मुम्बइ इण्डियन्सका अद्भूत संयोगहरुः पहिलो पटक फाइनलमा विपक्षमा धोनी छैनन्

डिसी नेपाल
२५ कार्तिक २०७७ १२:३८

काठमाडौं। इण्डियन प्रिमियर लिगमा आज उपाधिको लागि मुम्बइ इण्डियन्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । आइपिएलको इतिहासमा मुम्बइ सबैभन्दा सफल टिम हो र सम्भवतः दिल्ली सबैभन्दा असफल टिम हो । मुम्बइले अहिले छैटौं पटक फाइनल खेल्दैछ । यसअघि ५ पटक फाइनल खेलेको मुम्बइले ४ पटक उपाधि जितेको छ । दिल्ली भने २००८ र २००९ सिजनमा सेमिफाइनल, २०१२, २०१९ र २०२० मा प्लेअफसम्म पुगेको छ । उसले फाइनल खेल्न लागेको यो पहिलो पटक हो ।

मुम्बइको यसअघिका ५ फाइनलमा एउटा रोचक संयोग छ । उसले यसअघि पाँचै पटक फाइनलमा महेन्द्र सिंह धोनीविरुद्ध खेलेको छ । ५ मध्ये एक फाइनलमा धोनी टिमका विकेटकिपर ब्याट्सम्यान त थिए तर कप्तान थिएनन् । यसअघिका ५ फाइनलमध्ये जितेका ४ फाइनलमा मुम्बइका कप्तान रोहित शर्मा थिए । हारेको फाइनलमा भने रोहित मुम्बइ इण्डियन्सको टिममै थिएनन् ।

यसअघि २०१० मा मुम्बइले चेन्नइ सुपरकिंग्सविरुद्ध फाइनल खेलेको थियो । त्यतिबेला रोहित मुम्बइमा नभइ डेक्कन चार्जर्समा थिए । त्यो सिजन डेक्कन चार्जर्स पनि सेमिफाइनलमा चेन्नइ सुपरकिंग्स अर्थात धोनीसँग नै हारेर बाहिरिएको थियो । त्यो फाइनलमा मुम्बइका कप्तान सचिन तेन्दुलकर थिए । फाइनलमा चेन्नइले मुम्बइलाई २२ रनले पराजित गरेको थियो ।

२०११ को सिजनमा मुम्बइ आएका रोहित शर्मा पहिले सचिन तेन्दुलकर र त्यसपछि रिकी पोन्टिङको कप्तानीमा खेलेका थिए । २०१३ को सिजनको बीचमा रिकी पोन्टिङले मुम्बइको कप्तानी छोडेर रोहितलाई सुम्पिए । त्यसपछि रोहितको कप्तानीमा मुम्बइले पहिलो पटक आइपिएलको उपाधि जित्यो । संयोगले २०१३ को फाइनलमा पनि मुम्बइ इण्डियन्सले चेन्नइ सुपरकिंग्ससँगै खेलेको थियो । विपक्षी कप्तान धोनी नै थिए ।

२ वर्षपछि २०१५ मा पनि मुम्बइ इण्डियन्स फाइनल पुग्यो र फाइनलमा फेरि विपक्षी टिम चेन्नइ सुपरकिंग्स नै थियो र विपक्षी कप्तान धोनी नै थिए । यो सिजनमा चेन्नइलाई ४१ रनले हराउँदै मुम्बइले दोस्रो आइपिएल उपाधि जित्यो । त्यसको २ वर्षपछि २०१७ मा पनि मुम्बइ फाइनल पुग्यो । त्यो सिजन चेन्नइ सुपरकिंग्स प्रतिबन्धमा परेको थियो । तर, संयोगले यो सिजन फाइनलमा मुम्बइको विपक्षी टिम राइजिङ पुणे सुपरजाइन्टसमा पनि विकेटकिपर ब्याट्सम्यान धोनी नै थिए । त्यो सिजन पुणेका कप्तान भने स्टिभ स्मिथ थिए ।

२०१७ मा पुणेलाई फाइनलमा हराएर उपाधि जित्दा मुम्बइले मात्रै १ रनको झिनो अन्तरले जितेको थियो । त्यसको २ वर्षपछि फेरि मुम्बइ फाइनल पुग्यो । यो सिजन चेन्नइ सुपरकिंग्स प्रतिबन्धबाट फुकुवा भएर फर्किइसकेको थियो र संयोगले चेन्नइ नै फाइनलमा पुग्यो । यो सिजन पनि चेन्नइका कप्तान धोनी नै थिए र धोनीलाई नै हराएर रोहित शर्माले चौथो उपाधि जिते । अद्भूत संयोग त के भने २ वर्षअघि जस्तै २०१९ मा पनि मुम्बइले चेन्नइलाई मात्रै १ रनको अन्तरले नै हराएको थियो ।

छैटौं पटक फाइनल खेल्दै गर्दा भने मुम्बइको अगाडि धोनी हुने छैनन् । छैटौं फाइनलमा आइपुग्दा मात्रै मुम्बइले विपक्षमा धोनीलाई पाउने छैन । तर, रोहित शर्माको विपक्षमा ती दिग्गज खेलाडी हुनेछन् जसको कप्तानीमा रोहित पहिले मुम्बइका लागि खेलेका थिए र जसले रोहितलाई कप्तानी सुम्पिएका थिए, अर्थात रिकी पोन्टिङ । आज फाइनलमा मैदानमा उत्रिँदै गर्दा दिल्लीका कप्तान श्रेयस अय्यर रोहितको अगाडि हुनेछन् तर श्रेयसको खेल रणनीति भने रिकी पोन्टिङको प्रशिक्षणमा आधारित हुनेछ । रिकी अहिले दिल्लीका कोच छन् ।

पहिलो पटक धोनी नभएको विपक्षी टिमसँग खेल्दै गर्दा मुम्बइको साथमा उसको अर्को अनौठो संयोग समेत साथमा हुनेछ । त्यो संयोग हो बिजोर वर्ष । मुम्बइले हरेक आइपिएल उपाधि बिजोर वर्षमा जितेको छ । यसअघिका ५ फाइनलमध्ये ४ फाइनलहरु (२०१३, २०१५, २०१७ र २०१९) उसले बिजोर वर्षमा खेलेर जितेको छ । मुम्बइले एक पटक मात्रै जोर वर्षमा फाइनल खेलेको छ । २०१० को त्यो फाइनल उसले हारेको थियो । अहिले २०२० अर्थात जोर वर्ष हो । मुम्बइको यो जोर बिजोरको संयोग आजको खेलमा लागू होला कि नहोला ? आज बेलुका यो पनि थाहा हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *