कोरी एण्डरसनले अब न्यूजिल्याण्ड छाडेर अमेरिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

डिसी नेपाल
२० मंसिर २०७७ १५:५३

काठमाडौं। न्यूजिल्याण्डका चर्चित क्रिकेटर कोरी एण्डरसनले २९ वर्षको उमेरमै न्यूजिल्याण्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । अब उनी अमेरिकाका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछन् । टेस्ट, एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय गरी ९३ अन्तर्राष्ट्रिय खेलमा न्यूजिल्याण्डको प्रतिनिधित्व गरेका एण्डरसन आगामी आइतबार ३० वर्षका हुँदैछन् ।

टेस्ट र एकदिवसीय करिअरमा एक–एकमात्र शतक प्रहार गरेका एण्डरसन एकदिवसीय क्रिकेटको त्यही एकमात्र शतकका कारण चर्चित भएका थिए । २०१४ को जनवरी १ का दिन वेष्ट इण्डिजविरुद्ध एण्डरसनले क्विन्सटाउनका बनाएको त्यो शतक एकदिवसीय इतिहासकै सबैभन्दा कम बलमा बनेको शतकको रेकर्ड थियो । एण्डरसनले ३६ बलमा शतक बनाउँदै पाकिस्तानका शाहिद आफ्रिदीले १८ वर्षअघि १९९६ मा बनाएको ३७ बलको शतकको रेकर्ड तोडेका थिए । एण्डरसनको त्यो छिटो शतकको रेकर्ड अर्को वर्ष दक्षिण अफ्रिकाका कप्तान एबी डिभिलियर्सले तोडे । डिभिलियर्सले ३१ बलमा शतक बनाएका थिए ।

क्रिकेट टाइम्सका अनुसार एण्डरसनले अब अमेरिकाको मेजर लिग टि–२० खेल्नेछन् र अन्तर्राष्ट्रिय क्रिकेटमा पनि अमेरिकाकै प्रतिनिधित्व गर्नेछन् । एण्डरसनकी हुनेवाली पत्नी अमेरिकाकी हुन् । उनको नाम मेरी शामबर्ग हो । एण्डरसनले पनि कोभिड–१९ महामारीका क्रममा अधिकांश समय हुनेवाली पत्नी मेरीको घर अमेरिकाको टेक्ससमा बिताएका छन् । २०१९ देखि एकदिवसीय क्रिकेटको मान्यता पाएको अमेरिकाले आफ्नो टिक बलियो बनाउन अन्तर्राष्ट्रिय स्तरमा सक्रिय क्रिकेटरहरुलाई भित्र्याउन थालेको हो ।

अमेरिकाले अब २०१९ को विश्वकप विजेता इङल्याण्डको टिमका सदस्य रहेका लियाम प्लंकेटलाई पनि लक्ष्य बनाएको छ । प्लंकेटकी पत्नी पनि अमेरिकाको पेन्सलभेनियाकी हुन् । यसबाहेक पाकिस्तानी क्रिकेटर समी असलमलाई पनि अमेरिकाले ताकिरहेको दावी गरिएको छ । दक्षिण अफ्रिकाका रस्टी थेरोन र डेन पिटलाई अमेरिकाले भित्र्याइसकेको छ । अमेरिकाको मेजर लिग टि–२० मा आइपिएल टिम कोलकाता नाइटराइडर्सका लगानीकर्ताले पनि लगानी गर्ने घोषणा गरेका छन् । कोलकाताका मालिक बलिउड अभिनेता शाहरुख खानको कम्पनी रेड चिल्लीज र अभिनेत्री जुही चावलाको कम्पनी मेहता ग्रुप हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *