सालकसहित मोटरसाइकल नियन्त्रणमा

डिसी नेपाल
१२ पुष २०७७ १८:२७

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजारस्थित सशस्त्र प्रहरी बेसक्याम्पले संसारकै दुर्लभ मानिने अति सङ्कटापन्न स्तनधारी जन्तु सालकसहित मोटरसाइल नियन्त्रणमा लिएको छ । गोलबजार नगरपालिका–२ लालपुर फतिङ्गग्रा डाँडाबाट सालक र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ ।

बेसक्याम्पका प्रमुख दीपक कोइरालाका अनुसार सो डाँडाबाट तस्करी हुँदै छ भन्ने सूचना पाउनासाथ क्याम्पबाट खटिएको टोलीलाई देख्नबित्तिकै स१०प ३३३० नंको मोटरसाइकलमा सवार व्यक्ति भागेका थिए । तस्करीमा संलग्न व्यक्तिको मोटरसाइकल बरामद भएकाले सवारीधनीका आधारमा स्थानीय प्रहरी, यातायात र वन डिभिजन कार्यालयसँग समन्वय गरी खोजी गरिने उनले बताए ।

सालक संसारको सबैभन्दा बढी तस्करी हुने स्तनधारी जनावर मानिन्छ । एक तथ्याङ्कअनुसार विश्वमा औसत पाँच मिनेटमा एक सालकको हत्या हुने गर्दछ । सालकको खपटा चिनी रोगको औषधि, फिङ्गरपिन्टको केमिकल र मासु चिनियाँ परम्परागत औषधि बनाउन प्रयोग हुने र अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग हुने भएकाले यसको बढी तस्करी हुने गरेको बताइन्छ ।

बालीनालीको पहरेदार मानिने सालकले वर्षमा सात करोड कमिला र कीराफट्याङ्ग्रा खान सक्छ । वन्यजन्तुको अवैध व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले सालकको व्यापारलाई अपराध मानेको छ भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनमा दुर्लभ तथा सुरक्षित वन्यजन्तुको ओखटोपहार राख्ने, खरीद गर्ने, बिक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई रु पाँच लाखसम्म जरिवाना वा ५ देखि १५ वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *