चितवनको माडीमा अयोध्याधाम
माडी। चितवनको माडीमा अयोध्याधाम निर्माण गर्न गुरुयोजना सहितको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ। डेकोर स्टुडियो प्रालिले अयोध्याधामको गुरुयोजना सहितको डीपीआर बनाएको सो संस्थाका निर्देशक मनोज गुप्ताले जानकारी दिए।
“प्रधानमन्त्री कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र माडी नगरपालिकाको समन्वयमा गुरुयोजना सहितको डीपीआर तयार गरिएको हो”, उनले भने। त्यहाँ निर्माण हुने मन्दिरहरूको नक्सासमेत बनाइएको उनले जानकारी दिए।
अयोध्याधामको गुरुयोजनाअनुसार काम सम्पन्न गर्न दुई अर्ब ५० करोड रुपियाँदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने प्रक्षेपण गुरुयोजनामा छ । गुरुयोजनाअनुसार काम सम्पन्न भए दुईदेखि तीन वर्ष लाग्ने बताइएको छ।
भगवान् श्रीरामको भव्य मन्दिर निर्माणका साथै राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाह मण्डप, वाल्मीकि आश्रम निर्माण गुरुयोजनामा समेटिएको छ। यस्तै लक्ष्मण वाटिका, अशोक वाटिका, जटायु पार्क, वाल्मीकि आश्रम निर्माणलाई पनि गुरुयोजनामा समेटिएको छ।
नेपालका चारै धाम पशुपति, वराह, मुक्तिनाथ र रिडीको मन्दिर निर्माणलाई पनि गुरुयोजनामा समावेश गरिएको छ। अयोध्याधामको चरणबद्ध विकास गर्ने योजनाअनुरूप पहिलो चरणमा राम, सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउन प्रस्ताव गरिएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले लेखेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment