एनपीएल विवादः आयोजना अधिकार बेच्ने विषयमा पदाधिकारीबीच मतभेद

डिसी नेपाल
९ मंसिर २०७७ १४:३६

काठमाडौं । नेपाल क्रिकेट सङ्घको आम्दानी र विकासको मुख्य स्रोतको रूपमा रहेको भनिएको व्यावसायिक क्रिकेट प्रतियोगिता आयोजनाको अधिकार एउटा भारतीय कम्पनीलाई १० वर्ष सुम्पने विषयमा पदाधिकारीहरू एकमत हुन सकेका छैनन्। नेपाल क्रिकेट सङ्घ (क्यान) ले तयारी गरेअनुसार यो वर्षदेखि नै आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लीग (एनपीएल) को योजना बनाएको थियो। तर २० ओभरको छोटो शैलीको विश्वभरि चलिरहेको उक्त प्रतियोगिता कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण त्यसो हुन सकेन। क्यानले एनपीएल आयोजनाको अधिकार भारतीय कम्पनी सेभेन स्पोर्ट्स थ्री प्राइभेट लिमिटेडलाई १० वर्षका लागि दिने विषयमा आन्तरिक सहमति पनि गरिसकेको थियो। यसै हप्ता बसेको क्यानको वार्षिक साधारणसभामा ‘एनपीएल अधिकार बेच्ने’ विषय प्रस्ताव गरियो। तर सभामा उक्त विषयमा पदाधिकारीहरूबीच मतान्तर शुरू भयो। त्यसमा मूलतः दुई विषय उठेका छन्ः पहिलो नेपाली क्रिकेटको आम्दानी र विकाससँग प्रत्यक्ष जोडिएको विषय भएकोले क्रिकेट सङ्घले नै यसको आयोजना गर्नुपर्छ। दोस्रो एक अपरिचित भारतीय कम्पनीलाई ‘लामो अवधि तर सस्तो रकम’ मा अधिकार दिनु हुँदैन। साधारणसभामा उक्त विषयमा सहमति हुन नसकेपछि अन्तिम निर्णय गर्न साधारणसभाले नै केन्द्रीय कार्यसमितिलाई अधिकार दिएको छ।

क्रिकेट सङ्घका सचिव अशोकनाथ प्याकुर्‍यालका अनुसार सेभेन थ्री स्पोर्ट्स प्रालिलाई कुल ४२ करोड रुपैयाँमा आयोजनाको सम्पूर्ण अधिकार दिन लागिएको हो। उक्त रकम हरेक वर्ष किस्ता किस्तामा प्राप्त हुनेछ। शुरूको वर्ष क्यानले २ करोड ६७ लाख रुपैयाँ पाउने छ भने १० औँ वर्षमा ७ करोड ५० लाख रुपैयाँ पाउने सम्झौता पत्रको ड्राफ्टमा उल्लेख गरिएको छ। आयोजनासम्बन्धी सम्पूर्ण अधिकार सेभेन थ्री स्पोर्ट्सको हुनेछ। टोली निर्माण, प्रायोजक खोज्ने, टेलिभिजन प्रसारण अधिकार, विदेशी खेलाडीहरूलाई अनुबन्धन गर्नेदेखि मैदानको स्तरोन्नतिको काम उसले गर्नेछ। क्यान सचिव प्याकुर्‍याल भन्छन्, “क्यानले ‘लाइसेन्स फी’ लिएर उनीहरूलाई एनपीएल सञ्चालन गर्न दिने हो। एनपीएलको मालिक भने क्यान नै हुनेछ।” प्याकुर्‍यालका अनुसार प्रतियोगिताको आयोजनाबाहेक सेभेन थ्री स्पोर्ट्सले क्रिकेट विकासको अन्य क्षेत्रमा पनि सघाउने सहमति भएको छ। उनले भने, “नेपाल र भारतका खेलाडीबीच जुनियर क्रिकेट च्याम्पियनशिपको आयोजना गर्ने कुरा छ। कीर्तिपुर मैदानको स्तरोन्नति, पवेलियन निर्माणदेखि फ्लड लाइट बनाउनेसम्मको कुरामा सहमति भएको छ।” त्यस्तै ‘अम्पायरहरू र क्युरेटरहरूलाई प्रशिक्षण दिने विषयमा पनि छलफल भएको उनले बताए। प्याकुर्‍याल भन्छन्, “कुल रकममा २/४ करोड कम बढीको विषय हुनसक्ला, तर कोरोनाभाइरस महामारीले विश्वभरि नै प्रायोजकको अभाव भइरहेको बेला यो सम्झौताले नेपाली क्रिकेटलाई फाइदा पुग्ने हाम्रो विश्वास छ।”

विरोध गर्नेहरूको पहिलो तर्क हो, “क्रिकेट सङ्घले आफ्नो मूल्य आफैँले चिन्न सकेन।” उनीहरूका अनुसार क्यानले निकै सस्तो मूल्यमा आफूलाई बेच्दैछ, जुन दीर्घकालीन रूपमा क्यानको हितविपरीत हुनेछ। वाग्मती प्रदेश क्रिकेट सङ्घका अध्यक्ष राजु बस्नेत भन्छन्, “१० वर्षका लागि ४२ करोडमा अधिकार सुम्पिनु भनेको ठूलो घाटाको व्यापार हो। त्यो गर्नु हुँदैन। एनपीएलले धेरै रकम कमाउन सक्छ। त्यसैले एनपीएल क्यानले नै गर्नुपर्छ।” बारा जिल्लाको प्रतिनिधित्व गर्दै साधारणसभामा भाग लिएका राष्ट्रिय टोलीका पूर्वकप्तान पवन अग्रवालले पनि सभामै प्रस्तावको विरोध गरेका थिए। उनी भन्छन्, “यो त एनपीएल भाडामा दिएजस्तो भयो। आफैँले आयोजना गर्ने आँट क्यानमा देखिएन र हचुवाको भरमा विना अध्ययन एउटा कम्पनीलाई दिने काम भयो जुन गलत छ। क्यानले आफैँ आयोजना गर्न किन डराइरहेको छ ?” अग्रवालले भनेजस्तै एनपीएलको अधिकार बेच्नुअगाडि क्यानले अध्ययन र तयारी नगरेको भन्दै कतिपयले प्रश्न उठाएका छन्। सबैभन्दा गम्भीर प्रश्न क्यानले छानेको सेभेन थ्री स्पोर्ट्स बारेमा देखिएको छ। सन् २०१२ मा स्थापना भएको उक्त कम्पनीको वेबसाइटमा उल्लेख भएअनुसार कम्पनीको अधिकृत पुँजी एक करोड भारु रहेको छ र प्रदत्त पुँजी ३ करोड ७० लाख रहेको छ। वेबसाइटमा उल्लेख भएका सूचनाअनुसार उसले अहिलेसम्म कुनै ठूलो खेलकुद गतिविधि गरेको देखिँदैन। यस्तोमा उक्त कम्पनीको विश्वास कसरी गर्न सकिन्छरु क्यानले ४२ करोड रुपैँयाको ग्यारेन्टी कसरी लिन सक्छ ? जस्ता प्रश्न उठ्न थालेका छन्। फ्रेञ्चाइज क्लब एभरेष्ट प्रिमियर लीगका निर्देशक आमिर अख्तर भन्छन्, “कम्पनीको इतिहास कति बलियो छ। आईसीसी र बीसीसीआईसँग आबद्ध छ कि छैन हेर्न जरुरी हुन्छ। किनकि यसमा गम्भीर हुन सकिएन भने एनपीएल म्याच फिक्सिङजस्तो गहिरो समस्यामा फस्न सक्छ” नेपालले यसमा ध्यान दिन किन पनि जरुरी छ भने तीन वर्षअगाडि काठमान्डूमा नै एसियन प्रिमियरसिप नाम दिइएको एउटा प्रतियोगिता म्याच फिक्सिङका कारण बदनाम भएको थियो। क्यान प्रतिबन्धित भएको त्यो बेला राष्ट्रिय खेलकुद परिषद्‌ले विना अध्ययन आयोजनाको अधिकार एक भारतीय कम्पनीलाई दिएको थियो। भर्खरै मात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीबाट आंशिक प्रतिबन्ध फुकुवा भएको नेपाल क्रिकेट सङ्घ यदि फेरि म्याच फिक्सिङजस्तो काण्डमा मुछिएमा त्यसले लामो प्रतिबन्ध भोग्नुपर्ने हुनसक्छ। क्रिकेट सङ्घसँग भ्रष्टाचारविरुद्ध र ‘प्लेयर कोड अफ कन्डक्ट’ को व्यवस्था नभएकोले पनि अझ विशेष सावधानी आवश्यक रहेको बताइएको छ। अख्तर भन्छन्, :म्याच फिक्सिङका लागि भारत विश्वको सबैभन्दा ठूलो बजार हो। आईपीएलजस्तो इभेन्ट्समा ठूलो सावधानी अपनाउँदा पनि बेलाबखत फिक्सिङको विषय आइरहन्छ। त्यसैले क्यानले आयोजना बेच्दा यसमा विशेष ध्यान पुर्‍याउनैपर्छ। क्यान सचिव प्याकुर्‍यालका अनुसार केन्द्रीय समितिले अबको दुई साताभित्र सम्झौताको विषयमा अन्तिम छलफल गर्नेछ र सम्झौता गर्नेछ। तर थुप्रैले प्रश्न उठाएको यो विषयमा सम्झौता गर्नुअगाडि क्यानले विशेष अध्ययन गर्न जरुरी देखिन्छ।

(साभारः बीबीसी नेपाली)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *