आइपिएलको उपाधि जितेर पनि रोहित शर्मालाई पछुतो !

डिसी नेपाल
२६ कार्तिक २०७७ १५:२३

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि मुम्बइ इण्डियन्सले जितेको छ । फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बइले आइपिएल इतिहासमा आफ्नो पाँचौं उपाधि जितेको हो । डिफेण्डिङ च्याम्पियन मुम्बइले लगातार दोस्रो वर्ष उपाधि जित्दै अघिल्लो उपाधिको रक्षा गर्ने दोस्रो आइपिएल टिम बनेको छ । यसअघि चेन्नइ सुपरकिंग्सले २०१० मा जितेको उपाधि २०११ मा रक्षा गरेको थियो ।

पाँचौं पटक उपाधि जितेर आइपिएलकै सर्वोत्कृष्ट टिम बनेको मुम्बइका कप्तान रोहित शर्मालाई भने फाइनल खेलका क्रममा भएको एउटा घटनाले निकै पछुतो लागेको छ । रोहितले आफ्नो गल्तीका कारण साथी ब्याट्सम्यान सूर्यकुमार यादव रन आउट हुनु परेकोप्रति खेद व्यक्त गरेका छन् । मुम्बइका कप्तान शर्माले भने ‘उनको लागि मैले मेरो आफ्नो विकेट गुमाउनुपर्ने थियो ।’

रोहितले ५१ बलमा ६८ रन बनाए जसको सहयोगमा मुम्बइले दिल्लीलाई पाँच विकेटले हरायो । रोहितले ११ औं ओभरको पाँचौं बलमा एउटा असम्भवजस्तै रन लिन सूर्यकुमारलाई बोलाए तर सूर्यकुमारले अर्को इण्डबाट रन नलिन भनिरहेका थिए । तर, रोहित दौडेर अर्को इण्डमा पुगिसकेकाले सूर्यकुमारले कप्तानको लागि आफ्नो विकेटको बलिदान दिए र अगाडि बढे । सूर्यकुमार जतिबेला अगाडि बढे त्यतिबेला उनलाई प्रस्टै थाहा थियो उनी अर्को इण्डमा पुग्न कुनै हालतमा सम्भव छैन र उनी रनआउट हुनेछन् । सूर्यकुमारले रोहितको विकेट बचाउन आफू जानीजानी आउट भएका थिए ।

रोहितले भने ‘उनी जुन फर्ममा थिए त्यसको लागि मैले मेरो विकेटको बलिदान दिनुपर्ने थियो । उनले पूरै प्रतियोगितामा शानदार प्रदर्शन गरे र शानदार शट खेले ।’ सूर्यले भने रोहितले टिमलाई जीतसम्म लैजान्छन् भन्ने आफूलाई विश्वास भएकोले आफ्नो विकेट गुमाउनुको कुनै दुःख नभएको बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *