टोकियोमा मात्रै दैनिक एक हजार ३०० सय नयाँ सङ्क्रमित, सङ्कटकाल लगाउन सकिने सरकारको भनाइ

डिसी नेपाल
१७ पुष २०७७ ०:३२

एजेन्सी । जापानको राजधानी टोकियोमा मात्रै कोरोनाभाइरसबाट बिहीबार एकैदिन थप १३ सय जना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितको सङ्ख्या यसैगरी बृद्धि हुदै गएमा संकटकाल लगाउनुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री योशिहिडा सुगाले संकटकाल लगाउन आवश्यक छ की छैन भन्ने बारेमा सम्वन्धित मन्त्री र सरोकारवालाहरुसँग छलफल गरेका छन् । बिहीबार बेलुका भएको छलफलबाट तत्काल संकटकाल लगाउने निर्णय भने नभएको उनले बताए । तर संकटकाल लगाउनु पर्ने अवस्था आउन सक्ने बारेमा भने छलफलमा सहभागीहरुले बताएका थिए ।

बैठकपछि पत्रकारहरुसँग प्रधानमन्त्री सुगाले भने, “अहिलेसम्मको अवस्था हेर्दा सङ्क्रमणको दर बढ्दो छ, यो धेरै गम्भीर अवस्था हो ।”

उनले सवै नागरिकलाई मास्क लगाउन, सावुन पानीले हात धुन, सेनिटाइजरको प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न पनि आह्वान गरेका छन्।

स्थानीय सरकारसँग मिलेर प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न पनि उनले सरोकारवालाहरुलाई निर्देशन दिएको जनाइएको छ ।

जापानको राजधानी टोकियोमा मात्रै एकैदिनमा एक हजार ३३७ जना सङ्क्रमित थपिएको विवरण सार्वजनिक भए लगत्तै प्रधानमन्त्री सुगाले थप सक्रियता र चिन्ता देखाएका हुन्।

यो दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको जनाइएको छ । यसअघि सवैभन्दा धेरै गत शनिबार ९४९ जना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय सञ्चार माध्यमहरुले देशभरी दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या चार हजारभन्दा बढी रहेको जनाएका छन् ।

टोकियोका गभर्नर युरिको कोइकेले पनि सङ्क्रमितको सङ्ख्या तीब्र रुपमा बढ्दै गएकाले अहिलेको अवस्था चिन्ताजनक हुदै गइरहेको भन्दै उच्च सतर्कता अपनाउन सवैलाई आह्वान गरेका छन्।

उनले भने, “यो अति गम्भीर अवस्था हो, त्यस तर्फ हामी सवै सतर्क हुनुपर्दछ, अहिले नयाँ बर्ष मनाउने वा रमाइलो गर्ने अवस्था छैन ।”

कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने भएकाले भिडभाड नगर्न र घर बाहिर ननिस्कन पनि उनले सवैलाई आग्रह गरेका छन् ।

जापानमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म तीन हजार ५०० भन्दा बढीको मृत्यु भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *