विराट कोहलीले तोडे सचिन तेन्दुलकरको विशाल विश्वरेकर्ड

डिसी नेपाल
१७ मंसिर २०७७ १०:२१

काठमाडौं। भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्ना अग्रज खेलाडी सचिन तेन्दुलकरले बनाएको विशाल विश्वरेकर्ड तोडेका छन् । आज अस्ट्रेलियाविरुद्ध क्यानबेरामा जारी तेस्रो एकदिवसीयमा विराटले नयाँ रेकर्ड बनाएका हुन् । उनी अब एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १२ हजार रन पूरा गर्ने खेलाडी बनेका छन् । विराटले २४२ औं इनिङमा १२ हजार रन पूरा गरेका छन् ।

यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो । तेन्दुलकरले ३०० इनिङमा १२ हजार रन पूरा गरेका थिए । विराटभन्दा अगाडि सचिनसहित अन्य ५ जना खेलाडीले मात्र एकदिवसीय क्रिकेटमा १२ हजारभन्दा धेरै रन बनाएका छन् । भारतका सचिन तेन्दुलकर (१८ हजार ४२६), श्रीलंकाका कुमार सांगाकारा (१४ हजार २३४), अस्ट्रेलियाका रिकी पोन्टिङ (१३ हजार ७०४), श्रीलंकाकै सनथ जयसूर्या (१३ हजार ४३०) र अर्का पनि श्रीलंकाकै महेला जयवद्र्धने (१२ हजार ६५०) ले मात्र १२ हजारभन्दा धेरै रन बनाएका छन् ।

१२ हजारभन्दा बढी रन बनाएर अहिलेसम्म खेलिरहेका एकमात्र खेलाडी विराट कोहली हुन् । उनीबाहेक अन्य पाँचैजना खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । यसअघि विराट कोहलीले सबैभन्दा छिटो ८ हजार, ९ हजार, १० हजार र ११ हजार रन पूरा गरेको रेकर्ड आफ्नो नाममा बनाइसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *