च्याम्पियन्स लिग : लिभरपुल, म्यन्चेस्टर सिटी, एटलेटिको मड्रिड नकआउट चरणमा, रिएलको हारले सम्भावना न्यून

काठमाडौं। यूईएफए च्याम्पियन्स लिग फुटबलमा लिभरपुल म्यान्चेस्टर सिटी, एटलेटिको मड्रिड नकआउट चरणमा प्रवेश गरेका छन्।
मंगलवार राति सम्पन्न समूह डि को खेलमा लिभरपुलले डच क्लब अजाक्सलाई १–० ले हराउँदै नकआउट चरणमा स्थान पक्का गरेको हो सोही समूहके अर्को खेलमा सिरि ए क्लब एटलान्टाले एफसी मिडजिलेन्डसंग १–१ गोलको बराबरी खेल्दै अंक बाँड्यो।
समूह डीमा शीर्ष स्थानको लिभरपुलको १२ अंक छ। दोस्रो स्थानको एटलान्टाको ८ अंक र तेस्रो स्थानको अजाक्सको ७ अंक छ। मिडजिलेन्ड १ अंक सहित तालिकाको पुछारमा छ।
यस्तै च्याम्पियन्स लिगमा फुटबलमा मंगलवार राति नै सम्पन्न समूह ए को खेलमा एट्लेटिको मड्रिड र बायर्न म्युनिखले बराबरी खेल्दै अंक बाँडेका छन्।
एट्लेटिको र जर्मन क्लब बायर्न म्युनिखले १–१ गोलको बराबरी खेले। प्रतियोगिताको साविक विजेता बायर्नसँगको बराबरीले एट्लेटिको मड्रिडमाथि दबाब थपिएको छ। उसले च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान बनाउन समूहको अन्तिम खेल जित्नुपर्ने हुन्छ। बायर्नले भने यसअघिनै अन्तिम १६ मा स्थान पक्का गरिसकेको छ।
सोही समूहको अर्को खेलमा साल्जवर्गले लोकोमोटिभ मस्कोलाई ३–१ ले हरायो। साल्जवर्गले नकआउट चरण पुग्ने सम्भावनालाई जिवितै राखेको छ।
यो नतिजासँगै शीर्ष स्थानको बायर्नको १३ अंक छ। दोस्रो स्थानको एट्लेटिकोको ६, साल्जवर्गको ४ र लोकोमोटिभ मस्कोको ३ अंक छ।
यस्तै लिग अन्र्तगतनै मंगलवार राति सम्पन्न खेलमा म्यान्चेष्टर सिटीले पोर्चुगलको एफसी पोर्टोसंग गोल रहित बराबरी खेलेको छ।
समूह सी अन्र्तगतको खेलमा पोर्टोको घरेलु मैदानमा सिटीले गोल रहित बराबरी खेलेको हो। यसअघि नै नकआउट चरणको यात्रा पक्का गरेको सिटिले समूह सीको शीर्ष स्थानमा रहदै गुप्र स्टेजको यात्रा समाप्त गरेको छ।
पोर्टोले समेत एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। सोही समूहको अर्को खेलमा मार्सेलीले ओलम्पियाकोसलाई २–१ ले हरायो । फ्रेन्च क्लब मोर्सेलीले ग्रिक क्लबलाई पराजित गर्दै पहिलो जित दर्ता गर्यो।
दुवै टोली नकआउट चरणको दौडबाट बाहिरिसकेका छन्। समूहको शीर्ष स्थानको सिटीको १३ अंक छ। दोस्रो स्थानको पोर्टोको १० अंक छ। ओलम्पियाकोस र मार्सेलीले समान ३ अंक जोडेका छन्।
यसैबीच स्पेनिस महारथी क्लब रियल मड्रिडले पुन खराब नतिजा निकालेको छ। मंगलबार राति समूह बीको खेलमा रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कसंग २–० को हार ब्यहोरेको हो। पछिल्लो नतिजाले च्याम्पियन्स लिगमा रियल मड्रिडमा यात्रा कठिन बनेको छ।
याे नतिजासँगै च्याम्पियन्स लिगको सर्वाधिक सफल क्लब रियल समूह बीको तेस्रो स्थानमा झरेको छ । समूह चरणमा अब अन्तिम चरणको खेल बाँकी छ। अघिल्लो चरण प्रवेश गर्न रियलले समूहको शीर्ष स्थानको बोरुसिया मोन्चेनग्ल्याडवाचलाई हराउनुपर्नेछ।
जित सहित शख्तर ७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित रियल समान अंक भएपनि तेस्रो स्थानमा पुगेको छ। सोही समूहको अर्को खेलमा रोमेलु लुकाकुले दुई गोल गरेपछि ईन्टर मिलानले मोन्चेनग्ल्याडवाचलाई ३–२ ले हराएको छ।
जित सहित ईन्टरले नकआउट चरणमा पुग्ने सम्भावनालाई भने कायमै राखेको छ। उसले अन्तिम खेलमा शख्तरलाई हराउनुपर्नेछ भने समूहको दोस्रो खेलको नतिजा समेत पर्खनुपर्नेछ।
Facebook Comment
ताजा भिडियो
धेरै पढिएको
- हप्ता
- महिना