मिथिलाञ्चलमा धनतेरस पर्व सम्पन्न

डिसी नेपाल
२८ कार्तिक २०७७ २२:३८

जनकपुरधाम । मिथिलाञ्चलमा आज धनतेरस पर्व सम्पन्न भएको छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नया–नयां भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ । कोरोना सङ्क्रमणको त्रासले यसपटक किनमेल प्रभावित भएको देखिएको छ ।

व्यवसायीहरूका अनुसार यस पटक सुनभन्दा चाँदीका गरगहनाको बिक्री अधिक भएको छ ।समाजका उच्च ,मध्यम र निम्न वर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चिजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् ।

यो पर्वमा किनमेल गर्नु पर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो बारे कुनै निश्चित आधार नभए पनि धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थन भएको र उत्पन्न हुँदा हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले भाँडाकुडा किनमेलको क्रम सुरू भएको विश्वास पाइन्छ ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रकटसँग स्वास्थ्य र धनको प्रसङ्ग रहेका कारण धन्वन्तरीको पूजाले भाग्योदय हुने मान्यता रहेको छ । त्यसैले भाडाँकुडा , सुनचाँदीको किनमेल गरी धन्वन्तरी ,यम र कुबेरको पूजा गरिने चलन छ । धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ ।

यो पनि मानिन्छ कि आजका दिन नयाँ समान खरीद गरेर पैसा १३ गुणा बढी हुन्छ । धातुले नकारात्मक उर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *