कोभिड रोक्ने आश गरिएको नयाँ औषधि ब्रिटेनमा परीक्षण गरिँदै

डिसी नेपाल
११ पुष २०७७ १९:१२

बीबीसी । ब्रिटेनका वैज्ञानिकहरूले कोभिड-१९ बाट आपत्कालीन रक्षा गर्न सक्ने आश गरिएको एउटा औषधि विकास गरिएको बताएका छन्। उक्त औषधि हाल परीक्षणमै छ।

औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरेको एन्टिबडी उपचार औषधि खासगरी कोरोनाभाइरस सङ्क्रमितको सम्पर्कमा आइसकेका र खोप दिन ढिलो भइसकेका मानिसमा उपयोगी हुनसक्छ। त्यस्ता मानिसलाई यो औषधि दिँदा कोभिडको गम्भीर बिमारी हुनबाट जोगाउन सकिने ठानिएको छ।

अहिले यो औषधि अन्तिम चरणको परीक्षणमा रहेको छ। यो चरणअन्तर्गत पहिलो १० व्यक्तिलाई ब्रिटेनमा उक्त औषधिका मात्रा दिइएका छन्। यो परीक्षणमा सहभागी गराइएका प्रमुख समूहहरूमा स्वास्थ्यकर्मी, विद्यार्थी, अस्पतालमा रहेका बिरामी तथा दीर्घकालीन उपचारसेवामा रहेका आश्रितहरू रहेका छन्।

अन्तिम चरणको परीक्षणका नतिजाहरू केही महिनामा प्राप्त हुने बताइएको छ। प्रभावकारी पाइएमा सुईमार्फत् दिइने यो औषधिले खोप लगाउन नभ्याइएका वा नहुने जोखिम वर्गका मानिसलाई रक्षा गर्ने ठानिएको छ। साथै यसले महामारीलाई नियन्त्रण गर्न पनि सघाउने ठानिएको छ।

कहाँ भइरहेको छ परीक्षण?

यूनिभर्सिटी कलेज लन्डन हस्पिटल्स (यूसीएलएच) एनएचएस ट्रस्टमा भइरहेका परीक्षणमा दुई भिन्न प्रकारका एन्टिबडी तत्त्वहरूलाई सुईमार्फत् दिँदा कोभिडको सम्पर्कमा आएका मानिसहरूलाई बिरामी हुनबाट वा कम्तीमा सिकिस्त बिरामी हुनबाट जोगाउन सकिन्छ कि भनेर हेरिनेछ।

कोही मानिस कोरोनाभाइरसको सम्पर्कमा आएमा तत्काल खोप दिएर काम नलाग्न सक्छ किनभने खोपले प्रदान गर्ने सुरक्षा विकसित हुन केही साता लाग्छ। त्यसैले विगत आठ दिनभित्र कुनै सङ्क्रमितको सम्पर्कमा आएका कोही व्यक्ति वा कसैको शरीरमा भाइरस प्रवेश गरिसकेको अवस्थामा भिन्न उपचार आवश्यक हुन्छ।

तर एस्ट्राजेनेकाले विकास गरेको यो मनोक्लोनल एन्टिबडी उपचारले तत्काल त्यस्ता भाइरसलाई निस्तेज बनाउन थाल्छ। अनि यसले कम्तीमा एक वर्षसम्म उक्त व्यक्तिलाई सुरक्षा प्रदान गर्न सक्छ। यूसीएलएचकी भाइरोलजिस्ट डा. क्याथरिन हुलिहानको टोलीले १,००० स्वयंसेवकमा बृहत् परीक्षण गर्न चाहन्छिन्।

अस्पताल तथा विद्यार्थीहरू बस्ने छात्रावासजस्ता क्षेत्र जहाँ सङ्क्रमितको सम्पर्कमा आउने सम्भावना धेरै हुन्छ त्यहाँबाट स्वयंसेवक लिने उनको लक्ष्य छ। परीक्षणमा सहभागी हुन चाहनेले आफ्नो निकट सम्पर्कमा आएका व्यक्तिमा सङ्क्रमण पुष्टि भएको देखाउनुपर्छ।

यो सुईले व्यक्तिको शरीरमा एन्टिबडी पठाइदिन्छ। डा. हुलिहानका अनुसार खोपमा जस्तो शरीरलाई नै एन्टिबडी उत्पादन गर्न प्रशिक्षित गर्ने चरणबाट यो औषधि गुज्रिनुपर्दैन।

“हामीलाई थाहा छ एन्टिबडीको यो मिश्रणले भाइरसलाई निस्तेज पार्न सक्छ। त्यसैले हाम्रो आशा के छ भने यो उपचार सुईमार्फत् दिँदा सङ्क्रमितको सम्पर्कमा आइसकेको र खोप दिँदा ढिलो हुने अवस्थाका व्यक्तिलाई तत्काल कोभिड-१९ हुनबाट जोगाउँछ,” उनले भनिन्।

यो विधि रेबीज तथा ठेउलाजस्ता अन्य भाइरसका विरुद्ध गर्भवती महिलाहरूमा प्रयोग भइसकेको पनि उनले बताइन्।

सम्पर्कमा नआइसकेकाहरूका निम्ति अर्को परीक्षण

यूसीएलएचमै अर्को परीक्षण पनि भइरहेको छ जसमा उही एन्टिबडीको प्रयोगले कुनै मानिसलाई सङ्क्रमितको सम्पर्कमा आउनुअगावै पनि सुरक्षा प्रदान गर्छ कि भनेर हेरिँदैछ। त्यसो भयो भने त्यसले ती मानिसलाई रोग लाग्नै दिँदैन।

यो उपचार खासगरी प्राकृतिक प्रतिरोध क्षमता क्षीण भएका मानिसहरू वा प्रतिरोध क्षमता दबाउने किमोथेरापी प्रयोग गरिरहेका मानिसहरूका निम्ति उपयोगी हुनसक्छ।

यो दोस्रो परीक्षणको अगुवाइ गरिरहेका सङ्क्रामक रोग विशेषज्ञ डा. निकी लङ्लेका अनुसार क्यान्सर वा एचआईभीजस्ता रोग लागेका मानिसमा यसको जाँच भइरहेको छ। यस्ता रोग लागेकाहरूको प्रतिरोध प्रणालीका कारण खोप प्रभावकारी नहुनसक्छ।

“खोप उपयोगी नहुने मानिसहरूलाई पनि हामी उत्तिकै प्रभावकारी विकल्प दिएर निश्चिन्त पार्न चाहन्छौँ।” साथै खोप उपलब्ध नहुन्जेलका निम्ति पनि यसको प्रयोग हुनसक्ने डा. हुलिहानले बताइन्।

तर यो खोपकै विकल्प भने नभएको उनले बताइन्। साथै यसको मूल्य पनि निकै धेरै हुनसक्छ – एक डोजकै सयौँ पाउन्ड पर्न सक्छ। यूसीएलएचका साथै एन्टिबडी उपचारको परीक्षण अमेरिकाको विभिन्न ठाउँ अनि वेकफील्ड, म्यान्चेस्टर, साउद्ह्याम्प्टन र हलमा पनि भइरहेका छन्।

तर लन्डनमा मात्र स्वयंसेवकहरू भर्ना गरेर सुईको प्रयोग समेत थालिसकिएको छ। यी दुवै परीक्षणका पहिलो परिणाम वसन्त याममा आउने ठानिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *