नेपालमा जति नाफा अरु देशमा पाइँदैन : कुमार पन्त

डिसी नेपाल
६ पुष २०७७ ३:५३

वासिंगटन डिसी । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले अमेरिकाबासी गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्।

गैरआवासीय नेपाली संघ आईसीसीका अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले आयोजना गरेको लगानीसम्बन्धी कार्यक्रममा अध्यक्ष पन्तले नेपालमा जति नाफा अन्यत्र पाइन नसकिने हुँदा नेपालमा लगानी गर्न आह्वान गरे।


एनआरएन आईसीसीले नेपालमा विदेशमा बस्ने नेपालीहरुको ठूलो सामुहिक लगानी गर्न तयार गरेको ‘इमर्जिङ्ग नेपाल फण्ड’ बारे अमेरिकामा रहेका गैरआवासीय नेपालीहरुलाई जानकारी दिन आयोजित सो कार्यक्रममा अध्यक्ष पन्तले नेपालमा गैरआवासीय नेपालीले लगानी गर्दा भावनात्मक लगानी पनि हुने हुंदा अरु विदेशीले लगानी गरेभन्दा फरक हुने धारणा राखे।

हाम्रो मातृभूमिको सम्मृद्धि र विकासमा गैरआवासीय नेपालीको हैसियतमा योगदान गर्न सकिएको आनन्दको अनुभूति हुने जिकिर गर्दै उनले नेपालमा लगानी गरेर ठूलो रोजगारी सिर्जना हुने र मुनाफा पनि हुने धारणा राखे।

उनले गैरआवासीय नेपालीको सामुहिक लगानी उपयुक्त ठाउंमा हुन सके राम्रो मुनाफा हुने भन्दै अमेरिकामा भएका नेपाली समुदायलाई एनआरएनएको इमर्जिङ्ग नेपाल फण्डमार्फत नेपालमा लगानी गर्न आह्वान गरे।

एनएरएनए आईसीसीको यो प्रोजेक्ट न्यूनतम १० अर्व रुपैंयाको हुने जानकारी दिंदै उनले शुरुमा डेढ अर्व रकम गैरआवासीय नेपालीले उठाउनु पर्ने र त्यसमा नेपाल सरकारले ५० करोड रकम लगानी गर्ने बताए। यति रकमले शुरु गरेपछि थप रकमलाई आइपीओ खोलेर अघि बढ्ने गरी योजना बनाइएको उनले अमेरिकाबासी नेपाली लगानीकर्तालाई सुनाए।

कार्यक्रमको संचालन गर्दै एनआरएनए आईसीसीका क्षेत्रीय संयोजक राजन त्रिपाठीले सामुहिक लगानीका माध्यमबाट नेपालको विकासमा योगदान गर्ने उदेश्यले एनआरएनए आईसीसीले सिग्नेचर प्रोजेक्टका रुपमा इमर्जिङ्ग नेपाल फण्ड प्रोजेक्ट अघि सारेको बताएका थिए।

कार्यक्रममा यो प्रोजेक्टका प्रमुख डा. अनलराज भट्टराईले सो प्रजोक्टका बारेमा प्रस्तुतिकरण दिएका थिए र उनले गैरआवासीय नेपालीहरुको लगानी सुरक्षित हुने दावी गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *