चितुवा गणनाका लागि क्यामरा जडान शुरु

रासस
२३ कार्तिक २०७७ २०:०६

दमौली । तनहुँको भानु नगरपालिकास्थित सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु भएको हो ।

भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु–४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुई÷दुई क्यामरा जडान गरिएको बरालले जानकारी दिए । बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ ।

चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानु नपामा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो । “चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ,” बरालले भने, “१५ दिनको अवधिमा यहाँ रहेका चितुवा र चितुवाको आहारा प्रजातिको गणना कार्य गर्छौ ।”

पछिल्लो दुई वर्षको अवधिमा भानु नगरपालिकाका विभिन्न वडामा सात बालबालिकाको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए ।

बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुई सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । “चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ,” बरालले भने ।

क्यामरा जडानका लागि बरालको नेतृत्वमा आएका दुई प्राविधिक र डिभिजन वन कार्यालय तनहुँका कर्मचारीले सहयोग पु¥याएका छन् । बरालका अनुसार क्यामराको अगाडी आउने सबै चिजको तस्वीर क्यामरामा कैद हुनेछ ।

उनका अनुसार चितुवा गणनाबाट चितुवा र आहारा प्रजातिको सङ्ख्या पत्ता लगाउन सहयोग पुग्ने भएकाले भोलिका दिनमा वन्यजन्तुको बासस्थान व्यवस्थापन कसरी गर्ने भन्ने पत्ता लगाउन सहयोग पुग्छ । बरालका अनुसार यस अवधिमा चितुवाको ताजा दिसा सङ्कलन गरी त्यसको डिएनएन परीक्षण गर्ने पनि तयारी गरिएको छ ।

क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । मजुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण अधिकारीले भानुवासी चितुवाको आतङ्कबाट त्रसित रहेको अवस्थामा यस कार्यले कति चितुवा छन् भन्ने यकिन हुने भएकाले यो कार्य निकै उदाहरणीय रहेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *