प्रतिष्ठानको ताला खुलाः सम्पर्क कार्यालय खारेज गरिने

रासस
१० मंसिर २०७७ २०:५८

कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको केन्द्रीय तथा शैक्षिक प्रशासनमा भएको तालाबन्दी ४३ दिनपछि खुलेको छ । प्रतिष्ठान जुम्लाका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले तेस्रो डीनमा मुनिराज क्षेत्रीलाई नियुक्त गरेका विरोधमा प्रतिष्ठान कर्मचारी कल्याणकारी समाजले गत असोज २८ गतेदेखि तालाबन्दी गरेको थियो ।

प्रतिष्ठानमा दुई डीन नियुक्ति गरिसकेका उपकुलपति प्रा डा वाग्लेले कार्यकारी परिषद्को बैठकको निर्णयविना प्रतिष्ठान सम्पर्क कार्यालयबाटै तेस्रो डीन नियुक्त गरी संस्थालाई आर्थिक भार पारेको भनी समाजले डीन नियुक्ति फिर्ता लिनुपर्ने माग राखेको थियो ।

तालाबन्दी खोल्न उपकुलपतिले सम्पर्क कार्यालय काठमाडौंँबाट प्रतिनिधिमण्डल खटाएर पटक पटक वार्ता गर्न निर्देशन दिए पनि खुल्न सकेको थिएन । पछि आफैँ केन्द्रीय कार्यालयमा आएका उपकुलपतिले आन्दोलनरत समाजसँग वार्ता बस्न नसक्दा प्रतिष्ठानमा लामो गतिरोध निम्तिएको थियो ।

मङ्गलबार मात्र प्रतिष्ठान कल्याणकारी समाज र उपकुलपतिसहितको पदाधिकारीको टोलीले माग गरेका तीन मुख्य बुँदामा सहमति भएपछि ताला खुलेको समाजका अध्यक्ष रमाकान्त उपाध्यायले जानकारी दिनुभयो । सहमति भएअनुसार हाल नियुक्त र अन्य डीनका सम्बन्धमा तीन सदस्यीय कार्यदल गठन गर्ने र त्यसले पेश गरेको प्रतिवेदन कार्यकारी परिषद्मा पेश गर्ने सहमति भएको छ ।

त्यसैगरी प्रतिष्ठानको कार्यकारी परिषद्ले आगामी सिनेट बैठकमा निर्णय गराई एक डीन प्रमुख रहने, अन्य सङ्कायका डीन सहायक डीन रहने र प्रतिष्ठानमा कार्यरत कुनै पनि कर्मचारीले बाहिर काम गर्न र दोहोरो सुविधा भोग गर्न नपाउने गरी सहमति भएको समाजका उपाध्यक्ष उपाध्यायले बताए।

यता ललितपुरको महालक्ष्मी स्थानमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय यथाशीघ्र हटाउने र त्यहाँ कार्यरत कर्मचारीलाई एक हप्ताभित्र प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्ला बोलाउने सहमति भएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार सम्पूर्ण पदाधिकारी विशेष कामबाहेक पूरा समय प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामा बस्ने सहमति भएको छ । यसका साथै समाजले राखेका छ वटै मागका सम्बन्धमा कार्यकारी परिषद्बाट हुबहु पारित गर्ने सहमति भएको प्रतिष्ठानले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *