वडाद्वारा ‘खेत बाँझो नराखौँ’अभियान, ६६७ कृषकलाई आलुको बीउ प्रदान

डिसी नेपाल
२ मंसिर २०७७ २२:४२

तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–८ ले वडाका ६६७ जना कृषकलाई आलुको बीउ प्रदान गरेको छ । राष्ट्रिय आलु तथा मसलाबाली विकास कार्यक्रमअन्तर्गत वडाले ३२ हजार किलो आलुको बीउ वितरण गरेको हो ।

निलो आलु ११ हजार ५०० किलो, जनदेव (रातो आलु) १८ हजार ५०० किलो र पिभिएस आलु दुई हजार २०० दाना वितरण गरिएको कृषि शाखाका प्राविधिक भरत जैसीले बताए।

उक्त वडामा मात्रै चार लाख ५० हजार केजी बराबरको आलु उत्पादन गर्ने लक्ष्य लिएको उनले बताए। कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त आलुको बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

बिक्रीको समस्या नरहने भएकाले आफ्नै वडामा नै खपत गरिने योजना छ ।

“खेत बाँझो नराखौँ’ भन्ने अभियान नै वडाले सञ्चालन गरेको छ । हिउँदमा धान काटेपछि अधिकांश खेत बाँभैm राख्ने गरिएकाले अभियान चलाइएको वडाले जनाएको छ । बाँझो जमिनमा आलुलगायत तरकारी तथा तोरी खेती गर्न वडाले कृषकलाई प्रोत्साहन गरेको छ ।

हाल खेत बाँझो नराख्न र आलुमा आत्मनिर्भर बनाउने उद्देश्यले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताए ।

वडाले खरिद गरी ल्याएको माटो परीक्षण मेशिनबाट उक्त क्षेत्रको माटो परीक्षण गर्दा आलु खेतीको लागि उपयुक्त देखिएकोले कृषकलाई अनुदानमा वितरण गरिएको उनले बताए ।

कृषकलाई ५ देखि ६०० किलोसम्म आवश्यकताको आधारमा आलुको बीउ उपलब्ध गराएर प्रदान गरिएको हो । उक्त वडा आलु खेतीको लागि प्रख्यात मानिँदै आइएको छ ।

वडामा खपत नभएको खण्डमा वडाले बजार व्यवस्थापन गर्ने र निर्माण गर्न लागेको चिस्यान केन्द्रमा भण्डारणको व्यवस्था गरिने छ । करिब रु तीन करोडको लागतमा सोही वडाको तालिममा चिस्यान केन्द्र निर्माण गर्न प्रक्रिया अघि बढाइ सकिएको छ ।

कोभिड–१९ को सङ्क्रमण बढी रहेकाले कृषि नै आम्दानीको लागि भरपर्दो माध्यम भएकाले ठाउँ सुहाउँदो खेती गरेर जग्गा बाँझो नराख्ने कार्यलाई अभियान नै रुपमा सञ्चालन गर्न लागिएको सो वडा कार्यालयले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *