पावरसर्ज, एक्स फ्याक्टर र बाश बूस्ट, बिग बाश लिगमा तीन नयाँ नियम लागू हुँदै

डिसी नेपाल
२ मंसिर २०७७ १५:४७

काठमाडौं। अस्ट्रेलियाको घरेलु टि–२० लिग बिग बाश लिगमा क्रिकेट अस्ट्रेलियाले ३ नयाँ नियम लागू गर्दैछ । यी हुन् – पावरसर्ज, एक्स फ्याक्टर र बाश बूस्ट । आगामी डिसेम्बर १० देखि बिग बाश लिग सुरु हुँदैछ । यसअघिका सिजनमा मेलबर्न स्टार्सबाट खेल्ने नेपाली खेलाडी सन्दिप लामिछाने भने यो सिजन होबार्ट हरिकेन्सबाट खेल्ने तय भएको छ ।

पावरसर्ज नियमअनुसार अब पावरप्ले ६ ओभरको हुने छैन । यसअघि परम्परागत पावर प्ले ६ ओभरको हुन्छ । तर, बिग बाश लिगमा पावर सर्ज नियम ल्याएर पावर प्लेलाई ४ ओभरमा घटाइएको छ । अब ४ ओभरको पावर प्लेमा बलिङ गर्ने टिमले ३० यार्डको घेराबाहिर ३ जना फिल्डर मात्र राख्न पाउँछ । यो परम्परागत पावर प्ले जस्तै हुन्छ र यो सुरुको ४ ओभरमा लागू हुन्छ । तर बाँकी २ ओभर पावर सर्जको रुपमा ब्याटिङ गर्ने टिमले इनिङको १० ओभर सकिएपछि जुनसुकै बेलामा पनि लिन पाउँछ । पावर सर्जको २ ओभरमा बलिङ गर्ने टिमले ३० यार्डको घेराबाहिर २ जना मात्र फिल्डर राख्न पाउँछ ।

एक्स फ्याक्टर नियम अन्तर्गत अब कुनै पनि टिमले खेल्ने ११ जना खेलाडी होइन १३ जना खेलाडीको सूची बनाउनेछ । अर्थात अब प्लेइङ ११ होइन प्लेइङ १३ हुनेछ जसमा ११ जना सुरुवाती मैदानमा उत्रिने खेलाडी र ३ जना सब्स्टिच्युट हुनेछन् । मैदानमा भने ११ जना नै उत्रिनेछन् र बाँकी २ जना बाहिर बस्नेछन् । टिमले १० ओभरपछि मैदानमा खेलिरहेका खेलाडीमध्ये कुनै पनि एक खेलाडीलाई बाहिर रहेका २ मध्ये कुनै एक खेलाडीसँग बदल्न सक्छ । तर १० ओभरपछि बाहिरिने खेलाडीले त्यतिबेलासम्म बलिङ वा ब्याटिङ भने गरेको हुनु हुँदैन ।

बाश बूस्ट नियमअनुसार अब हरेक खेलमा ४ अंक हुनेछन् । खेल जित्ने टिमले ३ अंक पाउनेछ । १ अंक बाश बूस्ट अंक हुनेछ । पहिले ब्याटिङ गर्ने टिमले १० ओभरको खेल सकिँदा जति स्कोर बनाएको थियो दोस्रो इनिङ ब्याटिङ गर्ने टिमले १० ओभरमा त्यो स्कोर उछिन्न सक्यो भने दोस्रो ब्याटिङ गर्ने टिमले बाश बूस्टको १ अंक पाउँछ । यदि दोस्रो ब्याटिङ गर्ने टिमले पहिलो टिमको १० ओभरको स्कोर उछिन्न सकेन भने पहिले ब्याटिङ गर्ने टिमले १ अंक पाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *