन्दा बढी बस्ती, संस्कृति र ग्रामिण जिबनशैली थप आकर्षण भएको बेनीबाट झाँक्रीपानी घुम्न गएका कृष्ण जिसीले बताए।

बेनी नगरपालिका–४ राक्सेकी हीरा शर्माले झाँक्रीपानीको प्राकृतिक सौन्दर्यले मोहित बनाएको अनुभव सुनाए । बेनीदेखि गाडीमा एक घण्टा ३० मिनेट, तातोपानी र बाबियाचौरदेखि तीन घण्टा पैदल यात्रा गरेर झाँक्रीपानी पुगिन्छ ।

परापूर्वकालमा झाँक्रीले तिर्खा लागेर आफूले टेकेको लट्ठी गाड्दा पानीको मूल फुटेकाले झाँक्रीपानी नाम रहन गएको स्थानीयवासी दर्पण रोकाले बताए । झाँक्रीपानीमा २०६७ मा महोत्सव आयोजना गरेका बरंजाबासीले म्युजिक भिडियो समेत तयार पारेका छन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका द्वितीय उपाध्यक्ष राजेश शाक्यले झाँक्रीपानीमा बाह्यपर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको बताए। उनका अनुसार रत्नेचौर–भकुण्डे–बेलढुङ्गा–गम्फाको धुरी–झाँक्रीपानी–निस्कोट बराह–दुर लेक–सोलेडाडा–देवीस्थान हुदै ताकमकोत जोड्ने पर्यटन पदमार्गको परिकल्पनासमेत गरिएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *