डोल्पाको नाकाबाट फर्काइँदै पर्यटक

डिसी नेपाल
१९ कार्तिक २०७७ २२:३५
48
Shares

डोल्पा । हिमाली जिल्ला डोल्पाका सीमावर्ती नाकाबाट धमाधम आन्तरिक पर्यटकहरु फर्काउन थालिएको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिमलाई ध्यान दिएर उच्च सतर्कता अपनाउन कोरोना परीक्षण रिपोर्ट बिनानै नाकामा पुगेका पर्यटकहरु फर्काइएको हो ।

हालसम्म खदाङ्ग नाकाबाट केही आन्तरिक पर्यटक फर्काइएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सबैको प्रयासले डोल्पालाई अझैसम्म सुरक्षित राख्न सफल भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए ।

“जिल्लाका सीमानाकामा कडाई गरेका छौँ, कोरोना परीक्षण रिपोर्ट नल्याएका पर्यटकलाई फर्काइएको छ, जिल्लाका नागरिकलाई कोरोना परीक्षण रिपोर्ट सहित होम क्वारेन्टाइनमा बस्ने शर्तमा मात्रै प्रवेश गर्न दिएका छौ”, प्रजिअ सुनारले भने, “ डोल्पा घुम्न आएका पर्यटकलाई ७२ घण्टा अघिको कोरोना परीक्षण रिपोर्ट सहित आफ्नै खर्चमा क्वारेन्टिनमा बस्ने शर्तमा जिल्ला प्रवेश गर्न दिन सकिन्छ, सकभर कोरोना कहरमा आफू पनि सुरक्षित हुने र अरुलाई पनि सुरक्षित राख्नु पर्ने भएकाले डोल्पा नआउन आग्रह गर्दछौँ ।”

सडकमार्गबाट मात्रै नभई जहाजबाट डोल्पा आउने नागरिकलाई समेत सुरक्षाकर्मीको निगरानीमा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर अनिवार्य होम क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाइएको प्रजिअ सुनारको भनाइ छ ।

गत असोज पहिले सातानै जिल्लामा सरोकारवालाहरुको उपस्थितिमा जिल्ला प्रवेशमा रोक लगाउने निर्णय सहित पटक–पटक सूचना प्रकाशन गरेपनि धमाधम पर्यटक भने आइरहेकाछन् ।जिल्लाका फोक्सुण्डो ताल र झरना, त्रिपुरासुन्दरी मन्दिर, उपल्लो डोल्पा लगायतका ठाउँको अवलोकन गर्न काठमाडौँ, पोखरा, झापा लगायतका ठाउँबाट पर्यटक आउने गरेका छन् । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *