कोरोनाभाइरसको अधिक संक्रामक नयाँ स्ट्रेनले त्रास बढ्दो, नेपाल कति जोखिममा?

डिसी नेपाल
१० पुष २०७७ ७:००

काठमाडौं। भ्याक्सिनले स्वीकृति पाएसँगै केही कम हुने अपेक्षा गरिएको कोरोनाभाइरसको त्रास पछिल्लो समय भेटिएको नयाँ स्ट्रेनले फेरि बढाएको छ।

पछिल्लो समय बेलायतमा विकसित भएको नयाँ स्ट्रेन पहिलेको स्ट्रेनभन्दा ७० प्रतिशतसम्म धेरै संक्रामक रहेको विशेषज्ञहरुले बताइरहँदा दक्षिण अफ्रिकामा विकसित अर्को स्ट्रेन त्योभन्दा पनि बढी संक्रामक रहेको पाइएको छ। दक्षिण अफ्रिकामा विकसित स्ट्रेनबाट संक्रमणका २ केस बेलायतमा भेटिएपछि बेलायतले दक्षिण अफ्रिकाबाट आउने उडानमा कडाइ गरेको छ।

बेलायती स्वास्थ्य मन्त्री म्याट हेन्ककले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै मंगलबार दक्षिण अफ्रिकामा विकसित नयाँ स्ट्रेन बेलायतमा भएको स्ट्रेनभन्दा बढी संक्रामक रहेको बताएका थिए।

बी.१.१.७ नामाकरण गरिएको यो स्ट्रेन हाल बेलायत लगायत विभिन्न ६ देश नेदरल्याण्ड्स, डेनमार्क, अष्टे«लिया, इटली र दक्षिण अफ्रिकामा देखिइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

बेलायतमा नयाँ स्ट्रेनको संक्रमण देखिन थालेपछि यो बीचमा बेलायतबाट २ जना मानिस फर्किएका छन् र उनीहरु संक्रमित पाइएका छन् । उनीहरुको शरीरमा पाइएको भाइरसको जेनिटिक म्याटेरियल सिक्वेन्सिङको अर्थात जीनोम सिक्वेन्सिङ प्रक्रियामा रहेको छ।

यो भाइरस स्ट्रेन सेप्टेम्बरमा पहिलो पटक बेलायतमा देखिएको थियो। यो स्ट्रेन पत्ता लागेको २ महिना नपुग्दै बेलायतमा कुल संक्रमितमध्ये दुई तिहाई बढीमा यही स्ट्रेनको संक्रमण पुष्टि भइसकेको छ। यो स्ट्रेनबारे अरु धेरै कुरामा अध्ययन अनुसन्धान जारी रहे पनि नयाँ स्ट्रेन पहिलेको भन्दा ७० प्रतिशतभन्दा तीव्र दरले फैलिने अनुसन्धानकर्ताहरुले दावी गरेका छन्।

यससँगै बेलायत लगायत अन्य देशहरुमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको नयाँ स्टे«नले विश्वलाई पुनः चिन्तित बनाएको छ। विभिन्न देशहरुले नयाँ स्टे«न देखिएका मुलुकसँगको आवतजावतलाई कडाई गर्न थालेका छन्। हालसम्म नेपालसहित विश्वका ५० बढी देशहरुले बेलायत लगायत अन्य नयाँ स्टे«न देखिएका मुलुक हुँदै आउने यात्रुमा प्रतिबन्ध लगाइसकेका छन्।

दलिँदो स्वरुप

कोरोना भाइरसले आफ्नो स्वरुप बदलिरहेको देखिएको छ। कुनै भाइरस आफै सकिन्छन् भने कोही पहिले भन्दा खतरनाक भएर देखा पर्ने गरेको विभिन्न अध्यनहरुले देखाएका छन्। भाइसरलाई बुझ्न वैज्ञानिकहरुलाई हम्मे हम्मे परेको छ।

वैज्ञानिकहरुले जब एक रुपको बारेमा बुझछन् त्यसपछि अर्को रुप देखा परिरहेको छ। यस्तो क्रम निरन्तर चलिरहेको छ। भाइरसको यसरी स्वरुप परिवर्तन गर्ने प्रक्रियालाई वैज्ञानिकहरुले म्युटेशन भन्छन् ।

गत बर्षको डिसेम्बर अन्तिममा चीनको वुहानबाट फैलिएको भाइरस अब धेरै देशहरुबाट सकिइसकेको छ। यूरोपमा फेब्रुअरीमा फैलिएको डी ६१४ जी प्रकारको भाइरस अहिले विश्वभरी नै धेरै देखिएको छ।

यस्तै स्पेनमा फैलिएको ए २२२ वी प्रकारको भाइरस पनि धेरै खतरनाक मानिएको थियो। बेलायतमा फैलिएको कोरोना भाइरस धेरै नै बदलिएको वैज्ञानिकहरुले बताएका छन्।

यो भाइरस रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका रोगीको शरीरबाट नै बलियो भएर स्वरुप बदलेको वैज्ञानिकहरुको अनुमान छ। लण्डनस्थित रिसर्च च्यारिटी वेलकम यूकेका निर्देशक जेरमी फरारका अनुसार हाल भाइरस विरुद्धको उपचार र भ्याक्सिनले काम गर्छ गर्दैन भनेर यकिन भएको छैन। यसले एकदम सिकिस्त बिरामी बनाउने वा मृत्युको जोखिम बढाउने वा नबढाउने भन्नेमा अध्यन अनुसन्धानकै क्रममा छ।

स्वास्थ्य मन्त्रालयको तयारी

कोरोना भाइरस म्युटेशन भएर नयाँ स्ट्रेनको रुपमा विकसित भएसँगै संक्रमण तीव्र रुपमा फैलिएपछि बेलायत लगायत यूरोपियन देशरुमा कडा लकडाउन गर्न सुरु भइसकेको छ। नेपालमा भने राजनीतिक वृत्तमा उतार चढाव देखिएसँगै सडकमा प्रदर्शन गर्ने मान्छेको संख्या बढ्दो छ।

एकातिर दिनहुँ हुने राजनीतिक पार्टीहरुका बैठक, सेमिनार, नारा, जुलुस, आदि जनस्वास्थ्य मापदण्डविपरितका कार्यहरुले जोखिम बढाएको अवस्था छ भने अर्कोतिर जीविकोपार्जनका लागि सर्वसाधारणहरु धमाधम काममा फर्किन थालेका छन्। यही समयमा स्वास्थ्य मन्त्रालयले गर्ने परीक्षणको दायरा भने घटेको छ।

डिसी नेपालसँग कुरा गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भने परीक्षण गर्न आउने मानिसको संख्या नै कम भएकोले परीक्षण कम मात्रामा भएको देखिएको बताए। नयाँ स्ट्रेनको नेपालमा सम्भावित जोखिमबारे उनले भने ‘नेपालमा आत्तिइहाल्नुपर्ने अवस्था छैन। तर, भीडभाड गर्नुभएन, मास्क लगाउनु प-याे, साबुनपानीले हात धुनुुप-याे।’

उनका अनुसार बेलायतमा नयाँ स्ट्रेनको संक्रमण देखिन थालेपछि यो बीचमा बेलायतबाट २ जना मानिस फर्किएका छन् र उनीहरु संक्रमित पाइएका छन् । उनीहरुको शरीरमा पाइएको भाइरसको जेनिटिक म्याटेरियल सिक्वेन्सिङको अर्थात जीनोम सिक्वेन्सिङ प्रक्रियामा रहेको छ।

जिनोम सिक्वेन्सिङपछि मात्र उनीहरु नयाँ स्ट्रेनकै भाइरसबाट संक्रमित भएका हुन् वा होइनन् भन्ने पुष्टि हुनेछ । महामारी नियन्त्रण गर्ने जिम्मेवारी सरकारको मात्रै नभएर सबै नेपालीलाई सचेत र सजग रहन उनले अनुरोध गरे।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले बुधबार रातिदेखि नै लागू हुनेगरी बेलायतबाट उडान र यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ। यस्तै बेलायतबाट आउने मानिसले १० दिनको अनिवार्य क्वारेन्टिन नियम पालना गर्नुपर्नेछ।

नेपाललाई कति जोखिम ?

कोरोनाभाइरस चीनबाट फैलिए पनि नेपालमा भने भारतबाट आउने मानिसका कारण ब्यापक बनेको थियो। हाल बेलायतबाट हुने उडान र यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय भएको छ। तर, यो बीचमा कति नेपाली नेपाल भित्रिए उनीहरुको कन्ट्याक्ट ट्रेसिङमा सरकार चनाखो हुनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले बताए।

यो भाइरस रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका रोगीको शरीरबाट नै बलियो भएर स्वरुप बदलेको वैज्ञानिकहरुको अनुमान छ। लण्डनस्थित रिसर्च च्यारिटी वेलकम यूकेका निर्देशक जेरमी फरारका अनुसार हाल भाइरस विरुद्धको उपचार र भ्याक्सिनले काम गर्छ गर्दैन भनेर यकिन भएको छैन।

उनले भने ‘यो छिर्नेबित्तिकै आजको भोलि फटाफट देखिने भन्ने हुँदैन, पहिलोपटक सेप्टेम्बर महिनामा देखिएता पनि मध्य डिसेम्बरसम्म आउँदा धेरै मानिसको ध्यान गएको छ।’ हाल भारतमा यो स्ट्रेन नदेखिएको बताँउदै उनले भारतबाट संक्रमण फैलिन सक्ने जोखिम धेरै हुनसक्ने बताए। ‘यो भाइरस पहिलेको तुलनामा तीव्र रुपमा फैलिएको छ’ उनले भने ‘मानव कोशिकामा धेरै छिटो चिप्किने भएकोले छिटो फैलिने देखिएको छ।’

डा. पुनका अनुसार नयाँ स्ट्रेनबाट संक्रमित भएकाहरु दोस्रो पटक संक्रमित भएका हुन् भन्ने आधिकारिक रिपोर्ट आइसकेको छैन । तर, नयाँ स्ट्रेनले एक पटक संक्रमित भएर निको भइसकेकालाई पनि पुनः संक्रमित गर्ने खतरा भने हुन्छ।

नयाँ स्ट्रेन कति म्युटेशन भएको छ भन्ने कुराले पुनः संक्रमित हुने वा नहुने कुरा निर्धारण गर्छ । भाइरस जति धेरै म्युटेशन भएको छ पुनः संक्रमित हुने जोखिम पनि उत्तिकै बढी हुने उनले बताए ।

भाइरसको स्ट्रेन बदलिएसँगै खोपको प्रभावकारिता घट्ने हो कि भन्ने चिन्ता बढेको उनको भनाई छ। उनले भने ‘खोप बनाउँदा एउटा कुरालाई आधार मानेर बनाइन्छ तर समयक्रमसँगै भाइरसले स्ट्रेन बदल्नु चिन्ताको विषय हो। तर, हाललाई खोपको प्रभावकारिता घटेको छ वा छैन भन्ने पुष्टि हुन बाँकी छ।’

भाइरसको स्ट्रेनबारे पीसीआरबाट सिधै थाहा नहुने भन्दै उनले भने ‘यो किसिमको रोग पत्ता लाग्न तुलनात्मक रुपमा धेरै समय र खर्च लाग्छ। यसले धनी देशलाई पनि थप अप्ठेरो परेको छ।’

‘पछिल्लो समय देशमा राजनीतिक ट्वीस्ट आएपछिका गतिविधिहरुले कोरोना भाइरस फैलिने खतरा रहेको छ’ उनले भने। नेपालले जनस्वास्थ्यका मापदण्डहरु परीक्षण, कन्ट्याक्ट ट्रेसिङ, आइसोलेसन लगायतमा थप जोड दिनुपर्ने उनले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *