मैदान निर्माण भएको १५ वर्षपछि प्रयोगमा

डिसी नेपाल
३० कार्तिक २०७७ २३:०४

म्याग्दी । सदरमुकाम बेनीमा १५ वर्षअघि निर्माण भएको बहुउद्देश्यीय मैदान अहिले प्रयोगमा आएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले २०६२ सालमा म्याग्दी नदीको किनारमा निर्माण गरेको बहुउद्देश्यीय मैदानमा बेनी नगरपालिकाले पार्किङस्थल बनाएर प्रयोगमा ल्याएको हो ।

बेनी नगरपालिका–७ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले प्रयोगबिहीन अवस्थामा रहेको मैदानलाई मर्मत, घेराबार र पूर्वाधार तयार गरेर पार्किङस्थल बनाइएको जानकारी दिए ।

बेनी–दरवाङ, बेनी–पाखापानी, बेनी–बरंजा र बेनी–बागलुङलगायत म्याग्दीको पश्चिमी क्षेत्रमा चल्ने बस, जिप र ट्याक्सी पार्किङका लागि स्थान बनाइएको हो ।

पो पार्किङस्थल सञ्चालन भएपछि सडकमै यात्रुबाहक सवारी साधन पार्किङ गर्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको छ ।

हाल बेनी नगरपालिका, हाडेभिर, बेनी सामुदायिक मावी र बजारका सडकमा अव्यवस्थितरुपमा पार्किङ गरिंदा दुर्घटनाको जोखिम र ट्राफिक व्यवस्थापनमा समस्या भएको छ ।

सबै पूर्वाधार तयार भएको पार्किङस्थल मङ्सिर ५ गतेदेखि सञ्चालन गरिने वडाध्यक्ष श्रेष्ठले बताए। “मैदानलाई ग्राबेल गरेर सम्माउनुका साथै खानेपानी, सार्वजनिक शौचालय, दुई ठाउँमा सिसिटिभी क्यामेरा जडान र बत्ती जडान भएको छ,” उनले भने “यातायात व्यवसायीका टिकट काउन्टरलाई सारेर त्यहीँबाट गाडी छुटाउँछाँै ।”

मैदानको डिलतर्फ नगरपालिकाले रु। १४ लाख खर्चेर पर्खाल र तारजाली लगाएको छ । यस वर्ष पार्किङस्थलको पूर्वाधार बनाउन थप रु पाँच लाख ५० हजार खर्च भएको छ ।

विसं २०६२ मा उद्योग वाणिज्य सङ्घको अगुवाइमा म्याग्दी नदी किनारको पाखो र बगरलाई सम्याएर मैदान बनाएका थिए । करिब २०० मिटर लम्बाई र ५० मिटर चौडाइ भएको मैदानमा १०० वटा सवारी साधन पार्किङ गर्न सकिने यातायात व्यवसायीले बताएका छन् ।

प्रहरी नायब उपरिक्षक किरणजङ्ग कुँवरले पार्किङस्थल सञ्चालनमा आएपछि बजारभित्रको ट्राफिक व्यवस्थापन र आवतजावत सहज हुने बताए । नगरपालिका र प्रहरी कार्यालयले सहकार्य गरेर बेनी बजारमा गत भदौ महिनादेखि लागू गरिएको एकतर्फी पाकिङ प्रभावकारी बनेको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *