एचआइभी नियन्त्रणमा महत्वपूर्ण उपलब्धि : मन्त्री ढकाल

रासस
१६ मंसिर २०७७ १८:३५

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् ।

तेतीसौँ विश्व एड्स दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ भएजस्तै सन् १९९० को दशकमा महामारीको रुपमा देखिएको एचआइभी सङ्क्रमण नियन्त्रणमा नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका हुन् ।

उनका अनुसार नेपालले नयाँ सङ्क्रमण दर सन् २०१० देखि २०१९ सम्म ६४ प्रतिशतले घटाएको छ । सोही समयमा विश्वमा यसको दर २३ प्रतिशतले घटेको छ । यस्तै नेपालमा एड्सको कारणले हुने मृत्युदर पनि ८५ प्रतिशत र विश्वमा ३९ प्रतिशतले घटेको छ । उनले कोभिड–१९ ले एचआइभी सङ्क्रमित र एचआइभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा अझ अप्ठ्यारो र चुनौतीसमेत भएको बताए ।

सरकार विभिन्न साझेदार संस्था र नागरिक समाज सबैको सक्रियतामा कोभिड–१९ को विषम परिस्थितिमा पनि एचआइभी सङ्क्रमितलाई एआरभी औषधि उचित र निरन्तर वितरण गरिएको बताए । सन्देशमा उनले सरकारको राष्ट्रिय एचआइभी रणनीतिक योजना २०१६–२०२१ अनुसार ९० प्रतिशत एचआइभी सङ्क्रमितले आफ्नो सङ्क्रमण अवस्थाबारे थाहा पाउने, तीमध्ये ९० प्रतिशतमा औषधि उपचारको पहुँच हुने र औषधि खानेमध्ये ९० प्रतिशतको शरीरमा भाइरसको भार न्यून भएको हुने लक्ष्य प्राप्तिका लागि एचआइभी रोकथाम, हेरचाह, सहयोग तथा उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिइएको बताए ।

दिगो विकास लक्ष्यअनुसार सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिबद्धताका साथ योजनाबद्ध रुपमा काम भइरहेकोसमेत उनले जानकारी दिए । सरकारले सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमसमेत लागू गरेको छ ।

उनले दिवसको अवसरमा सबैलाई एचआइभीविरुद्धको अभियानमा ऐक्यबद्धता एवं प्रतिबद्धता जनाउनसमेत आह्वान गरे । उनले एचआइभी क्षेत्रमा कार्यरत रहेका सरकारी, गैरसरकारी सङ्घसंस्थालाई राष्ट्रिय रणनीतिअनुसार उद्देश्य प्राप्तिका लागि थप क्रियाशील हुनसमेत आग्रह गरे ।

मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले सम्पूर्ण साधन, स्रोत र क्षमताको प्रयोग गर्नुपर्ने वर्तमान परिस्थितिमा रहेको भन्दै महामारीको बेलामा सबैजना सुरक्षित नभएसम्म कोही पनि सुरक्षित नहुने बताए ।

आज विश्वभरि ‘एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी’ भन्ने नाराका साथ विश्व एड्स दिवस मनाइँदै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *