‘जिरी ओपन फिडे रेटिङ चेस’को उपाधि नेपालीलाई

डिसी नेपाल
६ मंसिर २०७७ २२:४७

चरिकोट । दोलखालको जिरीमा आयोजना गरेको ‘जिरी ओपन फिडे रेटिङ चेस’ प्रतियोगिताको उपाधि तीन पटकका राष्ट्रिय उपाधि विजेता बद्रीलाल नेपालीले हात पारेका छन् ।

युवा सञ्जाल जिरीको आयोजना तथा जिरी नगरपालिकाको सहयोगमा पर्यटकीय नगरी जिरीमा आज सम्पन्न प्रतियोगिताको अन्तिम चरणको खेलमा ललितपुरका भेट्रान खेलाडी हेराकाजी महर्जनमाथि जीत हात पार्दैै नेपालीले उपाधि प्राप्त गरेका हुन् ।

सात खेलमा ६ मा जीत तथा एक बराबरी गरी कूल छ दशमलव पाँच अङ्क बनाएका नेपालीले उपाधिसँगै नगद १० हजार प्राप्त गरेका छन् ।

छैटौँ चरणको खेलमा दोलखाका राजीव कार्कीमाथि सहज जीत निकालेका आशिष फुयाँल सात खेलबाट छ अङ्कका साथ प्रतियोगितामा दोस्रो हुन सफल हुनका साथै रु पाँच हजार प्राप्त गरेका छन् भने तेस्रो स्थानमा रहन सफल युवराज पौडेलले रु तीन हजार प्राप्त गरेका छन् ।

ललितपुरका हिराकाजी महर्जनले भेट्रानतर्फ पहिलो पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै रौतहटका रामचन्द्र दाहाल तथा दोलखाका बाबुराजा महर्जन भेट्रानतर्फ दोस्रो तथा तेस्रो हुन सफल भए ।

दोलखाका केन्द्रज्योति खड्काले सात खेलबाट चार दशमलव पाँच अङ्कका साथ स्थानीयतर्फ प्रथम हुँदै रु पाँच हजार प्राप्त गरेका छन् ।

फिडेको स्विस लिग प्रणालीअन्तर्गत सात चरणमा सम्पन्न प्रतियोगितामा विभिन्न जिल्लाका ४२ खेलाडीको सहभागिता थियो ।

कोभिड–१९ को महामारीपछि नेपालमा पहिलोपटक आयोजित फिडे रेटिङ प्रतियोगिताले उत्साहित बनाएको र आगामी दिनमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नका लागि बाटो खुलेको जिरी नगरपालिकाका प्रमुख टङ्कबहादुर जिरेलले बताए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *